Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साकेला उभौली मनाइयो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २९ २०७९
  • 8.8K
    SHARES

खोटाङ । महिना दिनसम्म मनाइने किराँत समुदायको महान् चाड साकेला उभौली चाड विधिवतरूपमा समापन गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित माटीकोरे खेलमैदानमा बृहत् साकेला सिली प्रदर्शन गरेर औपचारिकरूपमा साकेला उभौली चाड समापन गरिएको हो ।

किराँत राई यायोख्खा र किराँत सेवा समाज खोटाङले संयुक्तरूपमा शनिवार आयोजना गरेको बृहत् साकेला सिली प्रदर्शनीमा विभिन्न स्थानका ११ समूह सहभागी थिए । साकेला उभौलीको अवसरमा किराँत समुदायले ‘अन्नबाली सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आइ नलागोस्, सुव्यफाव्य होस्’ भन्ने कामना गर्दै भूमि, पितृ र अन्नको पूजाआजा गरेर साकेला उभौली मनाउने गरेका छन् ।

साकेला उभौली हरेक वर्ष दिक्तेल बजारस्थित किराँत ऐतिहासिक एवं पर्यटकीय स्थल मझुवागढीमा भूमि अर्थात् चुलाको औपचारिक पूजा गरेर सुरु हुने र माटीकोरे खेलमैदानमा बृहत् साकेला सिली प्रदर्शन समापन गर्ने चलन छ । साकेला उभौली चाडका अवसरमा महिना दिनसम्म आफन्तजन, साथीभाइ, नरनाता, छरछिमेकबिच भेटघाट गर्दै शुभकामना आदान–प्रदान गर्ने चलन छ ।

साकेला चाडको अवसरमा परम्परागत वेशभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, आमाबुवा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला गीत गाएर नाच्ने प्रचलन छ । साकेला थान तथा चुलामा पितृको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाच्ने गरिन्छ ।

अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णिमादेखि महिना दिनसम्म उभौली र अन्नबाली उठाउने बेला मङ्सिर पूर्णिमादेखि १५ दिनसम्म साकेला उँधौली चाड मनाउने गरिएको किराँत राई यायोख्खा खोटाङका सचिव युगशन किराँतले जानकारी दिनुभयो । साकेला चाडको अवसरमा नाचिने साकेला सिलीमा मानवजातिको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपक्षीको क्रियाकलापलाई चित्रण गरिन्छ ।

साकेला चाड र साकेला सिलीको सुरुवातका विषयमा विभिन्न जिल्ला तथा ठाउँमा फरक–फरक मिथक तथा भनाइहरू पाइन्छन् । यसको सुरुवातका विषयमा किराँत समुदायमा आ–आफ्नै तर्क र भनाइहरू रहेका छन् ।

यद्यपि, किराँत समुदायको आदिम पुर्खा खोक्चिलिपा, तायामा र खियामाले यसको सुरुवात गरेको किंवदन्तीमा सबै एक मत रहेका छन् । साकेला चाड खोटाङसहित भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङ, काठमाडौँ, भक्तपुर, ललितपुर लगायतका जिल्लामा मनाइन्छ ।

साकेला चाडले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरुत्साहित गर्न भूमिका खेल्ने किराँत राई यायोख्खा खोटाङका अध्यक्ष हात्तीराम राईले बताए । “साकेला चाडमा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदान–प्रदान गर्ने गरिन्छ”, उनले भने, “प्रकृति र पितृको पूजासँगै मनाइने यो साकेला चाडले किराँत र गैरकिराँत समुदायबिच आपसी सद्भाव र बन्धुत्व कायम गर्न सघाउ पु¥याउने अपेक्षा गरेका छौँ ।”

साकेला चाड किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायले प्रमुख चाडका रूपमा मनाउने गरेका छन् । माझ किराँत भनेर चिनिने खोटाङमा पछिल्लो समय साकेला चाडलाई गैरकिराँत समुदायले समेत मनाउन थालेका छन् । बालबालिकादेखि वृद्धसम्म एउटै लहरमा सामूहिकरूपमा नाचिने साकेला नृत्यले आदिवासी जनजातिको सामूहिक भावना प्रदर्शन गर्छ । हातखुट्टाको चालले पङ्क्तिबद्धरूपमा नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएकोजस्ता कृषि कार्य प्रदर्शन गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४