Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जसको योगदान छायामा परेको छ !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २५ २०७९
  • 3.5K
    SHARES

काठमाडाैँ । चितवनकाे भरतपुर महानगरपालिका १० का कृष्णप्रसाद आचार्यले गत साउन ८ गते राति श्रीमती रुष्मा घिमिरेको विभत्स हत्या गरे । हत्यापछि छतबाट हाम्फालेका उनले पनि आत्महत्या गरे । त्यसकाे ठिक एक हप्तापछि साउन १६ गते काठमाडाैँको तार्केश्वर नगरपालिका २ काभ्रेस्थलीका दिनेश पाण्डेले श्रीमती र छोरा-छोरीको हत्या गरेर आफूले पनि आत्महत्या राेजे । यी दुवै घटनाका कारक वैदेशिक रोजगारी देखिएकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानले थियाे । परदेश गएका श्रीमान्‌ले घर फर्किसकेपछि श्रीमतीलाई अरुसँग ‘लागेकाे’ आशंका गरी ज्यानैसम्म लिने गरेकाे यस्ता घटनामाथि अब ‘बहस’ काे सिर्जना हुनु जरुरी छ ।

यी र यस्ता घटनालाई जाेडेर वैदेशिक रोजगारीका सिलसिलामा परदेश/विदेश पुगेका पुरुषका श्रीमतीहरूमाथि अनावश्यक प्रश्नहरू खडा गर्ने र लाञ्छित गर्ने संस्कार बढेकाे छ । यूट्युब र सामाजिक सञ्जालमा समेत यी विषयहरूले प्रशय पाउन थालेका छन् । श्रीमान्‌ परदेश भएका केही महिलाले बनाएका विवाहेत्तर सम्बन्ध र पतिले कमाएको पैसा पर-पुरुषलाई खुवाएका सन्दर्भलाई लिएर विदेशमा पति हुने हरेक महिलाको अस्मितामाथि प्रश्न मात्रै उठाइएकाे छैन कि, उनीहरूलाई विभिन्न प्रकारबाट आराेप-प्रत्याराेपसम्म धकेल्ने गरिएकाे छ, मानाैँ— श्रीमान् विदेश हुने हरेक महिलाहरू विवाहेत्तर सम्बन्ध बनाउँछन् ।

श्रीमान् विदेश हुने हरेक महिलाहरू विवाहेत्तर सम्बन्ध बनाउँछन् त ? याे आजकाे पेचिलाे प्रश्न हाे, सबैले साेच्नुपर्ने सन्दर्भ हाे ।

सामाजिक सञ्जालहरूमा पनि यस्तै कुराहरूलाई ‘फाेकस्’ गरिन्छ । विभिन्नखाले सामाजिक सञ्जालहरूमा यस्ता कुराहरू फैलाइए पनि वास्तविकतामा भने त्यस्ता धेरै महिलाहरू यस्ता छन्, जो पति विदेशमा भएकै कारण दोहोरो कामकाे बोझमा छन् । पति विदेश गएपछि सासू-ससुराको स्याहारसुसार, बच्चाको हेरचाह, खेतीपाती, वस्तुभाउदेखि घरधन्दासम्मकाे सबै काम आफैँ गर्ने महिलाहरू पनि छन् । तर उनीहरूकाे दिनचर्याबारे कुनै सामाचार लेखिँदैन र कथाहरू बुनिँदैन । अन्तताेगत्वा: कथा उसकै बन्छ, जसले श्रीमान् विदेश गएपछि नेपालमा विवाहेत्तर सम्बन्ध बनाएकाे छ । अब विवाहेत्तर सम्बन्ध बनाउनेहरूलाई छाडेर नबनाउनेहरूबारे लेख्दा र बाेल्दा हुन्न ? याे अनुत्तरित प्रश्नबारे पनि साेच्न अपरिहार्य छ ।

कुनै मानवीय संवेदना नराखीकन खासगरी सामाजिक ‘भाइरल’ गराइएका यस्ता सामाग्रीका कारण श्रीमान् विदेश हुने राम्राे आचरण भएका महिलाहरूले कैयन् उच्छृङ्खल प्रश्नहरूकाे सामाना गर्नु परिरहेकाे छ, जुन उनीहरूकाे कल्पनाभन्दा बाहिरकाे कुरा हुनआउँछ । सबै महिलाले विदेशबाट श्रीमान्‌ले पठाएको पैसाले आफ्ना फजुलका रहर पूरा गरेका छन् त ? पक्कै पनि छैन । यही समाजमा धेरै महिला यस्ता छन्, जसले परदेशबाट श्रीमान्‌ले कमाएर पठाएको सीमित रकमले घरमा भएको असीमित अभाव पूरा गरेका छन् । आफ्ना चाहना र सपना मारेर घरलाई सम्हालेका छन् । उनीहरूमाथि किन सहानुभूति र शुभेच्छा छैन ? प्रश्नहरू यत्रतत्र उठ्छन् ।

