पुष्कर खड्का
रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नम्बर – २ सैपुका वडाध्यक्ष सन्तोष पौडेले गाउँमा मात्र होइन काठमाडौंमा बसेका वडाका नागरिकलाई काठमाडौंमा पुगेर सेवा दिनु भएको छ ।
गाउँका धेरै जेष्ठ नागरिक काठमाडौं बस्ने तर सामाजिक सुरक्षा भत्ताको लागि अभिलेखीकरण गर्न गाउँमा आउन नसक्नेलाई लक्षित गरी काठमाडौंमा नै गएर उहाँहरूलाई सेवा दिनु भएको वडा अध्यक्ष पौडेलले जानकारी दिनु भयो ।
अध्यक्ष पौडेलको जानकारी अनुसार काठमाडौं बसेका गाउँवासीले फोन गरेपछि उहाँहरूलाई घरमा नै गएर वा आफूले तोकेको ठाउँबाट सेवा दिएको र वडाको अत्यावश्यक कागजात लिन वडा कार्यालयमा जान नसकेकालाई पनि काठमाडौँ अाएको बेला सो सेवा समेत दिएको अध्यक्ष पौडेलले बताउनुभयो ।
अध्यक्ष पौडेलले भन्नू भयो जनताको लागि आफू जहाँ पुग्यो त्यहीँबाट नागरिकलाई सेवा प्रवाह गर्ने र त्यति मात्र होइन वडा कार्यालयमा आउन नसक्ने सेवा ग्राहीलाई घरमा नै पुगेर सेवा दिने र यसरी सेवा दिँदा गलत मान्छे पर्ला भन्ने डर पनि नहुने, नागरिकले सहज सेवा पनि पाउने बताउनु भयो ।
वडा अध्यक्ष पौडेलले अाइतबार सम्म काठमाडौंमा बसोबास गर्ने वडावासीको काम गरेर फेरी गाउँ नै फर्कने उहाँले बताउनु भयो । ‘गाउँका धेरै मानिसहरू काठमाडौं बस्छन्, ज्येष्ठ नागरिकलाई आउजाउ गर्न असजिलो हुन्छ, वर्षाको कारण बाटो पनि राम्रो छैन, उहाँहरूको आउजाउ गर्दा खर्च पनि बढी हुन्छ, म एक जना आउँदा धेरै जनाको काम बन्छ, त्यसैले म यहीँ काठमाडौ आएर उहाँहरूलाई सेवा दिएको हुँ’, पौडेलले भन्नुभयो ।
वडा अध्यक्ष पौडेलले सामाजिक संजाल फेस्बुक मार्फत अाइतबार सम्म काठमाडौं बाट नै सेवा लिनसक्ने जानकारी गराउनु भएको छ।
