Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चिसो मान्छे फिल्म मात्र होइन, ‘लेगो’ पनि हो, आफैं जोडेर कथा पूरा गर्नुहोस्


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ४ २०७९
  • 4.4K
    SHARES

कथाको विषय विदेशबाट ल्याइएको लाश हो कि कोरोनाभाइरसको कहर ? छुट्याउन हम्मे पर्छ। कुनै एक कथा भन्दाभन्दै वा भने जस्तो गर्दै अरु कथाहरूलाई भनिरहनु निर्देशकको सफलता हो।

तपाईंले कहिल्यै चित्रकला सम्बन्धी एउटा खेल खेल्नुभएको छ ? जहाँ कुनै जनावरको चारवटा खुट्टा र टाउको मात्रै बनाइएको हुन्छ र शरीरका अन्य कुनै पनि भाग बनाइएको हुँदैन। दिइएका त्यति नै कुराहरूमा थपेर, जोडेर तपाईंले त्यो चित्र पूरा बनाउनुपर्नेछ।

  • त्यो चित्र कस्तो बन्ला ? जवाफ सहज छ।

यदि तपाईं चित्रकलामा पारंगत हुनुहुन्छ भने त्यो चित्र गज्जबको बन्ला। तपाईं चित्रकलाका नाममा ‘धर्को मात्रै कोर्न जान्ने’ हुनुहुन्छ भने राम्रो चित्र बन्ने सम्भावना असाध्यै न्यून रहन्छ। तपाईंमा हास्यरस खँदिलो छ भने चित्र पनि रमाइलो बन्ला। वा, तपाईंले सक्नुभयो भने त्यो चित्र भयानक वा भावनात्मक पनि बन्ला।

त्यो चित्रको नतिजा फरक पार्न सक्ने सबैभन्दा मुख्य कुरा भनेको चित्रकला सम्बन्धी तपाईंको ज्ञान वा सीप हुनेछ।

यो त चित्रकलाको कुरा भयो। यदि फिल्म नै खण्ड–खण्डका रूपमा तपाईंलाई दिने हो भने तपाईं कस्तो फिल्म बनाउनुहुन्छ होला ? फिल्म बनाएर हलमा वा कतै देखाउनुपर्ने हो भने त्यसको नतिजामा फरक पार्ने कुरा पनि सिनेमा सम्बन्धी तपाईंको ज्ञान वा सीप नै हुनेछ।

तर त्यो फिल्म कतै देखाउनु पर्दैन, तपाईंको मनमा नै पूरा गर्नुपर्ने भयो भने ? पक्कै पनि त्यसमा तपाईंको भावना जोडिन्छ। तपाईं आफ्नै अनुभूतिहरूलाई जोड्दै, फुकाल्दै, जोड्दै, फुकाल्दै कुनै पनि बच्चाले भावनात्मक भएर बनाएको ‘लेगो’ जस्तै आफ्नै किसिमका कथानकहरू बनाउन सक्नुहुनेछ।

यदि तपाईंले बच्चाहरूले ‘लेगो’ खेल्दै गरेको देख्नुभएको छ भने, यदि तपाईंलाई कुनै बच्चाले जतासुकै जोडेर बनाएको ‘खोइ के चिज हो’ वस्तुलाई कस्तो भयो भनेर असाध्यै लाडिएर सोधेको छ भने, तपाईंले चिसो मान्छे हेरिसकेर त्यो पलको सौन्दर्य पुन: सम्झिन सक्नुहुनेछ।

दीपेन्द्र के खनालले चिसो मान्छे नामको फिल्म मात्रै बनाएनन्, ‘लेगो’ बनाए। जसलाई फिल्म हलमा पुगेर बाहिरिंदा तपाईंले आफ्नो मनमा राखेर निस्किनुहुन्छ। र, घर पुग्दासम्म निर्देशक खनालले थमाइदिएका कथाका खण्डहरू मिसाएर धेरै कथानक तयार गर्न सक्नुहुनेछ।