बेरोजगारीको समस्या प्रायः सबैतिर छ । उता सुदूरपश्चिम प्रदेशका अधिकांश नागरिक रोजगारीका लागि छिमेकी मुलुक भारत जाने गर्दछन् । विभिन्न चाडपर्वहरूमा आउन सकिने र थाेरै खर्चमा आउजाउ गर्न सकिने हुनाले उनीहरू भारत साेझिन्छन् । तर, केही वर्षयता यो क्षेत्रका मानिसहरू पनि वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जाने क्रम बढेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीकाअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा २ हजार १ सय २८ जनाले तेस्रो मुलुक जान राहदानी बनाएका छन् । विसं २०७८ को वैशाखयता ३ हजार ४ सय ९१ जनाले ई-पासपोर्ट लिएका छन् । आर्थिक वर्ष २०७७/७८ मा २ हजार १ सय ८१ जनाले राहदानी बनाएका छन् । आर्थिक वर्ष २०७६/७७ मा २ हजार ३ सय ८५ जनाले राहदानी बनाएका छन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीकाअनुसार राहदानी बनाउनेमा अधिकांश पुरुष रहेका छन् । “केही अध्ययनका लागि भनेर त केही कामकै लागि भनेर तेस्रो मुलुक जाने क्रम बढेको छ,” सूचना अधिकारी जोशी भन्छन् । र, प्राय: प्रश्न तेस्राे मुलुक जानेका श्रीमतीहरूमाथि उठ्ने गरेकाे हामीले देख्दै आएका छाैँ । “भारत रोजगारीका लागि गएका श्रीमान्‌ घर आइरहने भएकोले श्रीमतीलाई त्यति प्रश्न गरिँदैन । तर, दुबई, कतारलगायतका देश कमाउन गएका पुरुषका श्रीमतीलाई भने समाजमा रहेकाहरूले हेर्ने नजर नै नकारात्मक हुने गरेको देखिँदै आएकाे छ,” कैलालीको धनगढी उपमहानगरपालिका १४ की पार्वती कुँवरकाे अनुभव छ ।

पार्वतीको पनि श्रीमान्‌ परदेश गएको १२ वर्ष भयो । श्रीमान्‌ २ वा ३ वर्षमा छोटो बिदा मिलाएर घर आउने गरेको र छिटै कर्मथलोमै फर्किहाल्ने गरेको पार्वती सुनाउँछिन् । श्रीमान्‌ परदेशबाट पैसा कमाएर पठाउँछन् । पार्वतीले घर सम्हाल्छिन्/धान्छिन् । घरमा २ छोरा हुर्काउनुका साथै अन्य काम पनि पार्वतीकै भर छ । बिहान उठेदेखि बेलुका अबेरसम्म घरको कामबाट व्यस्त हुन्छिन् पार्वती । “सँगै बस्न मन त हुन्छ नि । तर, बेरोजगारीका कारण श्रीमान्‌ परदेश जानैपर्ने अवस्था छ । एक्लैले सबै धानेकी छु । आफ्नो काम गरेर बसेकी छु । तर, बेलाबेला परदेश गएका पुरुषका श्रीमतीहरूमाथि लगाइने आरोप र गरिने शंकाले मन पोल्छ,” उनी भन्छिन् ।

कञ्चनपुरकी गंगा थापाका श्रीमान्‌ पनि कोरिया छन् । विवाह गरेको २ महिनापछि गंगाका श्रीमान्‌ कोरिया गएका हुन् । गंगाले अहिले जेठी बुहारीको कर्तव्य निभाइरहेकी छन् । घरमा भएका वस्तुभाउको स्याहारसुसार गर्नू, सानो देवरबाबू र वृद्ध सासू-ससुराको ख्याल गर्नू र अन्य घरायसी कामहरू मिलाउनू उनकाे जिम्मेवारी हाे । उनले थकान/बिराम नभनीकन आफ्नो कर्तव्य निभाउँदै आएकी छन् । तर यस्ता महिलाहरूको भने मिडियामा चर्चा हुँदैन ।

नेपालको ठूलो जनसंख्या रोजगारीका लागि भारतलगायत तेस्रो मुलुकमा छ । भनिन्छ, झन्डै ७० लाख युवाहरू विदेशमा छन् । रोजगारीका लागि जाने अधिकांश पुरुष हुन्छन् । घरको सम्पूर्ण जिम्मेवारी भने महिलाकै काँधमा पर्छ । यी धेरै घटनालाई हेर्दा महिलाले जिम्मेवारीपूर्वक घर सम्हालिरहेको देखिन्छ । कति त सन्तान जन्माएर गएको श्रीमान्‌ उनीहरू विवाह गर्ने उमेर भइसक्दा मात्रै घर फर्किएका उदाहरणहरू पनि छन् । जहाँ महिलाले ति सन्तानलाई राम्रो शिक्षा, संस्कार दिनुका साथै माया दिएर बढाएकी, पढाएकी हुन्छिन् । वैदेशिक रोजगारीमा गएका पुरुषका श्रीमतीहरूको पीडा, बलिदान र त्यागलाई नेपालको मिडियाले कमै स्थान गरेको छ । पति विदेशमा हुँदा घरपरिवार सम्हालेर बसेका महिलाहरूको योगदानलाई पनि अब चर्चाको विषय बनाइनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४