काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित नेताहरूलाई पक्राउ पुर्जी जारी भएको छ । उनीहरूलाई हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा पक्राउ गर्न आदेश दिएको हो ।
अदालतले विप्लवसँगै सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने लगायतका अन्य नेता–कार्यकर्ताहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो।
हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।
पक्राउ पुर्जी जारी हुनेहरुमा विप्लव र विश्वकर्मासँगै सुर्खेतका धर्मेन्द्र बास्तोला, धादिङ निलकण्ठका मोहन बहादुर कार्की, बागलुङका टेकबहादुर केसी, कालिकोटका भरतबहादुर बम, कालिकोटकै नविन विश्वकर्मा, जाजरकोटका उदयबहादुर चलाउने, भोजपुरका पदमबहादुर राई, भक्तपुरका शंखर दमाई, सिरहाका दमयन्ती कुमारी श्रेष्ठ चिमोरिया, रोल्पाका बाबुलाल पुनमगर, स्याङ्जाका सुदीप कुँवर लगायतका छन् ।
अदालतले ३५ दिन भित्र अदालतमा उपस्थित हुन उनीहरुलाई भनेको छ । अन्यथा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६५ बमोजिम हुने चेतावनी पनि दिइएको छ ।
ललितपुर जिल्ला अदालतले सोमबार उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको छ । विप्लव र प्रकाण्डसहितका नेकपाका तीन दर्जन नेताविरुद्ध पक्राउ पुर्जी जारी भएकाे हाे ।
उनीहरूमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएकाले २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको ललितपुर जिल्ला अदालतले जनाएको छ ।
३५ दिनभित्र अदालतमा उपस्थित हुन पक्राउ पुर्जीमार्फत भनिएको छ ।
हेर्नुस्, अदालतको पक्राउ पुर्जी :-

