Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तहसनहस सत्ता गठबन्धन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १३ २०७९
  • 7.5K
    SHARES

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले केन्द्रबाटै सहमति गरेर देशभर तालमेल गर्ने निर्णय गरे पनि महत्वपूर्ण स्थानमा समेत त्यसलाई कायम राख्न असफल भएको छ । केन्द्रबाटै तालमेल गर्ने निर्णय गरेका ६ वटा महानगर र ११ वटा उपमहानगरमा समेत अधिकांश ठाउँमा गठबन्धन दलहरूबाटै बागी उम्मेदवारी परे । कतिपयमा ठाउँमा गठबन्धनभित्र पनि गठबन्धन बने भने कतिपय स्थानमा गठबन्धन बाहिरको प्रमुख दल एमालेसँगै तालमेल गरेर उम्मेदवारी दर्ता भए । सबैभन्दा चर्चामा रहेको चितवनको भरतपुर महानगरमा गठबन्धनले साझा उम्मेदवार उठाउने सहमति गरेको थियो । सोहीअनुसार माओवादी केन्द्रबाट प्रमुखमा रेनु दाहाल र उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराए । तर, पहिल्यैदेखि नै असन्तुष्ट रहेको चितवन कांग्रेसका नेता पूर्वसांसद जगन्नाथ पौडेलले पनि बागी उम्मेदवारी दर्ता गराए ।

अर्को महत्वपूर्ण महानगर हो, पोखरा । गठबन्धन केन्द्रको निर्णयअनुसार पोखरा महानगर एकीकृत समाजवादीको भागमा परेको थियो । सोहीअनुसार प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्य र उपप्रमुखमा कांग्रेसकी कोपिला रानाभाटले उम्मेदवारी दर्ता गराए । उम्मेदवारी दर्ताको क्रममा आचार्यले कांग्रेस र माओवादी केन्द्रका नेताहरूलाई सँगै उभ्याएर आफू पार्टीको मात्रै नभई सिंगो गठबन्धनको उम्मेदवार भएको देखाउने प्रयास गरे । तर, त्यही महानगरमा नेपाली कांग्रेसका तीन जनाले बागी उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनको यो संकट महानगरमा मात्रै होइन, देशभरका अधिकांश पालिकामा समेत देख्न सकिन्छ । गण्डकी प्रदेशको कास्कीमा मात्रै पोखरा बाहेकका पालिकामा गठबन्धनले साझा उम्मेदवारी दर्ता गर्न सकेन ।म्याग्दीका ६ वटा स्थानीय तहमध्ये दुईवटामा बाहेक तालमेल गर्न सकेन । मुस्ताङका केही वडामा बाहेक कुनै पालिकामा पनि गठबन्धन कायम रहेन । तनहुँका १० पालिकामध्ये ३ पालिकामात्रै गठबन्धन भएको छ ।

गठबन्धनबीच पूर्ण तालमेल मात्रै होइन कतिपय पालिकामा गबठन्धनभित्रका दलहरूले अर्को गठबन्धन बनाए । गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा नै दलहरूले कतै एक्लाएक्लै त कतै त्यहीभित्रै उपगुट बनाएर उम्मेदवारी दर्ता गराए । उनको गृह जिल्ला डडेल्धुरामा नै दुईवटा गाउँपालिकामा मात्रै माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गरे । बाँकी पालिकामा गठबन्धनका दलहरूले ‘मित्रवत’ प्रतिस्पर्धा गर्ने निर्णय गरे ।

सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा तीनवटा पालिकामा तीनवटा दलले र एक-एक पालिकामा दुई-दुई वटाले तालमेल गरे । सुनर्या गाउँपालिका प्रमुखमा एकीकृत समाजवादी र उपप्रमुखमा माओवादीले उम्मेदवारी दिए । पाटन नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवारी दिए । तर, यी दुईवटै पालिकामा तेस्रो दलले गठबन्धनका उम्मेदवारलाई समर्थन गरेनन् । परिणामतः सुनर्या गाउँपालिकामा कांग्रेसले र पाटन नगरपालिकामा एकीकृत समाजवादीले आ-आफ्ना उम्मेदवार उठाए । बाँकी पाँचवटा पालिकामा भने गठबन्धनका सबै दलले ‘मित्रवत’ प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दर्ता गराए ।

दार्चुलामा गठबन्धनका दुई दल कांग्रेस र माओवादी केन्द्रले मात्रै तालमेल गरे । एकीकृत समाजवादीले भने दुईवटा पालिकामा मात्रै एक्लै उम्मेदवारी दर्ता गरायो । कञ्चनपुरमा गठबन्धनका दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गरे । तर, कांग्रेसले सबै पालिकामा एकल उम्मेदवारी दियो । माओवादी र एकीकृत समाजवादीले तालमेल गरेकै एउटा नगरपालिकामा पनि उपप्रमुख पदमै बागी उम्मेदवारी पर्‍यो ।

