©नेत्र बहादुर कार्की
काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदलले सिट बाँडफाँटका लागि चार नीतिगत आधार तय गरेको छ ।
जसमध्ये एक हो, प्रतिनिधिसभा निर्वाचन २०७४ को प्रत्यक्ष निर्वाचन । २०७४ मा प्रत्यक्षतर्फ गठबन्धनमा आवद्ध दल जहाँ जितेको छ, त्यो सिटमा स्वतः दाबी रहने कार्यदलमा रहेका नेताहरुले बताएका छन् ।
तर यो सहमति गर्दा सत्तारुढ दलका प्रमुख नेताहरुले नै टिकट नपाउने अवस्था देखिन्छ ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ-१ मा नेकपा एमालेबाट कृष्णकुमार श्रेष्ठ (किसान) सँग पराजित भएका थिए । श्रेष्ठ हाल सत्तारुढ गठबन्धनमा रहेको दल एकीकृत समाजवादीमा छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा झापा-१ मा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए । अरु नेताहरुको पनि यस्तै अवस्था छ ।
यस्ता क्षेत्रहरुको कसरी बाँडफाँट गर्ने भनेर विकल्पबारे छलफल सुरु भएको कार्यदलका एक सदस्य बताउँछन् । ‘कांग्रेसका कतिपय नेताहरुलाई टिकट नदिई भएको छैन, तर उहाँको निर्वाचन क्षेत्रमा अघिल्लो पटक गठबन्धनकै अर्को दलका उम्मेदवार विजयी भएका छन्’, ती सदस्य भन्छन्, ‘माओवादीतर्फ पनि त्यस्ता निर्वाचन क्षेत्रहरु होलान् ।
दलहरुको आफ्नो अप्ठ्यारो बुझ्न गठबन्धनमा आवद्ध दलहरुबीच द्विपक्षीय सम्वाद गर्ने सहमति भएको छ । “अघिल्लोपटक जितेका केही ठाउँमा त्यही दलका उम्मेदवार नहुन पनि सक्छन् । कांग्रेसमा धेरै आकांक्षी छन ” कार्यदलका सदस्य राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले भने, ‘कांग्रेसका माथिल्लो तहका नेताहरुको व्यवस्थापनको चुनौती छ । तर, अरु दलले अघिल्लोपटक जितेको क्षेत्र संख्या घट्दैन ।
बिहीबारको बैठकमा संसदमा रहेको दलहरुको संख्या, स्थानीय निर्वाचन २०७९ को जनमत र पार्टीको संवेदनशीलता लगायतलाई आधार बनाउने नीतिगत समझदारी भएको छ ।
२०७९ को स्थानीय चुनावमा कांग्रेसले ३४.३ प्रतिशत मत पाएको छ भने माओवादीले १३, जसपाले ५, एकीकृत समाजवादीले ३.७ मत पाएको छ । हालको संसदमा कांग्रेसका ६३, माओवादी केन्द्रका ५०, एकीकृत समाजवादीका २४, जसपाका १३ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् ।
प्रत्यक्षतर्फ माओवादीले ३६, एकीकृत समाजवादीले १२ (तत्कालीन समयमा एमालेबाट), जसपाले ८ र जनमोर्चाले १ सिट जितेको थियो । त्यसमा थप क्षेत्र बढाउने उनीहरुको बल हुनेछ । कांग्रेस नेताहरुले भने ९० देखि १०० सिट आफ्नो दलले पाउनुपर्ने तर्क गर्दै आएका छन् । यद्यपि कार्यदलमा यसरी छलफल भइसकेको छैन ।
