Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फेरि “जन्मिए”अर्को बालेन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ११ २०७९
  • 2.2K
    SHARES

पेशाले आफू ठेकेदार भए पनि उनी आज दौरा-सुरुवाल र टोपीमा सजिइसकेका थिए । समय बिहानको ठीक ६ बजेको थियो ज्योतिषीको भनाइ अनुसार पहिलो मत आफै्ले आफैंलाई हाल्दा जित्ने संभावना बढ्ने ज्योतिषीय अध्ययनबाट ग्रह-दशा-नक्षत्र आदि हेरेर बताएका थिए ।

नेताज्यूका भक्तहरू भनौं कार्यकर्ता लावालस्कर सहित घर अगाडि आइसकेका थिए । नेताज्यू कार्यकर्तासँग मतदान गर्न आफ्नो वडाको मतदान केन्द्रमा पुगे र जुराएकै साइत र समय अनुसार आफ्नो पहिलो मत हाल्न सफल भए ।त्यसपछि सुरु भयो ३२ वटै वडाको अनुगमन जहाँ मतदाता ५ बजे बिहानैदेखि मताधिकारको प्रयोग गर्न लाइन लागेर बसेका थिए ।

नेताज्यूले सबै वडाको खबर लिए, सबैतिर राम्रै छ भन्ने सन्देश आयो । मतदाता र कार्यकर्ताहरूका लागि चियानास्ता र खानाको सबै वडामा ३० गतेको उत्सवको लागि राम्रै प्रबन्ध गरेका थिए भनौं राम्रै खर्चेका थिए नेताज्यूले ।

मतदान सम्पन्न भएपछि ३२ वटै वडाबाट वडा प्रतिनिधिसहित कार्यकर्ताहरू मतपेटिकासँगै राष्ट्रिय सभा गृह पुगेका थिए । उत्सवको रौनक राम्रै छाएको थियो जसले ठेकेदारलाई नेता र नेताज्यूलाई मेयर बनाउने पक्कापक्की झैं भइसकेको थियो । कार्यकर्ताहरूले पलपलको राम्रै खबर दिन्थे, खबर अनुसार नेताज्यूलाई मेयर पद पाउने सुनिश्चितता भएपछि सभागृह नजिक रहेको होटल/लजमा बस्न गए । अब बाँकी थियो भने मतगणना र उनको जितको घोषणा ।

रंगी-विरंगी सपना हेर्न थाले नेताज्यू । कल्पनाको सागरमा डुबिसकेका थिए निद्रा लागेको पत्तै पाएनन् । कति बेला भक्तहरू होटलबाट निस्के त्यो पनि थाहा पाएनन् । मतगणना सुरु भयो सुरुका वडाहरूको मतगणना हुँदा प्रतिस्पर्धीहरूसँग २-४ भोटको तल-माथि हुँदै अघि बढिरहेका थिए ५-६ वडाको मतपरिणाम हेर्दा उनकै पोल्टामा देखिएको जस्तो भएको थियो अझ उनको वडा त झन् डल्लै बाँकी थियो । लगानी खेर जाँदैन भन्ने कुरामा नेताज्यू सुनिश्चित थिए ।

३२ वटै वडाका भक्तजनहरू भेट्न आउँदा उनी बसेको होटलको बिल दिनदिनै बढ्न थालेको थियो । नभन्दै उनको वडाको मतगणना सुरु भयो मतपरिणाम सन्तोषजनक मात्र आयो नेताज्यू अत्तालिए, भक्तहरूले सान्त्वना दिन थाले । अब बाँकी रहेको वडाको पनि मत परिणाम आउन थालेपछि नेताज्यू उधोतिर लाग्न थाले । २-४ भोटको तलमाथि भएर के भयो र पछि जित हाम्रै हुन्छ अत्तालिइहाल्नुपर्दैन भएजति साम-दाम-दण्ड-भेद प्रयोग गरेकै छौं भन्दै सान्त्वना दिंदै नेताज्यूलाई उचाल्न थाले ।

दिन बित्दै गयो मतपरिणाम आउने क्रम जारी नै रहृयो । तर उनको मत भनेे धेरैपछि पर्यो । विस्तारै ठूला ठूला नेताहरूको फोन आउन छाड्यो र भक्तहरू पनि पातलिंदै गए । कस्ता कस्ता दिग्गज नेताहरूको मत परिणाम स्वतन्त्रबाट उठेका बालेन साहको अगाडि आधा जस्तै भइसकेको थियो ।