  • कथा

फिल्मको कथा असाध्यै सामान्य छ। विदेशमा नै ज्यान गुमाएको छोरोको लाश लिन एकजना बाबु आफ्नी बुहारीसँग काठमाडौं आएका छन्। त्यो लाशलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाजुराको घरसम्म पुर्‍याउनुपर्नेछ।

तर त्यही सामान्य कथामा केही अवरोधहरू छन्। सबैभन्दा ठूलो अवरोध छ, कोरोनाभाइरसको। त्यसमा झन् अप्ठ्यारो थपिदिन्छ, विदेशमा पति गुमाएकी बुहारीको भाग्ने चाहनाले। र, चिसो समाजका चिसा मान्छेहरूले बनाएको चिसो व्यवस्थाले त्यसमा झन् धेरै भारी थपिदिएको छ।

तर, कथाका बारेमा भन्नैपर्ने केही छ भने त्यो हो, माथि भनिएको कथा मात्रै यो फिल्मको कथा होइन। गाडीको पछाडि लाशको बाकस राखेर काठमाडौंबाट बाजुरासम्म पुग्ने दूरीले केवल कथाको रेखाचित्र मात्रै बनाउँछ। बरु फिल्ममा अन्य कथाहरू विशेष र शक्तिशाली लाग्छन्।

कथाको विषय विदेशबाट ल्याइएको लाश हो कि कोरोनाभाइरसको कहर ? छुट्याउन हम्मे पर्छ। कुनै एक कथा भन्दाभन्दै वा भने जस्तो गर्दै अरु कथाहरूलाई भनिरहनु निर्देशकको सफलता हो।

  • आञ्चलिकतामा आधारित होइन फिल्म

कमाउन विदेशिएकाहरू विदेशबाट लाश भएर नफर्किएका नेपालमा सायदै कुनै भूभाग होला। कोरोना कहरले नच्यापेको सायदै कुनै क्षेत्र होला। दुःखले नढाकेको सायदै कुनै नेपाली ठाउँ होला। फिल्ममा सामान्यतया देखिने दृश्यहरू यिनैमा आधारित छन्।

देखिने कुनै पनि दृश्यले यो फिल्म अमूक स्थानविशेषको कथा हो भन्न सकिने केही पनि आधार दिंदैन। बरु कुनै स्थानविशेष खुम्च्याउनु चैं कथाप्रतिको अन्याय हुन्छ। यसलाई कुनै ठाउँको कथा नभनी सम्पूर्ण नेपालको कथा हो भन्न सकिन्छ।

अनि, निर्माणपक्ष र कथाको पूर्ण हुन लाग्ने समयलाई वास्ता नगर्ने हो भने फिल्ममा बाजुरा छान्नुको विशेष कारण छ भन्ने आधार छैन। यात्रामा आधारित चिसो मान्छे फिल्ममा यात्रामा बीचका ठाउँहरू जसरी आउँछन्, त्यसरी नै बाजुरा पनि आउँछ। पात्रहरू बाजुराका भएकाले मात्रै उनीहरूको लवज बाजुराको छ। त्योभन्दा बढी बाजुरेली मानक फिल्ममा केही पनि भेटिन्न।

  • पात्र र अभिनय

फिल्मका पात्रहरूले समाजका मान्छेहरूको नै प्रतिनिधित्व गर्छन्। कुनै पनि पात्रहरू ‘लार्जर देन लाइफ’ लाग्दैनन्।

छोराको लाश लिन आएको बाबु होस् वा गाडी चलाइरहेको ड्राइभर होस् वा, कोरोनाको रेडजोनबाट ग्रिनजोनमा मान्छे आउन नदिन शहरबाट आएर बाटो ढुकिरहेको युवक होस्, सबै हाम्रै समाजमा देखिरहने पात्रहरू हुन्।

हरेक पात्रहरूलाई अपवाद बाहेकको दृश्यमा हरेक कलाकारले न्याय गरेका छन्। अर्पण थापा र स्वस्तिमा खड्काले आफ्नो पात्रलाई प्राकृतिक बनाएका छन्। देशभक्त खनाल बाबु र ससुराका रूपमा सुहाएका छन्। स-साना भूमिकामा देखिएकाहरू पनि उम्दा देखिएका छन्।

  • दर्शकलाई केले बाँधिराख्छ ?

