आँखा र कुममा गोली लागेपछि उनी ढले । ब्युँझदा पार्टीको उपचार कक्षमा आफूलाई घाइते पाएका थिए । ‘हेड क्वार्टरमा एक महिना बसेर लखनऊ (भारत) उपचार गर्न गएँ । त्यहाँ पनि नभए पनि दिल्ली गएँ । ९ महिनासम्म विभिन्न ठाउँको अस्पताल चहारियो’ मगर सम्झन्छन्, ‘तर, पुग्नुपर्ने ठाउँमा पुग्दा धेरै ढिलो भइसकेको रहेछ । एउटा आँखा गयो ।’ २०६१ सालमा उनी माओवादीको रोल्पा १० नम्बर एरिया इन्चार्ज थिए । प्रसाद २०६२ सालमा आँखाकै उपचार गर्न पोखरा आएका थिए । तर, यता आइसकेपछि उनी गाउँ फर्कन सकेनन् । मजदुरीतिर लागे । ‘गाउँमा धेरै विस्थापित भइसकेका थिए । गाउँमा बस्नेहरू त विपन्न वर्ग र केही बुढापाका मात्रै भए’ भन्छन्, ‘आफ्ना लागि भन्दा पनि छोराछोरीको भविष्य सोचेर यतै (पोखरा) बस्न थालियो । गाउँभन्दा केही सजिलो हुन्थ्यो ।’
रोल्पाबाट पोखरा आउने श्रृंखला २०४७/४८ बाट सुरु भएको भेटिन्छ । तर २०६३ सालदेखि उक्त संख्या एकदमै बढेर आएको बताउँछन्, रोल्पा पोखरा सम्पर्क समाजका संस्थापक अध्यक्ष पूर्णबहादुर बुढामगर । ‘२०५० सालभन्दा अगाडि थोरै संख्यामा थिए । विस्तारै जनयुद्ध बढ्दै गएपछि पोखरा आउने पनि बढ्दै गए’, उनी भन्छन् । २०६३ सालदेखि पोखरामा रोल्पालीको एक्कासी आगमन बढ्नुमा मुख्यतः दुई कारण देख्छन्, प्रसाद बुढामगर ‘सुन्दर’ । पहिलोः जनयुद्ध कालमा सहरले रोल्पा, रुकुमका नागरिकलाई नस्वीकार्ने प्रवृत्ति । दोस्रोः जनयुद्धपछि सेवा–सुविधासहितको खोजीमा लाग्नुपर्ने बाध्यता । ‘२०६३ भन्दा अगाडि यहाँ आएका रोल्पालीहरू न गाउँ फर्कने अवस्था थियो न त यहाँ नै बस्न सक्ने अवस्था’, उनी सुनाउँछन् ।
२०६३ सालमा ११ जनाबाट सुरु गरेको रोल्पा–पोखरा सम्पर्क समाजमा अहिले ८६ परिवार संलग्न छन् । तर, यो संख्या समाजमा आवद्ध भएकाहरूको मात्रै हो । समाजसँग नजोडिएका हजारौंको परिवार पोखरामा रहेको समाजका निवर्तमान अध्यक्ष प्रसाद सुनाउँछन् । ‘थोरैलाई मात्रै एकीकृत गर्न सकेका छौं । पोखरामा कम्तिमा पनि दुई हजारदेखि २५ सयको हाराहारीमा रोल्पाली छन् । उनीहरू सबैको मुख्य पेशा नै मजदुरी हो’, उनी भन्छन् । व्यवस्था परिवर्तनका लागि भनिएको तत्कालीन विद्रोहको मोर्चा सम्हालेका रोल्पालीको नियति अहिले मजदुरीका लागि कि जिल्ला छोड्नुपर्ने कि खाडी मुलुक जानुपर्ने बाध्यता छ । प्रायः दाङ, बुटवल हुँदै पोखरा, बागलुङ, मुस्ताङ लगायतका गण्डकी क्षेत्रमा मजदुरी गर्न आउने रोल्पालीको ठूलो संख्या छ ।
