काठमाडौं । सरकारले नेपालका लागि गहुँ निर्यात सुचारु गर्न भारत सरकारसँग आग्रह गर्ने भएको छ ।
भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालको औद्योगिक क्षेत्रमा प्रतिकूल प्रभाव पर्ने भन्दै सरकारी स्तरबाटै संवाद गर्ने तयारी भइरहेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिएका छन् । मन्त्री बडूले आइतबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा भने, “तत्कालका लागि गहुँ आयातका निमित्त जीटूजी संवाद गर्ने तयारी गरिरहेका छौं तर पछि गहुँ उत्पादनमै आत्मनिर्भर हुनेगरि कार्यक्रम ल्याउनुको कुनै विकल्प छैन् ।”
भारतको वाणिज्य मन्त्रालयले अघिल्लो शुक्रबार सूचना प्रकाशित गरि गहुँ निकासीमा रोक लगाएको थियो । रुस र युक्रेनबीच भइरहेको युद्धका कारण ती मुलुकबाट गहुँ निर्यात हुन सकेको छैन् । जसका कारण नेपालको मैदा उद्योग तथा बिस्कुट, चाउचाउ, पास्ता जस्ता उद्योगहरू प्रभावित बन्ने देखिएको मन्त्री बडूले बताए ।
यो समाचार आजको करोबार दैनिकमा प्रकाशित छ ।