फिल्म ‘स्लो’ छ। निकै दृश्यहरू नराखेको भए पनि वा त्यसलाई थोरै समय मात्र देखाएको भए हुन्थ्यो भन्ने पर्छ। तर पनि दर्शकलाई वाक्क लाग्ने गरी नै भने कुनै पनि दृश्यहरू छैनन्।

लाशकी श्रीमती र ड्राइभरबीचको सम्बन्धको प्रारम्भ र विकास प्रेमिल लाग्छ। ती दुईबीच असाध्यै कम संवाद छन् तर आँखा-आँखाले लामो संवाद गरे जस्तै लाग्छ। दुई बीच हुर्किंदै गरेको प्रेमलाई निर्देशकले विना संवाद र भद्दा श्रृंगारिक दृश्य विना नै बुझाउन सकेका छन्। फिल्मले यी दृश्यहरू फेरि कहिले आउने हुन् भन्ने प्रतीक्षा बनाइराख्छ।

बेला बेला आउने केही दृश्यहरू भावनात्मक र उद्वेलित बनाउने किसिमका छन्। हामीले भर्खरै भोगिसकेको कोरोना कहरको समयलाई हलको पर्दामा देख्नु पर्दा असाध्यै संवेदनशील बनाउँछ।

  • ‘संकेत‘हरूको प्रयोग

फिल्म दृश्यप्रधान छ। धेरै कथा तथा पात्रहरूको मनोदशालाई भनिंदैन, देखाइन्छ। तर निर्देशकले ती दृश्यहरू यति सहज बनाएका छन् कि दर्शकले यसबारेमा चनाखो नभई पनि बुझ्न सक्छन्। जस्तै, ड्राइभरले एक प्याकेट पाउँ किनेर सिसा छेउमा राख्नु, सफाचट बनाएर दाह्री काट्नुको पनि विशेष अर्थ छ।

बुहारीलाई ड्राइभर र आफ्नो बीचमा राखेर झ्यालको सिटमा बसिरहेको ससुराले बुहारीलाई झ्यालपट्टिको सिटमा राखेर आफू बीचमा बस्दा होस् वा फेरि बुहारीलाई बीचको सिटमा बस्न दिंदा होस्, घटनाक्रमको विकास दर्शकले सहजै बुझ्न सक्छन्।

त्यस्तै, होटलको ओछ्यानमा लाशकी श्रीमतीले एकभाग खाली बनाउन कुनातिर सरेको दृश्य रोमान्टिक लाग्छ।

विदेशमा ज्यान गुमाएको नेपालीको लाश बोकेको गाडी जसलाई व्यवसाय डुबेर सबैथोक गुमाएको ड्राइभरले चलाइरहेको छ, त्यसको पछाडि लेखिएको हुन्छ – ‘यो जिन्दगी यसरी नै चल्छ, मिहिनेत गरे आफ्नै देशमा सुन फल्छ।’

फिल्म गाडीसँगै चलायमान छ। फिल्म सकिएपछि एकजना दर्शकले भन्दै गरेको सुनियो, ‘मेरो कपाल बाँध्ने क्लिप हातबाट खस्यो। म त गाडी कति बेला रोकिन्छ र टिप्नु भनेर पर्खिरहेको रहेछु। मलाई त गाडीमै छु जस्तो भइरहेको रहेछ। पछि त सम्झिएर निकै हाँसें।’

छायाँकारको लागि यो विजयको झन्डा गाड्ने दर्शक प्रतिक्रिया हो।

  • फिल्ममा के कमजोर लाग्छ ?