नेताज्यू आˆनो मतपरिणाम देखेर निरास भइसकेका थिए अन्ततः त्यो अन्तिम दिन आयो जुन दिन १ वा २ वटा वडाको मात्र मतगणना हुन बाँकी थियो । नेताज्यूलाई भेट्न आउने वरिष्ठ भनाउँदा नेता तथा कार्यकर्ता हराइसकेका थिए । साँझको ७ बज्न लागेको थियो । नेताज्यू विस्तारै आˆनो रुमबाट निस्के, होटलको बिल काउन्टरतिर आए र हिसाब मागे । राम्रै बिल उठेको रहेछ । ड्राइभरलाई फोन गरे र घरबाट पैसा मागेर ल्याउन आदेश दिए । विल भर्पाइ चुक्ता गरेपछि नेताज्यू सीधै घरतिर लागे ।

बिहान सूर्योदयको किरणसँगै काठमाडौं महानगरपालिकाको मेयर बालेन साहको नाम गुन्जन थाल्यो । आफ्नो बेडबाट उठ्दै केटाकेटीहरूलाई कराउँदै टिभी बन्द गरे । हेर्दा हेर्दै काठमाडौं बालेनमय भइसकेको थियो । केटाकेटी, बुढाबुढी युवायुवती सबै मेयर बालेनकै नाम लिई गफ गर्ने, हर्षोल्लास मनाउने, कोही बाटोमै नाचगान गर्ने जस्ता गतिविधि देखाइरहेका थिए ।

झ्यालबाट बाहिर हेरे बालेनका समर्थकहरू नेपालको झन्डा लिई एकआपसमा रंग अबिर दल्दै शुभकामना प्रकट गर्दै नारबाजी लगाउँदै हिंडिरहेका थिए । नेताज्यूले हेर्न सकेनन् र झ्याल बन्द गरी कोठातिर लागे । यो हारको दोष कसलाई दिने ठम्याउन सकिरहेका थिएनन् नेताज्यू । नेता बन्ने, ठूला ठूला नेता रिझाउने, टिकट पाउने र कार्यकर्ताहरूलाई पाल्ने कार्य देखिलिएर मत परिणाम आफ्नै पोल्टामा पार्नका लागि ठेकेदार सा’वले लाखौं खर्चेका थिए ।

इमानदारीपूर्वक १५ वर्षसम्म निर्माण कार्य/ठेक्काबाट कमाएको सबै पैसा स्वाहा पारिसकेका थिए । सम्पत्तिको नाममा अब मात्रै बाँकी थियो भने आफू बस्ने घर र एउटा सेकेण्ड हृयान्ड चारचक्के गाडी ।

हप्तादिन वितिसकेको थियो मत परिणाम आएको, ठेकेदार सा’वलाई घरबाट बाहिर निस्कन गाह्रो भइरहेको थियो । कसरी बाहिर निस्कने, कसलाई के भन्ने, सोच्न सकिरहेका थिएनन्, उनलाई भेट्न न कुनै कार्यकर्ता नै आए, न कुनै नेता भनाउँदाहरूको फोन नै आयो, भेट्न त परै जाओस् । नेता बन्ने रोग लागेपछि श्रीमतीसँग पनि बोलचाल बन्द भइसकेको थियो । घरमा आउने-जाने कुनै समयको ठरठेगान हुँदैनथ्यो, आइहाले भने पनि रक्सीको नशामा डुबेर १२-१ बजे राति लावालस्करसहित आउँथे र ढोका खोल्न लगाई आˆनो कोठामा गएर लम्पसार परेर सुत्थे । भक्तजनहरूले त्यो घरलाई धर्मशाला नै बनाइदिएका थिए ।

श्रीमती तथा बच्चाहरूले कहिलेकाहीं टिभी हेर्दा बालेन साहको नाम सुन्नेवित्तिकै टिभी मारिदिन्थे र बालेनलाई तथानाम गाली गर्थे । भनौं बालेनलाई दुश्मनकै रूपमा हेर्न थालेका थिए । कहींकतै जाने ठाउँ थिएन, मेशिन उपकरण जेसीवी जस्ता साधनहरू धितो राखेर ऋण लिइसकेका थिए, जुन भए जति सबै खर्च भइसकेको थियो ।

