Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नगद मौज्दातका कारण बढ्यो काठमाडौं महानगरको बजेट आकार”वडाको बजट दोब्बरले बढ्यो”


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १० २०७९
  • 2.9K
    SHARES

काठमाडौं । स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र साह (बालेन) को पहिलो बजेट शुक्रबार नगरसभामा पेश भयो ।

उपमेयर सुनिता डंगोलले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट पेश गरिन् । अघिल्ला मेयर विद्यासुन्दर शाक्य नेतृत्वको महानगरले बजेट खर्च गर्न नसक्दा थुप्रिएको नगद मौज्दातका कारण यो पटक मेयर बालेनलाई ठूलो आकारको बजेट ल्याउने अवसर मिल्यो ।

तर बजेटको कार्यान्वयन उनका लागि चुनौतीपूर्ण हुने देखिन्छ । चालु आर्थिक वर्ष २०७८/७९ मा १८ अर्ब ९५ करोड ७७ हजारको बजेट कार्यान्वयन गरिरहेको महानगरपालिकाले आर्थिक वर्ष सकिने एक महिना बाँकी रहँदा ५ अर्ब ९६ करोड ५९ लाख ६४ हजार मात्र खर्च गर्न सकेको छ । खर्च हुन नसक्ने देखेपछि १६ अर्ब २६ करोड २६ लाखमा संशोधन गरेर कार्यान्वयन गर्दा समेत बजेट खर्च ११ महिनामा ३६ प्रतिशतमाथि जान सकेन ।

यो पटक खर्च नभएर बसेको नगद मौज्दातका कारण बजेटको आकार ६ अर्ब ४६ करोड १९ लाख बढेको छ । नगरसभामा उपमेयर डंगोलले प्रस्तुत गरेको बजेट वक्तव्यअनुसार आगामी वर्ष पूर्वाधार विकास क्षेत्रको लागि ११ अर्ब ८ करोड ८९ लाख ३ हजार बजेट बिनियोजन गरिएको छ । यो कुल बजेटको ४९.५७ प्रतिशत हो ।

चालु आर्थिक वर्षको ११ महिनामा महानगरपालिकाले पूर्वाधारतर्फ २ अर्ब २६ करोड ८१ लाख ४६ हजार रुपैयाँ खर्च गर्न सकेको छ ।

आगामी आर्थिक वर्ष महानगरपालिकाको सञ्चित कोषबाट २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार खर्च हुनेछ । सामाजिक सुरक्षा भत्ता लगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाहरुबाट हुने आम्दानी सञ्चित कोष बाहेकको बजेटबाट कार्यान्वयनमा जाने छ । स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमहरुका लागि ५० करोड २१ लाख २४ हजार (२.२४ प्रतिशत) विनियोजन भएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि ४ अर्ब ६८ करोड ९८ लाख ६० हजार विनियोजन गरिएको छ, जुन कुल बजेटको २०.९६ प्रतिशत हो ।

पूर्वाधार विकास क्षेत्रको लागि ११ अर्ब ८ करोड ८९ लाख ३ हजार बजेट विनियोजन गरिएको छ, जुन कुल बजेटको ४९.५७ प्रतिशत हुन आउँछ । सामाजिक विकास क्षेत्रको लागि १ अर्ब ६२ करोड २८ लाख २२ हजार बजेट विनियोजन गरिएको छ, जुन कुल बजेटको ७.२५ प्रतिशत हो ।

सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ४ अर्ब ४६ करोड ५८ लाख ४० हजार बजेट बिनियोजन गरिएको छ, जुन कुल बजेटको १९.९६ प्रतिशत हुने उपप्रमुख डंगोलले जानकारी दिइन् । नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ १ अर्ब ३१ करोड ३७ लाख ६ हजारको श्रोत सुनिश्चित रहेको बजेट वक्तव्यमा उल्लेख छ ।

महानगरपालिकाले बजेटको तुलनामा राजश्वको लक्ष्य बढाएको छैन । चालु आर्थिक वर्षमा महानगरले ४ अर्ब  ६६ करोड रुपैयाँ राजस्व लक्ष्य लिएको थियो । आगामी आर्थिक वर्षका लागि ४ अर्ब ८० करोड संकलनको लक्ष्य राखिएको छ ।

आगामी वर्षका लागि महानगरपालिकाले ११ अर्ब ९५ करोड बैंकमा मौज्दात रहेको रकमबाटै खर्च गर्ने लक्ष्य राखेको छ । यसअनुसार महानगरले आन्तरिकतर्फको स्रोतबाट १६ अर्ब ८० करोड १ लाख रुपैयाँ खर्चने छ ।

संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदाबाट १ अर्ब ३१ करोड ३७ लाख ६ हजार रुपैयाा प्राप्त हुनेछ । संघीय र प्रदेश सरकारको राजस्व बाँडफाँटतर्फ ३ अर्ब ४१ करोड ३७ लाख ७३ हजार र समानीकरण अनुदानतर्फ ८४ करोड १९ लाख ७० हजार आम्दानी हुने प्रक्षेपण छ ।

त्यसैगरी महानगरले सामाजिक सुरक्षा भत्तावापत संघीय सरकारबाट १ अर्ब ६५ करोड र प्रदेश सरकारबाट प्राप्त हुने कार्यक्रमहरुको लागि ५२ करोडसहित जग्गा एकीकरण आयोजनाको लागि ८८ करोड १ लाख ४७ हजारको आय प्रक्षेपण गरेको छ ।

के छन् कार्यक्रम ?

महानगरपालिकाको बजेटमा हिटी, मठमन्दिर र ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुको संरक्षण र सम्बर्द्धनलाई महानगरले विशेष प्राथमिकता दिइएको छ ।

वडा कार्यालयहरुलाई सेवा प्रवाह, विकास निर्माण र प्रत्यक्ष जनचाहना पूरा गर्ने कार्यालयको रुपमा विकास गर्न भन्दै चालु आर्थिक वर्षको भन्दा झन्डै दोब्बर बजेट विनियोजन भएको छ । महानगरपालिका केन्द्रीय कार्यालय रहेको हरिभवनको प्रबलीकरण, विद्युतीय सार्वजनिक सवारी यातायात, सरकारी, सार्वजनिक, निजी, गैरसरकारी संस्थाहरुको परिसरमा रहेको खाली जग्गामा पोखरी निर्माण लगायतका कार्यक्रको लागि पनि बजेट विनियोजन भएको छ ।

पानी पुनर्भरण विशेष कार्यक्रम, महानगर उज्यालो कार्यक्रम, डबलीहरुको पुनर्स्थापना र एमपी थियटर निर्माण, सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधारमा गुणात्मक सुधार, वेस्ट टु इनर्जी प्लान्ट जडान, डिजिटल अर्बान सेक्युरिटी सिस्टमका लागि सीसीटीभी, बस स्टपहरुमा परम्परागत शैलीको फल्चा निर्माण लगायतका कार्यक्रमले पनि बजेट पाएका छन् ।

महानगरपालिकाको विपद जोखिम नक्शांकन, आवधिक योजनाको तयारी, ई-गभर्नेन्स मास्टर प्लान, दमकल स्टेसनको विस्तार, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा औषधि वितरण, युवा केन्दि्रत कार्यक्रमहरु, खेलकुद विकासका लागि पूर्वाधार निर्माण तथा बिभिन्न कार्यक्रम संचालन लगायतका शीर्षकमा पनि महानगरले बजेट छुट्याएको छ ।

महिलाहरुलाई सीप विकासमार्फत स्वरोजगार कार्यक्रम, अपाङ्गता भएका व्यक्तिका लागि सहयोग, मेट्रो रेलको सम्भायता अध्ययन, सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन, शित भण्डार निर्माण, केएमसी मार्ट निर्माण तथा सञ्चालन, मृत जीवजन्तुको अन्तिम संस्कारका लागि शवदाह गृहको निर्माण लगायतका योजनाले पनि बजेटमा विशेष महत्व पाएको छ ।

सार्बजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रबर्द्धन, नदी नियन्त्रण तथा कोरिडोर क्षेत्रमा ढल प्रशोधन केन्द्रको निर्माण, सहरी यातायात व्यवस्थापनका लागि कम्पनी स्थापना तथा सञ्चालन जस्ता योजना तथा कार्यक्रमहरु समेत बजेटमा समेटिएका छन् ।

इन्द्रजात्रालाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन बिशेष कार्यक्रम सञ्चालन, अनुसन्धान तथा विकास, बाजा संग्रहालय, कला संस्कृतिको संरक्षण विशेष कार्यक्रम, आविष्कार केन्द्र, सहरी स्वास्थ्य क्लिनिकलाई सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रमा स्तरोन्नति गर्ने कार्यक्रमले पनि बजेट पाएका छन् । ‘शिक्षा, स्वास्थ्य, फोहरमैला व्यवस्थापन, सम्पदा संरक्षण तथा सम्बर्द्धन र पूर्वाधार विकासलाई विशेष महत्व दिई बजेट बिनियोजन गरिएको छ ,’ बजेट वक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४