सबैभन्दा पहिलो कमजोरी लाग्छ सम्पादनको। फिल्ममा केही दृश्यहरू छन् जसलाई नराखेको भए पनि फरक पर्थेन। र, केही दृश्यहरू लामा छन् जसलाई छोट्याइएको भए सुन्दर हुन्थ्यो।

फिल्ममा पात्रहरूमाथि कुनै कुनै दृश्यमा एक्कासी दार्शनिक जस्तो बन्नुपर्ने जिम्मेवारी दिइएको झैं लाग्छ। जस्तो कि, असाध्यै कम बोलिरहेको ड्राइभर दार्शनिक बनेर संस्कृतको श्लोक भन्न थाल्छ वा दुःख पर्दा चिच्याउन छोडेर लामो कविता भन्न थाल्छ। गाडी पङ्चर गराइँदा लाशको बाबुको संवाद पनि प्राकृतिक लाग्दैन।

बाघ जस्ता जंगली जनावर पाइने जंगलमा थाहै नदिई निकै पर पुगेर नाँचिरहेकी लाशकी पत्नीको दृश्य पनि सहज छैन।

कुनै दृश्यहरू अलग्गै किसिमले देखाइएको भए थप प्राकृतिक र भावनात्मक लाग्थे कि ! जस्तै : गाडी पङ्चर गराइएपछि ड्राइभरले कविता भन्नुको साटो लाशको बाबुलाई गाडीभित्र नदेखाएर लाशकी पत्नीलाई मात्रै गाडीमा देखाएर उसले त्यो कविता पढेको देखाउनु बढी कलात्मक र प्राकृतिक हुन सक्थ्यो कि !

त्यस्तै, फिल्मका कथा र दृश्यहरू पूरा नहुनुले केही दर्शकहरूलाई खल्लो बनाउन पनि सक्छ।

  • चिसो मान्छे को हो ?

फिल्मको ट्रेलर हेर्दा लाग्थ्यो, चिसो मान्छे भनेको लाश हो। हामीले प्रयोग गर्ने चिसो मान्छे शब्दको अर्थ पनि त्यही हुन्छ। तर फिल्ममा चिसो मान्छेको अर्थ त्यतिमा मात्रै सीमित छैन।

फिल्मभर लाग्छ, मान्छे चिसिन मरिराख्नु नै पर्दैन। विदेशबाट आएको छोराको लाश लैजाँदै गरेको गाडीलाई हात्तीको नक्सा छापिएको कागज नदिई जानै दिन्न भन्नु अगाडि नै मान्छे ‘चिस्सिसकेको’ हुन्छ। श्रीमानको लाशलाई गाडीको पछाडि राखेर अगाडि पाउँ खाँदै मिठास लिइराख्दा पनि मान्छे ‘चिस्सिसकेको’ हुन्छ। ६ महिनाकी छोरीलाई आश्रयका लागि राख्दा पनि त्यो मान्छे कति बेला जान्छ भनेर किचकिच गर्नु भन्दा पहिले नै मान्छे ‘चिस्सिसकेको’ हुन्छ। लाश सेनाको जिम्मा लगाइदिएर पैसा जोगाएस् भनेर मृतकको बाउलाई सम्झाउनु अगाडि नै त्यो मान्छे ‘चिस्सिसकेको’ हुन्छ।

समाजमा यस्ता धेरै अवस्था छन्, जहाँ मान्छेहरू हिंड्दा हिंड्दै, सास फेर्दा फेर्दै ‘चिस्सिसकेका’ हुन्छन्। त्यसैले यो समाज चिसा मान्छेहरूको समाज हो। चिसा मान्छेहरू जतासुकै भएर यो समाज नै पनि एउटा चिसो मान्छे हो।

चिसो मान्छेको अर्को अर्थ पनि हुन्छ। त्यो हो, सबै कुरा नभन्ने, घुसघुसे। फिल्मले कथाहरू भन्न सुरु गर्छ तर कुनै पनि कथा अन्त्यसम्म देखाउँदैन। यो कोणबाट हेर्दा फिल्म सकिएपछि भन्न सकिन्छ- स्वयं निर्देशक पनि ‘चिसो मान्छे’ हुन्। तर, सँगसँगै भनिन्छ, राम्रो नेपाली फिल्म हेर्न दिएकोमा धन्यवाद निर्देशक र टीमलाई।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४