तर नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, सिमेन्ट उद्योग संघ, स्टिल उत्पादक संघ लगायतका संघ संगठनले तोकिएको मूल्यमा नियमित विद्युत् आपूर्तिको दायित्व प्राधिकरणको हुने भएकाले दायित्व बोक्न नसक्ने जवाफ दिएका थिए । अहिले करिब ३० प्रतिशत बिजुलीको माग आयातबाटै धान्नुपर्छ । अहिले दैनिक ३१ हजार मेगावाट आवर बिजुलीको माग रहेकोमा १२ हजार मेगावाट आवर विजुलीमा भारतको भर छ ।
यही बेलामा भारतीय बजारमा बिजुलीको मूल्य महँगिएको छ । विद्युत प्राधिकरणका अधिकारीहरुका अनुसार ‘बिड’ (बोलकबोल) नपर्दा गत मंगलबारबाटै पर्याप्त बिजुली आयात गर्न समस्या परिसकेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यसलाई विद्युत आपूर्तिमा केही समय आएको संकट भन्दै आएका छन् । सुख्खा मौसममा आन्तरिक उत्पादनले माग थेग्न नसकेपछि भारतबाट विजुली आयात गरेको तर भारतमा मूल्य उच्च भएकाले खरिद नगर्दा समस्या देखिएको प्राधिकरणको दावी छ ।
यो केही दिनको मात्र समस्या भन्दै कुलमानले गत हप्ता गरेको पत्रकार सम्मेलनमा भनेका थिए, ‘यो केही दिनको क्राइसिस हो, १५-२० वर्षपछि आएको क्राइसिस हो, अहिले पनि हामी लोड बढाउने नै हो, लोडसेडिङ हुँदैन, कारणबस तामाकोशी आयोजना चल्न नसक्दा आउने संकटजस्तै हो ।’
