काठमाडाैँ । मुलुककाे सबैभन्दा ठूलाे दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कमल थापाले नेतृत्व गरेकाे राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल र एकनाथ ढकालले नेतृत्व गरेकाे नेपाल परिवार दलसँग चुनावी गठबन्धन गरेकाे छ । सहमतिअनुरूप यी दुवै दल आसन्न स्थानीय तहकाे निर्वाचनमा एमालेकै चुनाव चिह्न सूर्य लिएर हाेमिने छन् ।यसबीचमा एमाले नेताहरूले चुनावी गठबन्धन नगर्ने दाेहाेर्याउँदै आएका थिए । तर, बुधबार (आज) भने त्यही एमालेले २ दल राप्रपा, नेपाल र परिवार दलसँग चुनावी गठबन्धन गर्याे ।
केही समयअगाडि एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनलाई एक्लैले ‘पाँच दिन नउठ्नेगरी पछार्ने’ बताएका थिए । तर, किन फेरि गठबन्धन गर्नुपरेकाे ? भन्ने प्रश्नमा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले भनेका छन्, ‘हामी सिर्फ मिल्न सकिने दलहरूबीच एकता गरेर जाउँ, देश समृद्धिकाे अभियानमा जुटाैँ भन्ने सन्देश प्रवाह गरेका हाैँ ।
थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फुटाएर राप्रपा, नेपाल गठन गरेका हुन् । गत मंसिरमा भएकाे महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्ष पदमा पराजित भएपछि थापाले नयाँ दल गठन गरेका हुन् । उनले तीव्र रूपमा पार्टी कमिटीहरूकाे काम गरेकाे र एमालेसँग तालमेल गर्नयाेग्य पार्टी बनाएकाे नेताहरूले बताउँदै आएका छन् । एक नेताले भनेका छन्, ‘एमालेसँग तालमेल हुँदा हामी खुसी नै छाैँ । हाम्राे अध्यक्षज्यूले चाँडै पार्टी निर्माण गर्नुभएकाे छ । अब याे चुनावबाट हामी शक्तिमा चढ्छाैँ । हामीले कमसेकम एमालेसँग तालमेल गर्नसक्ने पार्टी बनायाैँ ।
नेपाल परिवार दलले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, संविधान सुधार आयोग गठनलगायतका मुद्दाहरूलाई मुख्य एजेन्डा मान्दै आएकाे छ । राप्रपा, नेपालले पनि विषयबारे बाेल्न शुरू गरेकाे छ । मंगलबार काठमाडाैँमा आयाेजित एक कार्यक्रममा अध्यक्ष थापाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखकाे पक्षमा रहेकाे बताएका थिए । यसकारण पनि आफूहरूलाई चुनावी तालमेल गर्न सजिलाे भएका ती नेताहरूकाे भनाइ छ ।
ती नेताकाअनुसार राप्रपा र परिवार दलबीच पनि सहयाेग गरागर हुने छ ।
- एमाले-परिवार दलबीच पनि गठबन्धन, सूर्यबाटै चुनाव लड्ने
एमाले-राप्रपा नेपालबीच गठबन्धन, सूर्यबाटै चुनाव लड्ने
यसैबीच जन प्रहारले उपाध्यक्ष नेम्वाङ्गलाई यी दुई दलसँगकाे तालमेलले कति शक्ति बढाउँछ ? भनेर साेधेकाे थियाे । नेम्वाङ्गले जवाफमा भनेका छन्, ‘एमाले एक्लै पनि भिड्न सक्ने दल हाे । तर, पनि मिलेर जान सक्ने दलहरूबीच मिल्दा केही पनि हुँदैन भनेर हाे । यसले एमालेकाे राजनीतिक शक्ति बढाउँछ भन्ने हामीलाई लागेकाे छैन । मिल्दा उहाँहरूलाई पनि हुने र हाम्राे सूर्यकाे पनि सदुपयाेग हुने भनेर हाे ।
राप्रपा, नेपाल र परिवार दल पनि संविधान निर्माणकाे कार्यमा जुटेकाे र अहिले फेरि त्यही सहकार्यलाई निरन्तरता दिनेगरी चुनावी तालमेल गरेकाे उनी बताउँछन् । ‘हाम्राे राजनीतिक सिद्धान्त फरक हाेलान्,’ उनले भनेका छन्, ‘तर संविधान बनाउने क्रममा हामी सबैले याेगदान दिएका छाैँ । उहाँहरूले पनि ठूलाे राेल गर्नुभएकाे छ । यसकारण पनि हामीलाई चुनावी तालमेल गर्न सजिलाे भयाे ।
एजेन्डा नै नमिल्नेसँग चुनावकाे मुखमा तालमेल गर्न बढी ‘चरम् अवसरवाद’ भन्छन् नि ? भन्ने प्रश्नमा नेम्वाङ्गकाे जवाफ थियाे— ‘कस्ता-कस्ता दलहरू त एकठाउँमा छन् निर्वाचनकै लागि भनेर । हामी त काे हाैँ र मिल्दा नहुने । हाम्राे एजेन्डा नै पनि मिल्छ कुनै कुनै ।’ पाँचदलीय गठबन्धनतर्फ इङ्गित गर्दै उनले थपेका छन्, ‘भुत्लाेभाङ केही नमिल्ने दलहरू एकठाउँमा छन् । हामीले त याे गठबन्धन याे चुनावकै लागि मात्रै भनेका छाैँ ।
पाँचदलीय गठबन्धनसँग डराएर भने आफूहरूले राप्रपा, नेपाल र परिवार दलसँग चुनावी तालमेल नगरेकाे नेम्वाङ्ग बताउँछन् । ‘हामी डराएका हाेइन पाँचदलीय गठबन्धनसँग,’ उनले भने, ‘मैले भनिहालेँ; मिल्न सकिने दलहरूसँग मिलाैँ भनेर हामी गठबन्धनमा गएका हाैँ ।
