जनकपुरधाम । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बागी उम्मेदवारलाई मत नदिन आग्रह गरेका छन् ।
जनकपुरधाममा शनिबार पाँच दलीय गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले बागीलाई भोट दिएर बेहाल गर्न नहुने बताए । ‘यहाँ (जनकपुरधाम) मा बागीले जितेको इतिहास छ’ पौडेलले भने, ‘व्यवस्थित सुन्दर शहर बनाउनका लागि गठबन्धनका उम्मेदवारलाई भोट दिनुहोला ।
नेपाली कांग्रेसबाट राजीनामा दिएर जनकपुरधामको मेयरका लागि मनोज साहले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पौडेलले साहलाई नै इंगित गर्दै बागीलाई भोंट दिएर बर्बाद गर्न नहुने बताए ।
२०४९ सालमा सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेसले दिगम्बर रायलाई जनकपुरको मेयरको टिकट दिएपछि स्वतन्त्र उम्मेदवारी दिँदै वृषेशचन्द्र लालले जितेका थिए ।
त्यतिबेला कांग्रेसबाटै असन्तुष्ट भएर उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका लालकिशोर साह (निवर्तमान मेयर) ले पनि जित हात पारेका थिए ।
२०५४ सालमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले दामोदारप्रसाद उपाध्यायलाई टिकट दिँदा बजरंगप्रसाद साहले स्वतन्त्र उम्मेदवारी दिएर जित हात पारेका थिए ।
नेता पौडेलले कांग्रेस अब अन्तरघातले चल्न नसक्ने भन्दै सबैलाई एकजुट भएर अगाडि बढनुपर्ने बताए ।
