पूर्व च्याम्पियनहरु पन्नाकाजी शाक्य, सुरेन्द्र सुवाल, कविन सुवाल, नवीन सुवाललगायतका खेलाडीहरु उत्पादन गरिसकेको एभीएम स्कुल नेपाली टीटीको खेलाडी उत्पादनमा तीन शतकदेखि नै अग्रणी भूमिकामा छ । ‘२०५९ सालमा म राष्ट्रिय खेलाडी भइसकेको थिएँ । नवीन सुवाल गुरुकै आग्रहमा मैले एभीएम स्कुलमा प्रशिक्षण सुरु गरेको हुँ,’ बज्राचार्यले स्मरण गरे, ‘२०६३ सालदेखि हामीले यसलाई क्लबको रुपमा स्थापना गरेका हौं । अहिले एभीएम टीटी क्लबको नामबाट प्रतियोगिता खेल्छौं ।’
बज्राचार्यले लामो समय राष्ट्रिय टोलीबाट खेले । साथै एभीएममा आफूले ब्याट समाउन सिकाएकाहरु जुनियर राष्ट्रिय टोलीमा पर्न थालेपछि हौसला बढ्यो । २० वर्षदेखि निरन्तर एभीएम टीटी क्लबको उत्थानमा लागेका उनी भन्छन्, ‘यो मेरा लागि दोस्रो घरजस्तै हो । भाइबहिनीको सफलता नै मेरो खुसी हो ।’

अहिले एभीएममा दैनिक तीन सिफ्टमा झण्डै चार दर्जन बालबालिकाले प्रशिक्षण गर्छन् । यू–१० देखि सिनियर खेलाडीलाई नियमित प्रशिक्षणको सुविधा छ । क्लबमा ९० प्रतिशत एभीएमकै विद्यार्थी छन् । ‘विहानको समयमा बाहिरका खेलाडीलाई पनि प्रशिक्षण सुविधा उपलब्ध गराउँछौं । बाँकी समय हाम्रै खेलाडी हुन्छन् । उनीहरुले चाहेजति समय खेल्न पाउँछन्,’ प्रशिक्षक बज्राचार्यले भने ।
साढे दुई दशकको खेलाडी करिअरमा पुरुषोत्तम एकपल्ट पनि राष्ट्रिय च्याम्पियन बन्न सकेनन् । पूरा नभएको आफ्नो सपना अब आफ्नै चेला–चेलीमार्फत पूरा गर्न चाहेका छन् । ‘हाम्रो पुस्ता नै त्यस्तो हो कि म अभागी हो, कहिल्यै राष्ट्रिय च्याम्पियन बन्न सकिनँ । मेरो अबको लक्ष्य भनेको मैले उत्पादन गरेका खेलाडी राष्ट्रिय च्याम्पियन बनेको हेर्न मन छ,’ पाटनका बज्राचार्यले भने, ‘खेलाडी उत्पादन निरन्तर गराइराख्ने सोच हो ।’
अघिल्लो साता एभीएम टीटी क्लब पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा ८ स्वर्णसहित टिम च्याम्पियन बन्यो । एभीएमकी उत्पादन सिक्का सुवालले पहिलोपल्ट महिला एकलतर्फ स्वर्ण पदक जितिन् । यो प्रतियोगितामा एभीएम क्लब च्याम्पियन बनेको लगातार चौथोपल्ट हो ।

अहिले राष्ट्रिय टोलीमा एभीएम क्लबमा खेल्न सिकेकाहरु सिक्का, दीक्षा तामाङ र संयोग कपाली सिनियरतर्फ प्रतिनिधित्व गर्छन् । जुनियर यू–१८ मा रुविन महर्जन, सुजन गदाल, विशाल गोले छन् । यू–१५ क्याडेटमा इभाना थापा र वियान्का राईले भविष्यका लागि तयार गरिरहेका छन् । १३ वर्षीया इभाना गत सेप्टेम्बरमा कतारमा आयोजित २५औं एसियन टीटी च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिसकेकी छन् । राष्ट्रिय प्रतियोगिता नखेली सिधै अन्तर्राष्ट्रिय एक्स्पोजर पाएकी इभाना सो प्रतियोगिताकै कान्छी खेलाडी हुन् ।
स्वीस प्रशिक्षकको आगमनपछि फेरिएको स्वरुप
परम्परागत काठको बोर्ड र कंक्रिटको संरचनामा टीटी खेल्न सुरु गरेको एभीएममा राम्रा प्रतिभा उत्पादन हुन थालेपछि स्कुल हाताभित्रै टीटी हल निर्माण भएको धेरै भएको छैन । अहिले खेलाडीहरुले सुविधासम्पन्न हल, अत्याधुनिक बोर्ड र खेल सामग्री पाएका छन् ।

