जन प्रहार सँगको एक भेटमा कुलमान भन्थे, ‘बिहान योगध्यान गर्ने फुर्सद पनि हुँदैन ।’ किनभने बिहान सबेरै उनी आफ्नो कार्यथलो पुग्छन् । रात छिप्पिएपछि मात्र घर फर्कन्छन् । दिनभर अविछिन्न काममा खटिने उनीसँग आफ्नै लागि भने समय छैन । कतिसम्म भने बिहानको खाना खाने समेत टुंगो हुन्न । न भोजभतेरमा सामेल हुन्छन्, न मनोरञ्जनका लागि दौडिन्छन् । हरबखत दौडधूपमा रहने उनलाई आनन्दसाथ घाम ताप्ने फुर्सद पनि रहेनछ । ‘मेरो शरीरमा भिटामिन डीको कमी छ,’ उनले भनेका थिए, ‘अरु कुनै समस्या छैन ।
यसरी नै नितान्त आफ्ना लागि समय छुट्याउन नसक्नेहरुका लागि ओशो तपोवनले विशेष कोर्ष गरायो, जसमा आमन्त्रित थिए कुलमान घिसिङ ।
गत शुक्रबार उनी मध्यान्ह ३ बजेतिर तपोवन पुगे । शनिबार साँझसम्म त्यही बसे । यो २६ घण्टाभित्र उनी योग, ध्यान, प्रवचन आदिमा सामेल भए । ‘कुलमान घिसिङ जस्तै मुलुकका लागि अहोरात्र खट्ने व्यक्तित्वका लागि हामीले विशेष कोर्ष सञ्चालन गरेका थियौं,’ कार्यक्रमको संयोजक सन्यासी शोभिता सिंखडा भन्छिन्, ‘यसले उहाँहरुलाई आफ्नै लागि कसरी समय व्यवस्थापन गर्ने कला सिकाइन्छ ।’
खासमा यो लामो अवधिको कोर्ष हो । यद्यपि उनीहरुसँग समय नहुने भएकाले यो कोर्षलाई छोट्याएर २६ घण्टाको बनाइएको हो । सिंखडाका अनुसार यो कोर्षमा ध्यानको विभिन्न विधि सिकाइन्छ, योगा पनि सिकाइन्छ र त्यसको साथै जीवनमा आवश्यक पर्ने हरेक सानो सानो काम कसरी राम्ररी गर्ने भन्ने कुरा पनि सिकाइन्छ ।
अक्सर सांसरिक जीवनबाट दिक्क भएपछि मान्छेहरु अध्यात्मको शरणमा पुग्छन् भन्ने आम बुझाइ छ । तर सांसरिक जीवनबाट दिक्क भएर भन्दा पनि जीवनलाई अझ सहज र सुन्दर बनाउन अध्यात्ममा लाग्ने बताउँछन् ।


