फरक पृष्ठभूमिका यी उम्मेदवारहरूको पक्षमा केही न केही जनमतसमेत देखिन्छ । त्यसो त उनीहरू आफूले गर्ने गरेको जितको दाबी भिन्न विषय भयो । यो एउटा उम्मेदवारले भन्नैपर्ने/गर्नैपर्ने विषयजस्तो बनिसकेको छ; बिरालो बाँधेर श्राद्ध गरेजस्तो । जे हाेस्, उनीहरूले आँटेका छन् । स्थापित राजनीतिक दलहरूको गढमा फरक पृष्ठभूमिबाट आएको उम्मेदवारहरूको स्थान कहाँनेर रहन्छ त्यो हेरौँला । तर, स्वाभाविक रूपमा केही प्रश्नहरू भने खडा हुन्छन् । के फरक पृष्ठभूमिबाट आएका व्यक्तिहरू राजनीतिक नेतृत्व सम्हाल्न सक्षम हुन्छन् ? के एकैचोटी राजनीतिमा हाम फालेर त्यसको जोखिम उठाउन सक्छन् ? ती व्यक्तिहरूका क्षेत्र र राजनीतिक क्षेत्र मिल्छन् ? वा अन्य कार्यकौशल भएको व्यक्तिहरूसँग राजनीतिक कौशलता हुन्छ ? यस्तै यस्तै ।
यी यावत् जिज्ञासाहरूकाे जवाफ जन प्रहारले राजनीतिक विश्लेषक पुरञ्जन आचार्यसँग खाेजेकाे थियाे । आचार्यको सटिक जवाफ थियो, ‘नेतृत्व गर्नै सक्दैनन् भन्ने हुँदैन ।’ अन्य क्षेत्रबाट राजनीतिमा आउनु भनेको अहिलेको राजनीतिक प्रणाली सफल हुनु भएको आचार्य विश्लेषण छ । ‘यो भनेको राजनीतिक प्रणाली सफल भयो भन्ने प्रमाण पनि हो,’ उनले भनेका छन्, ‘यो कन्भेन्सनल राजनीतिबाट अनकन्भेन्सल हुनु हो । यो भनेको राम्रो हो, प्रगति हाे । यसमा मानेमा यसलाई नराम्रो भन्न हुँदैन ।’
विश्व राजनीतिक परिवेशले पनि पनि फरक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेकाहरू नेतृत्व सम्हाल्न सक्षम हुन्छन् भन्ने देखाएको आचार्य बताउँछन् । ‘पाकिस्तानमा इमरान खान आए,’ उनले भनेका छन्, ‘भारतमा आमआद्मी पार्टी नै आयाे । अमेरिकामा डोनल्ड ट्रम्प आए । उनीहरूले कुनै न कुनै हिसाबले राष्ट्रिय राजनीतिक नेतृत्व पनि सम्हाले । व्यवस्थाप्रति उनीहरूकाे बफदारिता फरक विषय रह्याे । तर, नेतृत्व नै गर्न सक्दैनन् भन्ने कुराचाहिँ हुँदैन । यसो हुनाले अन्य क्षेत्र वा पृष्ठभूमिबाट आएकाहरू राजनीतिक नेतृत्व सम्हालन असक्षम हुन्छन् भन्ने हुँदैन ।’
नेपालको पछिल्लो युवा पुस्ता र त्यसमा पनि राजनीतिक दलभन्दा बाहिरबाट नेतृत्व लिन खोज्ने प्रवृत्ति बढेको भन्दै यसप्रति सहानुभूति राख्नुपर्ने आचार्यको भनाइ छ । ‘एउटा काम राम्रोसँग गर्न खोज्नेले अर्को काम पनि राम्रै गर्न खोज्छ । गर्न खोजेपछि त्यसमा पनि ऊ सफल हुन्छ । उनीहरू शुरूमा स्थापित हुने भनेकोचाहिँ पुरानो क्षेत्र र पृष्ठभूमिकै बलमा हो । त्यसपछि त नेतृत्व लिन सक्षम भइहाल्छन् ।’
राजनीतिशास्त्री लोकराज बराल पनि विश्लेषक आचार्यको भनाइसँग असहमत छैनन् । उनी पनि युवा पुस्ता र त्यसमा पनि फरक पृष्ठभूमिबाट आएका व्यक्तिहरू राजनीतिक नेतृत्व सम्हाल्न तयार नरहेको भन्ने कुरासँग सहमत छैनन् । ‘युवाहरू राजनीतिक नेतृत्व लिन नसक्ने नै भन्ने त हुँदैन,’ बरालले भनेका छन्, ‘झनै फरक पृष्ठभूमिबाट आएका युवाहरू त यसबाट चुक्दैनन् जस्तो लाग्छ ।’
तर, बराल अहिलेका युवा पुस्तासँग भएकाे राजनीतिक चेतसँग भने त्यत्ति सन्तुष्ट छैनन् । पछिल्लाे समयका युवाहरू नेता, मन्त्रीहरूका स्वकीय बन्न कुदेकाे देख्दा आफूलाई बिरमाइलाे हुने गरेकाे सुनाउँछन् उनी । ‘याेचाहिँ खास हुँदाे हाेइन,’ उनी सुनाउँछन् ।
युवाहरूमा ‘मौकामा चौका हान्ने’ बानी परेको जिकिर बरालकाे छ । ‘युवाहरू पनि सचेत भने भएनन्, भए तर सीमित रूपमा भए । जत्ति हुनुपर्ने थियाे, त्यत्ति भएनन् । युवाहरूमा पनि नेताहरूका पीए, सहयोगी र मतियार बन्ने प्रवृत्ति बढेको छ यो भने राम्रो होइन,’ उनले भनेका छन् । तर, युवाहरू र त्यसमा पनि फरक क्षेत्रबाट राजनीतिमा आएकाहरू नेतृत्व सम्हाल्नै असक्षम हुन्छन् भन्ने भने नभएकाे उनकाे भनाइ छ ।