गण्डकी प्रदेशमा रोल्पालीहरू मजदुरीसँगै दुर्घटनामा ज्यानसमेत गुमाउनुपर्ने बाध्यता छ । २०७५ असार २३ मा मुस्ताङमा टिप्पर दुर्घटना हुँदा २० जनाको एकै चिहान भयो । मुस्ताङको स्याङबोचेमा मजदुरी गर्ने उनीहरूमध्ये ९ जना रोल्पाका मात्रै थिए । मृत्यु हुनेमा रोल्पाको सुनछहरी र थवाङ गाउँपालिकाका युवायुवती थिए । २०७८ साउन ५ गते बागलुङको गलकोट नगरपालिकामा विषादीयुक्त मदिरा सेवन गर्दा चार जनाको मृत्यु भयो । मृत्यु हुने सबै रोल्पाका र उनीहरू त्यहाँ मजदुरी गर्न पुगेका थिए । फागुन १९ गते मात्रै पोखरामा भएको ट्याक्टर दुर्घटनामा रोल्पाकै १९ वर्षीय हरि बाँठामगरले ज्यान गुमाए । संस्थासँग यकिन तथ्यांक छैन । तर बर्सेनि पोखरा लगायत क्षेत्रमा दुर्घटनामा रोल्पालीहरूले ज्यान गुमाइरहेको अध्यक्ष स्वीकार्छन् ।
दशवर्षे लामो संघर्ष, शान्तिप्रक्रियापछि स्थापना भएको लोकतन्त्रले के परिवर्तनको आभास गर्न पाइएको छ त ? प्रसादको जवाफ छ, ‘मुट्ठीभरका लागि लोकतन्त्र आयो । युद्ध लड्यौं । अंगभंग भयौं । तर, हामीलाई बिहान दिउँसो उही पाखुरा ठटाउँदै ठीक छ ।’ कम्युनिस्ट लालकिल्ला भनेर चिनिएको थवाङबाट रोल्पा मजदुरी गर्न आएका पूर्णबहादुर बुढा आफूलाई अहिले ‘बाहिरको माहोल’ बुझ्ने फुर्सदसमेत नहुने बताउँछन् । ‘हामी अहिले पनि त्यही काम गरेर खाने हो । बाहिर के हुँदैछ । के दिवस हो ? के हो ? अहिले त वास्तै लाग्न छाड्यो’, उनी भन्छन् ।
प्रत्यक्ष जनयुद्धमा लागेर पोखरा आइपुगेका कतिपय रोल्पालीलाई गणतन्त्रको अनुभूति त परै जावोस्, अर्थसमेत थाहा छैन । आफूहरू लडेको भए पनि अहिले केका लागि भन्ने नै बिर्सिसकेको उनीहरू बताउँछन् । रोल्पाबाट पोखरा आएका मजदुरलाई कामकै पिरलो छ । ‘उहिले त्रासमा बाँचियो । लोकतन्त्र पछि पनि हामीलाई कामकै पिरलो, ज्यालाकै पिरलो हुन्छ’, पोखराको एक दोहोरी साँझमा काम गरिरहेका जेलबाङका रमेश बुढामगरको गुनासो छ । समय अहिले धेरै अगाडि बढिसकेको छ । २०६२/६३ को जनआन्दोलन सफल भएर देशमा लोकतन्त्र आएको पनि १५ वर्ष पुग्यो । तर, जनताले भोग्नुपर्ने नियति भने फेरिएको छैन । ‘उहिले पनि कामका लागि साहुहरूलाई जी–हजुरी गर्नुपर्थ्यो । अहिले पनि त्यही छ । गणतन्त्र आएर पनि के फरक छ र ?’ रमेश विक गुनासो गर्छन्, ‘महँगी बढ्याबढ्यै छ । छरछिमेकमा विभेद उस्तै छ ।
गणतन्त्र स्थापनापछि केही नभएको भने होइन । प्रसादको बुझाइमा व्यवस्थामा ठूलो परिवर्तन आइसकेको र नीतिगत तह भ्रष्ट हुँदा मात्रै व्यवस्थामाथि प्रश्न उठेको हो । ‘पहिले कहाँ बोल्न पाइन्थ्यो र ? अहिले पाइन्छ । संघीयता आयो । विकास पनि थुप्रै भयो । सही बेलाको क्रान्ति थियो त्यो,’ उनी भन्छन्, ‘केही नेताहरू बिग्रिए भन्दैमा व्यवस्थाप्रति नै प्रश्न उठाउनु पनि गलत हो ।
