©सुवास महत,
काठमाडौं । पाँच डीआईजी एआईजीमा बढुवासँगै जिम्मेवारी हेरफेर, ‘भ्याली कमाण्ड’ मा रवीन्द्र धानुक !सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) काे जिम्मेवारी हेरफेर गरेको छ । उपत्यका प्रहरी प्रमुख भ्याली (कमाण्ड) मा प्रहरी प्रधान कार्यालय प्रशासन विभागमा कार्यरत एआईजी रवीन्द्रबहादुर धानुकलाई जिम्मेवारी दिएको हो ।
अपराध अनुसन्धान तथा कमाण्ड क्षमतामा अब्बल एआईजी धानुकले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हुँदा काठमाडौं प्रहरी प्रमुख र ललितपुर प्रहरी प्रमुखको सफल कमाण्ड सम्हालेका थिए ।

उपत्यकाको काठमाडौं र ललितपुर जिल्लाको कमाण्ड सम्हालेको अनुभव भएका धानुक एक्ला प्रहरी अधिकारी हुन् । प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुँदा धानुकले लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए । धानुक आईजीपी धीरजप्रताप सिंहसँगै एआईजीमा बढुवा भएका अधिकारी हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद्काे बैंठकले एआईजीको जिम्मेवारी हेरफेरसँगै पाँच जना डीआईजीलाई एआईजीमा बढुवा गरेको छ । डीआईजीहरू उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआईजीमा बढुवा गरेको हो ।
९ जेठमा गृह मन्त्रालयका सचिवको नेतृत्वमा बसेको बढुवा समितिको बैठकले उनीहरूलाई एआईजीमा बढुवा सिफारिस गरेको थियो । सरकारले उनीहरूको बढुवासँगै पदस्थापनसमेत गरेको छ ।
एआईजी सुवेदीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र पुजा सिंहलाई मानव स्रोतको जिम्मा दिइएको छ ।