किभ । युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्काले आफूले प्रायः आफ्नो पतिलाई भेट्न नपाएको गुनासो गरेकी छन् । उनले सीएनएनसँग आफ्नो पति युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग भेट्न नपाएको गुनासो गरेकी हुन् ।
ओलेनाले सीएनएनलाई भनेकी छन्, “मेरा सन्तानले जेलेन्स्कीसँग फोनमा मात्र कुरा गर्न पाइराखेका छन् । उनीहरू आफ्ना पितासँग भेट्न पाउने प्रतीक्षामा बसेका छन् । युद्ध सुरु भएयता लामो समयदेखि हामीलाई जेलेन्स्कीसँग भेट्ने अनुमति दिइएको छैन ।”
मंगलबार प्रसारित अन्तर्वार्तामा ओलेनाले सीएनएनका पत्रकार क्रिस्टियाने एमानपरलाई भनेकी छन्, “मलाई मेरो पतिसँग धेरै भेट्न दिइएको छैन । कहिलेकाहीँ केहीबेरका लागि मात्रै भेट्न दिइन्छ । कमसेकम मैले भएपनि उनलाई भौतिक रूपमा नजिकबाट महशुस गर्न सक्छु । मेरा सन्तानले आफ्नो पितालाई त्यसरी भेट्न नपाउँदा असमान्य लाग्छ । अन्य सम्पूर्ण युक्रेनीहरूले भोग्ने समस्या जस्तै हाम्रो पनि सम्बन्ध रोकिएको छ । हामीसँगै साँझ बिताउन, केटाकेटीहरूका बारेमा कुुरा गर्न पाउने गरी पुनर्मिलन हुने पखाईमा छौँ ।”
गत २४ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेयता जेलेन्स्की दम्पतीले युक्रेन छाड्न अस्वीकार गर्दै आएका छन् ।
युद्धको पहिलो दुई महिना यस परिवारले एक अर्कालाई एक पटक पनि भेट्न पाएको थिएन । राष्ट्रपति जेलेन्स्की आफ्ना कर्मचारीहरूसँग आफ्नो कार्यालयमा बसेका थिए । ओलेना र उनीहरूका १७ र ९ वर्षका सन्तान एउटा गोप्य स्थानमा बसेका छन् ।
राजधानी किभबाट मोडिएर हाल पूर्वी दोन्बास क्षेत्रमा तीव्र रूपमा चलिरहेको युद्धलाई लिएर ओलेनाले सीएनएनलाई भनेकी छन्, “युद्धको यी पाँच महिना सम्हाल्न निकै गाह्रो भयो । हामीले साहस र शक्ति बनाउनु पर्दछ । अहिले नै हाम्रो दुःखको अन्त्य होला जस्तो देख्दिन ।”
विजनेस इन्साइडरबाट ।