साँझको ६ बजिरहेको थियो कोठामा एक्लै ठेकेदार सा’व झोक्राएर बसिरहेका थिए । फेरि पहिलेकै अवस्थामा कसरी आउने भन्ने विषयमा सोचिरहेका थिए तर कुनै निकास पाउन सकिरहेका थिएनन् । ५ कक्षा पढ्ने १० वर्षे छोरो दौड्दै बाबा बाबा भन्दै आयो र हत्केला समाउँदै भन्न लाग्यो “बाबा आज हाम्रो स्कुलमा नयाँ मेयर बालेन साह आउनुभएको थियो ।” नाम सुन्दै बुढाको पारा तात्तियो प्रेसर हाई भएर आयो । हत्केला झट्काउँदै रिसाएर “नलिई त्यसको नाम मेरो अगाडि” भन्दै छोरालाई हप्काए । छोरो अक्क न वक्क भयो । त्यो बच्चाले के बुझेको थियो होला र यत्रो ठूलो राजनीति । मुख कालो बनायो, बाबालाई हेर्दै आँखाबाट आँशु तप्प तप्प झार्दै शिर निहुरायो र विस्तारै जान खोज्यो ।

बुढा केही कन्ट्रोल भएपछि छोरोलाई हेर्दै कडा स्वरमा सोधे “केको लागि आएको थियो त्यो ?” बच्चाले डराउँदै नम्र स्वरमा भन्न लाग्यो । आज बालेन सर हाम्रो स्कुलमा आएर हामी सबैलाई ज्ञानी मान्छे, असल मान्छे कसरी बन्नुपर्छ भनेर सिकाए । उनको राम्रा राम्रा कुरा सुनेर मलाई पनि मेयर बन्न मन लाग्यो र मैले पनि “मेयर बन्न के गर्नुपर्छ ?” भनेर सोधें, त्यसपछि मेयर सा’वले “इमानदारीपूर्वक समाजको हितमा काम गर र केही असल काम गरेर देखाऊ मेयर आफैं बनिहाल्छौं नि” भन्दै मेरो नाम सोधे र मलाई धेरै काम गर्न बाँकी छ भन्दै गए ।

जाँदा जाँदै यो पेन मलाई दिएर जानुभयो । ठेकेदार सा’वले छोराको अनुहार एकटकसँग हेरिरहे, आज छोराले के बोल्यो भनेर ठम्याउनै सकिरहेका थिएनन्, एक खाले शान्तिको अनुभूति भयो । बालेनप्रतिको वितृष्णा हराएर गयो । भएभरका सारा नकारात्मक विचारहरू एकपलमै गायब भयो ।

ठेकेदार सा’वले केही हल्का महसुस गर्न थाले, मेयर बालेन प्रति जतिसुकै नकारात्मक सोच भए पनि यो हप्ता दश दिनका र विगतमा बालेनले गरेका हरेक गतिविधि र प्रतिभाको जानकारी लिइरहेका थिए, सायद प्रतिस्पर्धी भएकै कारण बालेनप्रति नकारात्मक सोच पलाएको थियो ।

“बाबु यो पेन मलाई देउ यसको महत्व बुझ्दैनौ तिमी अहिले” भन्दै छोराको हातबाट पेन लिए र यसो औंला भाँच्दै हिसाब जोडे जस्तो गरेर “यो पेन म तिमीलाई १५ वर्षपछि तिम्रो कोटको खल्तीमा राखिदिन्छु है” भने, छोराले पनि कुरो बुुझे-नबुझे पनि यसो बुझे जस्तो गरेर टाउको हल्लाउँदै गयो ।

ठेकेदार सा’वको आँखा रसाएर आएको थियो विगतमा नेताहरू रिझाउनदेखि लिएर टिकट पाउन र कार्यकर्ता पोसेसम्मकोमा लाखौं लाख खर्चेको रकम यदि समाजसेवामा लगाएको भए आज गर्वको साथ बाटोमा टाउको ठड्याएर हिंड्न सकिन्थ्यो भन्दै मनमनै सोचिरहेका थिए त्यतिकैमा उनलाई के भयो कुन्नि टेबलमा राखिएको पाना टिपे र तुरुन्तै पार्टी परित्यागको राजिनामा पत्र ठोकिहाले ।

एकछिन शान्त बसेपछि मोबाइलमा एउटा नम्बर लगाए उताबाट “नमस्कार नेताज्यू के सेवा गर्न सक्छु आदेश होस् ?” भन्ने सन्देश आयो, “हेर्नु पि्रन्सिपल सा’व म अहिले नेता पनि होइन ठेकेदार पनि होइन एउटा गार्जेनको रूपमा सानो रिक्वेस्ट गर्न लागेको” उताबाट “हुन्छ भन्नुस्” भन्ने आवाज आयो । ठेकेदार सावले “मेरो छोरा बालकुमारलाई चिन्नु हुन्छ नि ?” भने ।

