Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठबन्धनभित्र ‘उप-गठबन्धन’काे कसरत, कांग्रेस भन्छ- सहज छैन !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन ४ २०७९
  • 3.1K
    SHARES

काठमाडाैँ । प्रादेशिक र सङ्घीय निर्वाचन नजिकिँदाे छ । निर्वाचन आयाेगले मंसिर पहिलाे हप्ताभित्र निर्वाचन गराउनेगरी तयारी थालेकाे छ । आयाेग मंसिर पहिलाे हप्ताभित्र सरकारले निर्वाचन घाेषणा गर्नेमा ढुक्कजस्तै छ । त्यसाे त सरकार पनि साे मितिमा निर्वाचन गर्न/गराउन ‘कन्भिन्स’ छ । यसरी हेर्दा अब निर्वाचन हुन पूरापूर ४ महिना बाँकी छ ।

निर्वाचन सन्निकट हुँदैगर्दा राजनीतिक दलहरू ‘शक्ति आर्जन’काे बहस, छलफल तथा बैठक-वार्ताहरूमा जुट्न थालेका छन् । यसैबीच मंगलबार मात्रै दुई ठूला दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेसबाहेकका वामपन्थी दलका नेताहरू ‘शक्ति आर्जन’लाई नै प्रमुख मुद्दा बनाएर दाेस्राेपटक भेटवार्ता गरेका छन् । यसअघि पनि भेटवार्ता गरिसकेका पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गाैतमबीच हिजाे दाेस्राे पटककाे छलफल भयाे ।

वाम ध्रुवीकरणका हिमायती यी नेताहरूबीच मूलत: दुई मुद्दाबारे छलफल भयाे । पहिलाे, कांग्रेससँगकाे गठबन्धन कायम राखेर विचार मिल्नेहरूसँग एकता र दाेस्राे, नेकपाकालीन सचिवालय ब्यूँताएर एमालेसँग पनि वार्ता । पहिलाे मुद्दाबारे त बैठकपछि प्रचण्डले बाेले नै तर, दाेस्राे मुद्दाबारे भने उनले केही बाेलेनन् । यद्यपि छलफल भने भएकाे थियाे ।

जे हाेस्— यी शीर्षस्थ वामपन्थी नेताहरूकाे ध्याउन्न ‘शक्ति आर्जन’मै छ ।

यहीअन्तर्गत यी नेताहरूबीच गठबन्धनभित्र उप-गठबन्धन बनाउनेबारे पनि छलफल भइरहेकाे छ । नेताहरूले पाँच दल आसन्न निर्वाचनमा गठबन्धनकै रूपमा जाने भनेर बताइरहेपनि समीकरण फेरिनसक्ने आकलन गरिएकाे छ । त्यसलाई उपगठबन्धन बन्ने कुराले पनि ‘म्याटर’ गर्ने विश्लेषण गरिन्छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकाे असंवैधानिक कदमविरुद्ध मात्रै एक कित्तामा उभिएका पाँच दलकाे गठबन्धन सधैँ नरहनेमा गठबन्धनसम्बद्ध दलका नेताहरू पनि प्रष्ट छन् ।

उप-गठबन्धन वामपन्थी शक्तिहरूबीचकाे ध्रुवीकरण भएकाे माओवादी केन्द्रका एक नेता बताउँछन् । त्यसमा एमाले-कांग्रेस भने ‘स्कीप’ हुने उनी बताउँछन् । ‘नेपाली कांग्रेसकाे राजनीतिक बाटाे अलि फरक हाे,’ उनले जन प्रहारसँग भनेका छन्, ‘त्यसबाहेकका गठबन्धनमा रहेका ४ दलहरूकाे बाटाे लगभग मिल्छ । उनीहरू सबै दलले आफूलाई समाजवादकाे हिमायती र प्रगतिशील शक्ति भन्छन् । यसाे हुँदा पनि त्यसकाे प्रयास गरिएकाे हाे । तर कांग्रेससँगकाे सम्बन्ध पनि नबिगार्नेगरी त्याे बन्ने हाे ।

‘उप-गठबन्धनका लागि काम गर्दैछ अनाैपचारिक कार्यदल’

