काठमाडाैँ । विवादकाबीच निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दलहरूबाट प्रतिबद्धता लिएको छ ।
सोमबार आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरूलाई बोलाएर आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता लिएको हो । त्यसअघि निर्वाचनमा आचारसंहिताको छलफलमा भाग लिन नपाएको भन्दै साना दलहरूले नाराबाजी गरेका थिए ।
आचारसंहितामाथि छलफल नै नगराइ प्रतिबद्धतामा हस्ताक्षर गराउन खोजेको भन्दै उनीहरूले आपत्ती जनाएका थिए । पछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उक्त बिषय नियमित प्रक्रियामात्र भएको बताएपछि साना दलहरूले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।
हस्ताक्षरपछि कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिबद्धता लिने पुरानै अभ्यास रहेको र आयोगले यसपटक पनि आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता लिएको जानकारी दिए । साना दलहरूले अघि सारेको विषयमा आयोगले प्रष्ट पारेको र अब कुनै विवाद नरहेको उनले बताए ।
त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव बेदुराम भुषालले छलफल नै नगराई आचारसंहिता बनाइएको र हस्ताक्षर गर्नमात्र बोलाइएकोमा केहि दलले आपत्ति जनाएको जानकारी दिए । उनले आचारसंहितालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।
त्यस्तै नेमकिपाका नेता प्रेम सुवालले आचारसंहिता पालना गर्ने गराउने बिषय राम्रो भएपनि सरकारमा रहेका दलहरूले आचारसंहिता पालना नगरेको बिषयमा आयोगको ध्यान जानुपर्ने बताए ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा राजनीतिक दलहको प्रतिबद्धता लिइएको बताए । यस क्रममा केहि गलत बुझाइ रहेको र आयोगले स्पष्ट पारेपछि सवै दलले हस्ताक्षर गरेको उनले जानकारी दिए ।
आयोगले निर्वाचन आचारसंहितामा निर्माणका क्रममा प्रमुख दलसँग छलफल गरेको छ । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते तोकिएको छ ।
