Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अभावले निम्त्यायो आक्रोश, राष्ट्रपति भवनबाटै लखेटिए श्रीलंकाका राष्ट्रपति


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २६ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । राज्यशक्ति र राज्यकोष परिवारको बपौती बनायो भने के हुन्छ ? श्रीलंका पछिल्लो उदाहरण बनेको छ । जलराशिले घेरिएको प्रकृतिको सुन्दर संरचना मानिने श्रीलंका शासकहरुको अकर्मण्यका कारण इतिहासकै निर्मम मोडमा छ । आधुनिक सिंगापुरका स्वप्नद्रष्टा लिक्वान यूले श्रीलंकाको सौन्दर्यबाट प्रभावित भएर आफ्नो देशलाई त्यस्तै बनाउने संकल्प लिएका थिए । त्यो देश, यो अवस्थामा आउनुलाई गलत नीति र परिवारवादको हालीमुहाली मानिएको छ ।

राज्य तहमा हुनुपर्ने श्रीलंकाको गतिविधि ठप्प छ । शैक्षिक प्रतिष्ठान बन्द छन् । वैदेशिक मुद्राको भरपर्दो श्रोत मानिने पर्यटन व्यवसायले अझै लय समात्न सकेको छैन । वैदेशिक मुद्राको सञ्चिति खराब हालतमा पुग्दा मुलुकले क्रय क्षमता पुरै गुमाएको छ । वैदेशिक ऋणले देश घाँटीबाट बढेर टुप्पी नै डुब्ने स्थितिमा छ । इन्धन किन्न नसकेर देशका तमाम दैनिक क्रियाकलापमा कैंची लागेको छ । यस अवस्थामा जनता गरी खानु र मरी जानुको अवस्थामा पुगेका छन् ।

श्रीलंकाको बेहालमा विश्वले रमिता हेरिरहेको छ । शक्ति राष्ट्रहरु यो दुरावस्थामा आआफ्नो प्रभुत्व जमाउने दाउमा छन् । जनता कुनैबेला आफूले विश्वास गरेर सर्वस्व दिएका नेताहरु विरुद्ध आक्रोशित भएर प्रदर्शनमा उत्रिएका छन् । जनताको आक्रोशित भीड राष्ट्रपति, प्रधानमन्त्रीदेखि नेताका घर खरानी बनाउन उद्यत छन् । नेताप्रति असन्तुष्ट सडकमा पोखिएको जनताको भीड यति उग्र भएको छ कि राष्ट्रपति, प्रधानमन्त्रीको कोठाचोटा, चुलोचौकोसम्म पुगेर मनमौजी क्रियाकलाप गर्न थालेको छ ।

जनताको आक्रोश अघिल्तिर सेना, पुलिससँग मौन बस्नुको विकल्प छैन । यो अव्यवस्थाको औषधि के हो कसैलाई थाहा छैन । लाग्छ कोही कसैप्रति उत्तरदायी हुनुपर्ने विधि विधानको सम्पूर्ण परिच्छेद समाप्त भइसकेको छ । यतिसम्म कि उनीहरुले राष्ट्रपति भवन कब्जा गर्नु र प्रधानमन्त्री रनिल बिक्रमासिंघेको निवासमा आगजनी गरिरहँदा देशको सुरक्षा संयन्त्र किंकर्तव्यविमूढको अवस्थामा देखियो ।

मानिसका आधारभूत वस्तु विद्युत् आपूति ठप्प, इन्धनको हाहाकार, अस्पताल र फार्मेसीमा औषधि अभावबाट सुरु भएको दैनिकी अब आक्रोशमा अनुवाद भएको छ । नेताहरु उनीहरुको तारोमा परेका छन् । सन् १९४८ मा स्वतन्त्र भएयताकै श्रीलंका सबैभन्दा खराब स्थितीमा पुगेको बताइन्छ । श्रीलंका रातारात टाट पल्टिएको भने होइन; दशकौं लामो अव्यवस्था, आर्थिक अपारदर्शीता र भ्रष्टाचारले सल्काएको आगोले अहिले डढेलोको रुप लिएको हो ।

देश स्वतन्त्र भएपछि श्रीलंकाको आर्थिक संकटमा पर्नुको कारण मध्ये ठूलो बजेट घाटा नै भएपनि अर्को कारक हो । राजनीतिमा परिवारवाद । गोटाबाय राजापाक्षले २०१९ मा चुनाव जितेर राष्ट्रपति भएसँगै त्यहाँको सत्ता पूर्णरुपमा राजापाक्षेको परिवारको हातमा मात्रै सीमित छ । गोटाबाय राजापाक्षे परिवारको तेस्रो राजनीतिक पिँढी हुन् भने चौथो राजनीतिक पिढी पनि केही दिनअघिसम्म मन्त्री पदमा आसीन थिए । दाजु महिन्दा राजापाक्षे प्रधामन्त्री हुँदै २००५–२०१५ सम्म राष्ट्रपति रहिसकेका छन् । महिन्दाका छोरा नमल केही दिन अघिसम्म मन्त्री थिए ।

श्रीलंकाको कुल बजेटको २४ प्रतिशत राजापाक्षे परिवारकै नियन्त्रणमा छ । राजापाक्षेका ९ जना सदस्य मन्त्री थिए भने सरकारका मुख्य ३० वटा पदमध्ये ७ वटा पद उनीहरुकै परिवारकै अधीनमा थियो । राजापाक्षे परिवारले श्रीलंकामा निकै सुविधाजनक जीवन बिताइरहेका छन् । सामाजिक सञ्जालमा उनीहरूको परिवार बस्ने आलिसान घर, अत्याधुनिक गाडी र महँगो बिदा भ्रमणलाई लिएर आलोचना हुने गरेको छ ।

आर्थिक संकटकाबीच आक्रोशित जनताले आखिरमा यही आलीसान राष्ट्रपति भवनलाई तारो बनाई राष्ट्रपतिलाई लखेट्न सफल भए । श्रीलंका, पाकिस्तान, अफगानिस्तान, म्यान्मारमा देखिएको राजनीतिक अव्यवस्थाको आगो कतै नेपालमा पनि सर्ने त होइन भन्ने त्रास व्याप्त छ । आर्थिक अराजकताको चरम मरुभूमिमा फसेको नेपालको आर्थिक दुरावस्थासँगै राजनीतिको केन्द्रमा वंशवादको बीउ रोप्दा के परिणाम हुन्छ भन्ने शिक्षा लिन जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४