  • प्रदेश १ र मधेशमा संकटग्रस्त

गठबन्धनभित्रको संकट प्रदेश १ र मधेश प्रदेशमा छरपस्ट भयो । प्रदेश १ का १४ वटा जिल्लामध्ये पाँच वटा जिल्लाका आंशिक पालिकामा मात्रै गठबन्धनबीच गुट र उपगुटसहित तालमेल भयो ।

झापाका १५ मध्ये १० वटा पालिकामा कांग्रेस र माओवादी केन्द्रले साझा उम्मेदवार उठाए । मोरङमा केन्द्रबाटै निर्णय भएको विराटनगर महानगरबाहेक अन्यत्र दलहरू एकमत हुन सकेनन् । मिक्लाजुङ र लेटाङमा माओवादी र कांग्रेसबीच मात्रै र सुनबर्सी नगरपालिका र धनपालथान गाउँपालिकामा माओवादी र जनता समाजवादी पार्टी (जसपा) बीच छुट्टाछुट्टै गठबन्धन बने ।

रोचक तालमेल एमाले फुटेर बनेको एकीकृत समाजवादीले गर्‍यो । हुम्लाको चंखेली गाउँपालिकामा एकीकृत समाजवादी गठबन्धनभित्र सन्तुष्ट हुन नसकेपछि एमालेकै शरणमा पुग्यो । चंखेलीको अध्यक्षमा एमालेबाट बिमला कुमारी शाही र उपाध्यक्षमा समाजवादीबाट प्रेमकला शाहीले उम्मेदवारी दिए
सुनसरीका दुई उपमहानगर धरान र इटहरीबारे गठबन्धनको केन्द्रबाटै निर्णय भएको थियो । तर, जिल्लाका अन्य पालिकामा भने दलहरूले एकले अर्कोलाई स्वीकार गर्न सकेनन् । खोटाङका १० पालिकामध्ये ६ वटामा कांग्रेस र माओवादी केन्द्रबीच मात्रै तालमेल भयो ।

समग्रमा प्रदेश १ का १३७ पालिकामध्ये अधिकांश पालिकामा गठबन्धनबीच सहमति नभएपछि ‘मित्रवत’ प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

मधेशमा त झन् केन्द्रबाटै सहमति गरिएका बाहेक स्थानमा दलहरू एक ठाउँमा नै उभिन सकेनन् । एकीकृत समाजवादीका मधेश प्रदेश इञ्चार्ज धर्मनाथ साह केन्द्रमा भएको निर्णय बाहेक अन्य स्थानमा तालमेल हुन नसकेको बताउँछन् । ‘कतै पनि तालमेल भएन,’ साहले भने, ‘सबैले आ-आफैं उम्मेदवारी दर्ता गरेका छन् ।’

पर्साको वीरगञ्ज महानगर, धनुषाको जनकपुर उपमहानगर र बाराको जितपुर सिमरामा केन्द्रबाटै टुंग्याइएका थिए । सर्लाहीको लालबन्दी नगरपालिकामा गठबन्धन गर्ने सहमति भयो तर कार्यान्वयन गर्दा दलहरू एक्लाएक्लै उम्मेदवारी दर्ता गर्न पुगे । पर्साको पर्सागढी नगरपालिकामा भने दलहरूले संयुक्त उम्मेदवार उठाउन सफल भए । यी बाहेक मधेसका अन्य पालिकामा भने सबैले एक्लाएक्लै उम्मेदवारी दिए ।

माओवादीका प्रदेश इञ्चार्ज साह मधेशले गठबन्धनको मर्म बझु्न नसकेको बताउँछन् । ‘गठबन्धनको मुलभूत आवश्यकता पनि मधेशले बुझेन,’ उनले भने, ‘यसको सैद्धान्तिक र व्यवहारिक कुरा पनि बुझेन ।’

  • निर्णयः नेताका एकथरी, कार्यकर्ताका अर्काथरी

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा माओवादी केन्द्रका नेता महेन्द्र बहादुर शाहीले उम्मेदवारी दर्ताको अन्तिम दिन दिउँसोतिर गठबन्धनले प्रदेशस्तरमा गरेको सहमति सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे । जसमा कांग्रेस नेता पूर्णबहादुर खड्काको जिल्ला सुर्खेत र अर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्माको जिल्ला रुकुमबाहेक सबैतिरका लागि तयार पारिएको तालमेलको खाका समेटिएको थियो । उक्त विज्ञप्तिमा कुन पालिकामा कुन दलको उम्मेदवार के पदमा उठाउने भनेर उल्लेख थियो । तर, त्यसको केही घण्टा नबित्दै माओवादीकै जिल्लाका नेताहरूले पनि छयापछयाप्ती विज्ञप्ति सार्वजनिक गर्न थाले, गठबन्धन कायम नरहेको भन्दै ।

