ब्याटमिन्टन खेलतर्फ
हेटौंडामा भएको ब्याटमिन्टन प्रतियोगितामा चितवन र ललितपुर फाइनल प्रवेश गरेका छन् । सोमबार विहान भएको क्वार्टरफाइनल र सेमिफाइनल दुबै खेल जित्दै चितवन र ललितपुर फाइनल प्रवेश गरेको हो । चितवनले सिन्धुलीलाई ३–० र ललितपुरले धादिङलाई ३–० अंकले पराजित गर्दै फाइनल प्रवेश गरेको ब्याटमिन्टन अफिसियल राम विनय श्रेष्ठले बताए । पुरुषतर्फको फाइनल मंगलबार हुनेछ । महिलातर्फ भने धादिङ र सिन्धुपाल्चोक फाइनल प्रवेश गरेका छन् । सेमिफाइनलमा धादिङले ललितपुरलाई ३–२ अंकले र सिन्धुपाल्चोकले नुवाकोटलाई ३–२ अंकले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
क्रिकेटमा काठमाडौंको विजयी सुरुवात
चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको महिलातर्फको खेलमा काठमाडौं विजयी भएको छ । टस जितेर ब्याटिङ गरेको भक्तपुरले १७ दशमलब ३ ओभर खेलेर ४१ रन बनाएको थियो । काठमाडौंले बिना विकेटको क्षतिमा २.३ ओभरमा लक्ष्य पूरा गरेको थियो । त्यस्तै दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २ विकेट गुमाएर १८३ रन बनाएको थियो । १८४ रनको लक्ष्य पछ्याएको चितवन १७.१ ओभरमा ६१ रनमा अलआउट भयो । मंगलबार चितवन र भक्तपुरबीच खेल हुनेछ । महिला क्रिकेटतर्फ तीन जिल्लाले मात्र सहभागिता जनाएको खेल संयोजक प्रेमबहादुर क्षेत्रीले बताए । पुरुष तर्फको खेल भने २ चैतदेखि हुनेछ ।
भलिबल खेल चितवनमा सुरु
प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत सोमबारदेखि चितवनको माडी खेलकुद मैदानमा भलिबल खेल सुरु भएको छ । मकवानपुरमा ५ चैतदेखि तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । सिन्धुपाल्चोकमा ७ चैतदेखि कराँते खेल हुनेछ भने काठमाडौंमा ६ चैतदेखि एथ्लेटिक्स प्रतियोगिता हुने परिषदले जनाएको छ । त्यस्तै, काभ्रेमा ७ चैतदेखि महिला फुटबल र ९ गतेदेखि बक्सिङ खेल प्रतियोगिता हुनेछ ।