बज्राचार्यले यसले सम्पूर्ण श्रेय स्वीस प्रशिक्षक पावेल रेहोरेकलाई दिन्छन् । स्वीटजरल्याण्डको राष्ट्रिय महिला टोलीका प्रशिक्षक पावेल ट्रेकिङका लागि नेपाल आइरहन्थे । सन् २०१७ मा नेपाल आएको समयमा एभीएम टीटी क्लबसँग सम्पर्क स्थापित हुनुकै नतिजा अहिलेको स्वरुप हो ।
‘उहाँ हाम्रा लागि भगवान बनेर आउनुभयो । एभीएम टीटी क्लबको अहिलेको संरचना जे छ सबै उहाँकै देन हो,’ बज्राचार्य भन्छन्, ‘उहाँ हरेक वर्षजसो नेपाल आउनुहुन्छ । एक महिनाको समयमा २० दिन ट्रेकिङ जानुहुन्छ, १० दिन हामीलाई प्रशिक्षण दिनुहुन्छ ।’
एभीएममा त्यतिबेला परम्परागत बोर्डहरु थिए । स्कुलकै हलमा प्रशिक्षण हुने गरेको थियो । खेलाडीको मिहिनेत र प्रतिभा देखेर पावेलले ४ लाख रुपैयाँ सहयोग गरे । विद्यालयले आफ्नै हाताभित्र हल बनाइदिने भयो । विद्यालयकै भूपू विद्यार्थीले थप दुई लाख सहयोग गरे । पावेल र भूपू विद्यार्थीको सहयोगले ६ वटा आधुनिक बोर्ड, ब्याट र बल फाल्ने मेसिन आयो । कोरोना महामारी सुरु हुनुअघिको एक वर्षभित्र हल र खेल सामग्री तयार भयो ।
‘संरचना र बोर्ड तयार भएपछि उहाँ आएर फेरि प्रशिक्षण दिनुभयो । प्रशिक्षक पावेलले फर्केर फेरि पैसा पठाइदिनुभयो र त्यसले म्यान बिछ्याउन सक्यौं,’ बज्राचार्य भन्छन्, ‘यति भएपछि हामीले लकडाउनको समयमा पनि प्रशिक्षणलाई निरन्तरता दिन पायौं । इभाना एसियन च्याम्पियनसिपमा छनोट हुन त्यही अभ्यासले सहयोग गर्यो ।’

राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने क्लबका लागि सहयोग गरेकोमा पावेलले आफ्नो देशमा एउटा अन्तर्राष्ट्रिय अवार्ड पाए । पुरस्कारबापतको ३२ लाख रुपैयाँ उनले एभीएमकै लागि पठाइदिए । त्यो रकमले खेलाडीको चेन्जिङ रुम, फिटनेस कक्ष, हलको फल्स सिलिङ र बत्ती जडान सम्भव भयो ।
‘अहिले क्लबले पूर्णता पाएको छ । केटाकेटीले सुविधासम्पन्न प्रशिक्षण गर्न पाएका छन्,’ बज्रचार्यले भने, ‘एकजनाको चाहनाले छोटो समयमै ठूलो परिवर्तन गर्न सक्यौं ।’
पूरा हुन नसकेका दुई योजना
नेपालको खेलकुदमा व्यावसायिकीकरणको नारा र खेलाडीको नियतीको भुक्तभोगी हुन् बज्राचार्य । आफूले खेल्दाको कठिन परिस्थिति भावी पुस्ताले व्यहोर्न नपरोस् भनेर उनी चिन्तित छन् । तर, प्रयासहरु सफल भइरहेका छैनन् ।

‘मैले खेलाडीहरुलाई राम्रो खेल्नका लागि प्रेरित गर्नसक्छु । उनीहरुको भविष्यको ग्यारेन्टी गर्न त सक्दिनँ । अझै पनि धेरै अभिभावकहरु आफ्ना छोराछोरी खेलकुदमा लागेको हेर्न रुचाउँदैनन् । किनभने खेलाडी हुनु भनेको जीवनभर आर्थिक कठिनाइबाट गुज्रिनु हो भन्ने उनीहरुको मान्यता छ,’ एपीएफ क्लबबाट टीटी खेलेका बज्राचार्यले भने ।
कर्पोरेटहरुसँग सम्बन्ध बढाएर प्रायोजनको व्यवस्था गर्न सकिए खेलाडीमा आर्थिक भार कम हुने उनको अनुभव छ । एभीएम स्कुलले नै पहल लिएर कर्पोरेटसँग सम्बन्ध बढाइदिए हुन्थ्यो भन्ने उनले चाहना व्यक्त गरे । ‘यसबारे विद्यालय प्रशासनमा पनि प्रस्ताव लाने सोचिरहेको छु,’ उनले भने ।
नेपालको महिला भलिबलमा न्यू डायमण्ड एकेडेमी सबैभन्दा चर्चित र महत्वपूर्ण निकाय हो । खेलाडी उत्पादन र प्रतियोगिताको सफलतामा उनीहरु सबैका लागि प्रेरणा बनिरहेका छन् । एभीएम क्लबलाई पनि टीटीमा न्यु डायमण्डजस्तै बनाउने लक्ष्य बज्राचार्यको छ । त्यसका लागि केही प्राविधिक समस्या देखिन थालेका छन् । राष्ट्रिय प्रतियोगितामा क्लबको नामबाट सहभागी हुन पाइँदैन । राष्ट्रियस्तरका प्रतियोगितामा पनि एभीएम बन्चित हुन थालेपछि बज्राचार्य निराश छन् ।
राष्ट्रिय प्रतियोगितामा सहजताका लागि एभीएमकी खेलाडी सिक्काले केही समययता एपीएफ क्लबबाट खेल्न थालेकी छन् । इभाना र वियान्का पनि एपीएफमै खेल्छन् ।
तस्वीर : जन प्रहार
