काठमाडौँ– दश महिनापछि आजदेखि मेलम्चीको पानी पुनः काठमाडौँबासीको घर–घरमा वितरण सुरु हुँदैछ ।
गत २०७८ साल असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त तुल्याएपछि उपत्यकाका बासिन्दाले मेलम्चीको पानी उपभोग गर्न पाएका थिएनन् । गत वर्ष आयोजना सञ्चालन भएको केही समयमै बाढीले क्षति पुर्याएको थियो ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले आज बिहान ९ बजे नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेपछि घर–घरमा पानी वितरण हुनेछ ।
नेपाल सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना गत चैत मसान्तभित्र सञ्चालन गर्ने घोषणा गरेको थियो ।
झण्डै तीन दशक अघि पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईले उपत्यकाबासीलाई मेलम्चीको पानी उपलब्ध गराउने भनी देख्नू भएको सपना अब पूरा हुने भएको छ ।
मन्त्रालयले आयोजनाको सफाइ र मर्मतको काम सम्पन्न गरी गत २०७८ चैत २९ गते काठमाडौँतर्फ पानी पुनः पथान्तरण गरेको थियो ।
मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउनेछ । तर यो काठमाडौँका लागि पर्याप्त हुँदैन ।
मेलम्चीको सुरुङमार्ग प्रयोग गरी याङग्री र लार्केखोलाबाट दैनिक थप ३४ करोड लिटर पानी काठमाडौँ ल्याउने योजनाबारे दार्त निकाय, विज्ञ, तथा सरोकारवाला निकायसँग परामर्श भइरहेको मन्त्रालयले जनाएको छ ।