प्रिन्सिपल सा’वले तपाईंको ज्ञानी छोरा यो स्कूलको शान हो । उसलाई नचिन्ने को छ र, यस वर्षको परीक्षाको नतिजामा सबै भन्दा हाइएस्ट नम्बर ल्याएर पास गर्ने उही हो । “आज हाम्रो स्कुलमा मेयर साव विद्यार्थीसँग भेटघाट गर्न आउनुभएको थियो, जाने बेला बालकुमारको बारेमा निकै चासो लिनुभएको थियो र मसँग पूरा परिचय लिएर जानुभएको छ” भनेर जानकारी गराउनुभयो ।

ठेकेदार सा’वको मन झन् हषिर्त भयो, खुसीले गद्गद् भए छोरोको प्रगति सुनेेर । चुनावमा होमिएपछि श्रीमती, छोराछोरी के कस्ता छन् सबै बिर्सिसकेका थिए । फेरि केही सम्झँदै पि्रन्सिपल सा’वलाई भने “मेरो एउटा रिक्वेष्ट छ नि त्यो के हो भने मेरो छोराको नाम स्कूलमा बालकुमार छ नि त्यसलाई काटेर बालेन्द्र लेखिदिनु होला ।” प्रिन्सिपल यो कुरा सुनेर एकछिन अलमलिए त्यसपछि हाँस्दै ठिक छ म नाम परिवर्तन गरिदिन्छु भनेर फोन काटे ।

धेरै दिनपछि ठेकेदार सा’व छोराछोरी, श्रीमती सँगै बसेर रातको खाना खाए । आज उनको शरीरमा एक खाले नयाँ ऊर्जा र उमङ्ग पैदा भएको थियो । त्यत्रो सम्पत्ति स्वाहा भए पनि आज अलिकति पनि विचलित देखिएका थिएनन । खुसी साथ खाना खाएर सुते । बिहान चाँडै उठे ।

बिहानको ८ बज्न लागेको थियो नुहाईधुवाई गरेर कपडा लगाई घरबाट सरासर निस्कन लागे तर निस्कँदा निस्कँदै गेट अगाडि पुगेर टक्क अडिए । अब जाने कहाँ ? त्यो उनले ठम्याउनै सकेनन्, के गर्ने ? कसलाई भेट्ने ? कसरी काम अगाडि बढाउने ? निधो नभएपछि ठेकेदार सा’व फर्केर घर अगाडि बरण्डामा रहेको कुर्सीमा आएर बसे । टाउको निहुरिएको थियो उनी निरास देखिन्थे ।

त्यतिकैमा एउटा गाडी आयो र गेट अगाडि रोकियो । यसो टाउको उठाएर हेरे दुई जना व्यक्ति गाडीबाट ओर्लेर खुल्ला रहेको गेटबाट सरासरभित्र प्रवेश गरे र ठेकेदार साबलाई नमस्कार गरे ।

ठेकेदार सा’व छक्क परे उनले सोचेका पनि थिएनन् कि गेटबाट भित्र प्रवेश गर्ने व्यक्ति उनका प्रतिस्पर्धी बालेन साह हुन् भनेर । दुवै जनालाई नमस्कार फर्काउँदै घर भित्र प्रवेश गरे र सोफामा बसे ।

बालेन साहले नम्रताका साथ “हजुरको बारेमा मैले पहिले नै जानकारी पाएको थिएँ हजुर एउटा असल कन्स्ट्रक्टर हो भनेर तपाईंले १२-१५ वर्षअघि बनाएका बाटाहरू जस्ताको त्यस्तै छन्, हो तपाईं यसपालिको चुनावमा हार्नुभयो तर तपाईंले गरेको कामको मूल्याङ्कन काठमाडौंवासीले राम्रै गरेका छन् हामीलाई तपाईं जस्तो इमानदार निर्माण व्यवसायीको आवश्यकता छ ।

के तपाईं हाम्रो टिममा आएर काम गर्न चाहनुहुन्छ ? अब यो देश बनाउने सुरुवात हामीबाटै गर्नुपर्छ ।” यति भनेपछि ठेकेदार सा’वको खुसीको सीमा रहेन सर्वस्व स्वाहा भएको अवस्थामा के खोज्छस् कानो आँखा झैं भयो उनलाई । तुरुन्तै सहमति जनाए ठेकेदार सा’वले । मेयर बालेन्द्रसँग आएका उनका सहपाठीले “आज तपाईं १० वजे महानगरपालिकामा आउनुहोला र एग्रिमेन्ट पेपरमा साइन गरी भोलिदेखि काम सुरु गर्नुहोला” भन्दै दुबै जना ठेकेदार सा’वसँग हात मिलाएर बिदा भए । ठेकेदार सा’व उहाँहरूलाई विदा गर्दै हात हल्लाइरहे !

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४