विश्वस्त सूत्रकाअनुसार उप-गठबन्धन निर्माणका लागि एक अनाैपचारिक कार्यदलले काम गरिरहेकाे छ । त्यसका लागि शुरूमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच ‘एकता संयाेजन समिति’ बन्ने र त्यस समितिले एमालेबाहेकका वामपन्थी दलहरूलाई सँगै उभ्याउन प्रयास गर्नेछ । यसका लागि अनाैपचारिक कार्यदलले काम गरिरहेकाे छ । अनौपचारिक कार्यदलमा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र देव गुरुङ छन् भने एकीकृत समाजवादीबाट डा. बेदुराम भुसाल, प्रकाश ज्वाला र प्रमेश हमाल र जसपाबाट रामसहाय प्रसाद यादव र रकम चेम्जोङ छन् ।

अनाैपचारिक कार्यदलका एक सदस्यकाअनुसार समितिले अन्य स-साना वामपन्थी दलहरूलाई पनि सहभागी हुन आह्वान गर्नेछ । त्यसमा वामदेव गाैतम नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान, डा. बाबुराम भट्टराईले गठन गर्न लागेकाे समावेशी लाेकतान्त्रिक पार्टीलगायतका दलहरू पनि सहभागी हुने तीन सदस्यले बताएका छन् ।

कार्यदलले काम गरिरहेकाे स्वीकार्दै एक सदस्यले भनेका छन्, ‘त्यसलाई कार्यदल भन्ने कि नभन्ने कुरा हाेला । तर हामी सधैँ नै वाम एकताकाे पक्षमा त छाैँ नि । त्यसाे हुँदा अहिले पनि भइ नै रहेकाे छ । त्यसमा स्वाभाविकरूपमा छलफल भइरहेका छन् ।

‘गठबन्धनभित्र उप-गठबन्धन सहज छैन’

कांग्रेस नेताहरू गठबन्धनभित्र उप-गठबन्धन बन्ने कुरा सहज नभएकाे बताउँछन् । नेता एनपी साउद भन्छन्, ‘गठबन्धनभित्र उप-गठबन्धन बन्ने कुरा त खास सहज कुराचाहिँ हाेइन, तर पनि त्याे उप-गठबन्धनकाे प्रयाेजन के हाे भन्ने कुरामा पनि मुख्य कुरा छ ।

नेता साउद उप-गठबन्धनका कारण गठबन्धनमा कुनैखाले असर पर्न नहुनेतर्फ संकेत गर्छन्, भन्छन्— ‘हाम्राे चाहना भनेकाे गठबन्धन बाँचिरहाेस् भन्ने नै हाे । हिजाे विशेष अवस्थामा बनेकाे याे गठबन्धन अझै रह्याे भने सबैका लागि राम्रै हुन्छ भन्ने हाे ।

अर्का नेता मीनबहादुर विश्वकर्मा पनि साउदसँग सहमत छन् । सबैभन्दा पहिले उक्त उप-गठबन्धनकाे प्रयाेजनबारे आफूहरूलाई जान्न दिनुपर्ने बताउँछन् उनी, भन्छन्-गठबन्धनभित्र उप-गठबन्धन बन्ने कुरा अलिक नाैलाे खाले नै छ । हामीले पनि विभिन्न समाचारहरूमा देखेका छाैँ । नेताहरू भेटिरहनुभएकै पनि छ । उहाँहरूले बनाउन लाग्नुभएकाे उप-गठबन्धन खै कस्ताे उप-गठबन्धन हाे । पहिले केही आधिकारिक आओस् अनि थप कुरा गराैँला ।

कांग्रेसकै अर्का नेता गठबन्धनभित्र उप-गठबन्धन बनाउने कुरा राम्राे नभएकाे बताउँछन् । उप-गठबन्धनबारे आधिकारिकरूपमा केही बाहिर नआएकाले धेरै नबाेल्ने उल्लेख गर्दै ती नेताले भनेका छन्, ‘बाहिर सञ्चारमाध्यममा मात्रै हामीले पनि देखेका हाैँ । आधिकारिकरूपमा सम्बन्धित दल तथा नेताहरूबाट आएकाे छैन । तर त्याे कुरा साँचाे हाे भने त्याे गर्न नहुने काम हाे ।

उनी त्यसले वर्तमान गठबन्धनलाई सकसमा पार्ने बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४