त्यसमध्येको एक थियो, सल्यानबाट माओवादीका नेता टेकबहादुर बस्नेतले सार्वजनिक गरेको विज्ञप्ति । शाहीले सार्वजनिक गरेको विज्ञप्तिमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सल्यानका कुन पालिकाका कुन पदमा उम्मेदवारी दिने भनेर तय गरिएको थियो । तर, बस्नेतले सार्वजनिक गरेको विज्ञप्तिमा सबै पालिकामा माओवादी र एकीकृत समाजवादीको मात्रै तालमेल भएको भनिएको थियो ।

नेता बस्नेतले अनलाइनखबरसँग किन गठबन्धनभित्र गठबन्धन गर्नु भएको ? भन्ने जिज्ञासामा ‘संस्थागत निर्णय सबैका लागि लागू नभएका कारण बाध्यता आइलागेको’ भनेर जवाफ दिए । उनले नेताहरूले आफ्नो स्वार्थ जोडिएका जिल्ला र पालिकामा तालमेल नगर्ने तर, कार्यकर्ताले दुःख गरेर बलियो बनाएका ठाउँमा गठबन्धन गरिदिनुपर्ने बाध्यता नरहेको बताए । बस्नेतले सल्यानबाट सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेजस्तै विज्ञप्ति देशभरका विभिन्न जिल्लाबाट गठबन्धनका तल्लो तहका कमिटीले पनि गरे र उनीहरूले आफू अनुकूलको निर्णय गरे ।

  • एमालेसँग तालमेल गर्न गठबन्धनका दलहरूको हानथाप

गठबन्धनका दलहरूको विजोग देखाउने अर्को दृश्य हो एमालेसँगको तालमेल । जुन दललाई प्रतिगमनकारी भन्दै आफू सत्तामा आसिन छन् र जसका विरुद्ध गठबन्धन बनाएका छन् आन्तरिक संकटका कारण उसैसँग तालमेल गर्न पुगे । गठबन्धनका दलहरूले बरु ‘मित्रवत प्रतिस्पर्धा’ गर्ने तर, एमालेसँग तालमेल नगर्ने भनेर केन्द्रबाट निर्देशन नै जारी गरेका थिए । तर सहकार्य विपरीत प्राय सबै दलले कुनै न कुनै ठाउँमा एमालेसँग तालमेल गरेरै छाडे । त्यसमा पनि रोचक तालमेल एमाले फुटेर बनेको एकीकृत समाजवादीले गर्‍यो । हुम्लाको चंखेली गाउँपालिकामा एकीकृत समाजवादी गठबन्धनभित्र सन्तुष्ट हुन नसकेपछि एमालेकै शरणमा पुग्यो । चंखेलीको अध्यक्षमा एमालेबाट बिमला कुमारी शाही र उपाध्यक्षमा समाजवादीबाट प्रेमकला शाहीले उम्मेदवारी दिए ।

प्युठानको झिमरुक गाउँपालिकामा सत्ता गठबन्धनभित्रै कुरा नमिलेपछि माओवादी केन्द्र पनि नेकपा एमालेसँग तालमेल गर्न पुग्यो । गाउँपालिका अध्यक्षलाई लिएर माओवादी र राष्ट्रिय जनमोर्चा सहमति नभएपछि एमाले-माओवादी गठबन्धन हुन पुग्यो । गठबन्धनका साना दलले एमाले रोज्न थालेपछि प्रमुख दल कांग्रेसले पनि त्यही बाटो रोज्यो । चुनावी घोषणापत्रमा एमालेलाई भएभरको गाली गरेको कांग्रेसले सहयात्री दलहरूलाई मिलाउन नसकेर आफैं एमालेसँग तालमेल गर्न पुग्यो ।

रोल्पाको माडी गाउँपालिकाको अध्यक्षमा एमालेका विजय घर्तीमगर र उपाध्यक्षमा कांग्रेसका कृष्ण विकको उम्मेदवारी दर्ता भयो । पालिकामा मात्रै होइन, कांग्रेस र एमालेले वडामा समेत तालमेल गरेका छन् ।

सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन बन्यो । अध्यक्षमा नेपाली कांग्रेसका मानबहादुर बुढाथोकी र उपाध्यक्षमा एमालेका लालबहादुर राउतले मनोनयन दर्ता गरे ।

भोजपुरको आमचोक गाउँपालिकाका वडामा कांग्रेसले एमालेसँग तालमेल गर्‍यो। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् प्रदेश १ का पूर्व मुख्यमन्त्रीसमेत रहेका नेता शेरधन राईको घर रहेको उक्त गाउँपालिकामा एमाले र कांग्रेस मिलेर १० वटा वडा बाँडफाँट गरेका छन् । त्यसबाहेकका गाउँपालिकामा पनि कांग्रेसले एमालेसँग जिल्लाको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकामासमेत तालमेल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४