Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वीरगञ्जका मेयर : कांग्रेसमा जान चाहन्थे, एमाले प्रवेश गरे


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २८ २०७८
  • 6.4K
    SHARES

©नेत्र बहादुर कार्की 

काठमाडौं । जनप्रतिनिधिका रुपमा गरेको कामबाट वीरगञ्ज महानगरपालिकाका मेयर विजय सराबगीले जति समर्थक जुटाएका छन्, आलोचक पनि त्यति नै बढाएका छन् । चुनाव जितेयता पार्टी लाइनअनुसार काम नगरेको भन्दै आफ्नै पार्टी जनता समाजवादी पार्टीका नेताहरु समेत असन्तुष्ट थिए ।

एकातिर पार्टीले दोहोर्‍याएर टिकट दिने नदिने अनिश्चित, दिइहालेपनि जित्न कठिन छ भन्ने बुझेका उनी यो पटक पार्टी परिर्वतन गर्न चाहन्थे । ताकी फेरि मेयर बन्न सहज होस् । सराबगी शनिबार नेकपा एमालेमा प्रवेश गरे । वीरगञ्ज पुगेका एमाले अध्यक्ष ओलीले उनलाई पार्टी प्रवेश गराए ।

सराबगीको चाहना नेपाली कांग्रेसमा प्रवेश गर्ने थियो । विद्यार्थी जीवनमा नेविसंघको राजनीति गरेको र शेरबहादुर देउवाले कांग्रेस प्रजातान्त्रिक गठन गर्दा साथ दिएको नाता पनि थियो । त्यसैले करिव तीन महिनाअघि प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवालाई भेटेर पार्टी प्रवेश गर्न चाहेको बताएका थिए ।

देउवाले आफू निकट केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य रमेश रिजाललाई भेट्न सुझाए । सराबगीले पर्साका नेता रिजाललाई भेटेर कुराकानी पनि गरे । तर मेयरको टिकट पनि दिनुपर्ने भएकाले रिजालले पार्टीका अरु नेताहरुको राय बुझे ।

नेताहरुले ‘साह्रै अनपपुलर छ, उनलाई पार्टीमा ल्याएर बद्नामी बोक्नु हुँदैन, छोडिदिनुस्’ भनेपछि आफूले धेरै चासो देखाएको कांग्रेस नेता रिजाल बताउँछन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा मेयरमा निर्वाचित सराबगीले १९ हजार ३९३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अजय द्विवेदीले १९ हजार १९७ मत पाएका थिए । अर्थात सराबगीसँग करिब दुई सय मतले कांग्रेसका उम्मेदवार पराजित भएका थिए ।

तर उपमेयरमा भने नेपाली कांग्रेसकी उम्मेदवार शान्ति कार्की निर्वाचित भएकी थिइन् र उनले मेयर सराबगीले भन्दा पनि बढी मत पाएकी थिइन् । कार्कीले त १९ हजार ६०७ मत पाउँदा उनकी निकटतम प्रतिद्वन्द्वी तत्कालिन समाजवादी फोरमकी पिंकी यादवले १८ हजार पाँच सय ३० मत पाएकी थिइन् ।

त्यसैले सराबगी एमालेमा जाँदा जसपाको भोट घट्ने र आफूलाई सहज हुने कांग्रेसको विश्वास छ । कांग्रेसले भाउ नदिएपछि सराबगी एमालेतिर लागे । पूर्वमन्त्री एवं उद्योगी मोती दुगडमार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीसम्म पार्टी प्रवेशको प्रस्ताव पुर्‍याए ।

२०७४ को स्थानीय तह चुनावमा वीरगञ्ज महानगरमा पाँचौं भएको एमालेले मेयरले नै पार्टी प्रवेश गर्छु भन्दा अस्वीकार गर्ने कुरै भएन । व्यापारी समेत रहेका सराबगीका कारण जति भोट थपिन्छ, त्यो उसका लागि लाभ नै हो ।

अघिल्लो साता काठमाडौं आउँदा आफूलाई भेटेर एमाले आउने पक्का गरेका मेयर सराबगीलाई पार्टी प्रवेश गराउन ओली शनिबार वीरगञ्ज पुगे । सराबगीले भनेका छन्, ‘म अर्कै पार्टीमा गइसकेको थिए । पूर्वमन्त्री मोती दुगडजीले बीच बाटोमै समातेर ओलीजीसँग भेटाइदिनुभयो । त्यसपछि एमालेमा आएँ ।’

जसपा नेताहरुलाई सराबगीले पार्टी छाड्दैछन् भन्ने थाहा नभएको होइन । तर मेयरमा निर्वाचित भएदेखि नै पार्टीलाई सहयोग नगरेको र जनप्रतिनिधिको रुपमा गरेको काम पनि सन्तोषजनक नभएकाले रोक्न प्रयास नगरेको पर्साका जसपा नेता प्रदीप यादव बताउँछन् ।

  • तीन ‘खेलाडी’ एमालेमा

मेयर सराबगीको प्रवेशसँगै वीरगञ्जको राजनीतिका तीन खेलाडी एमालेमा भेला भएका छन् ।

एमालेले अघिल्लो स्थानीय चुनावमा मेयरको उम्मेदवार बनाएका नेशनल मेडिकल कलेजका सञ्चालकसमेत रहेका बसरुद्दिन अन्सारी अहिले पनि पार्टीमै छन् । तत्कालीन राजपाबाट मेयरमा प्रतिस्पर्धा गरेका राजेशमान सिंह एक महिना पहिले मात्र एमालेमा प्रवेश गरेका थिए ।

उनी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर २८ माघमा एमाले प्रवेश गरेका हुन् । उनी पनि वीरगञ्जको मेयरको उम्मेदवार बन्ने सहमतिमा एमाले प्रवेश गरेका उनी निकटहरु बताउँछन् । सराबगी थपिएपछि भने ३० वैशाखको चुनावमा अरु दलसँग लड्नुअघि टिकटकै लागि प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

एमाले नेताहरु भने सिंहलाई प्रदेशसभा सदस्य र सराबगीलाई मेयरमा उम्मेदवार बनाउने विकल्प देख्छन् । उनीहरुकाअनुसार जसपामा असन्तुष्ट रहेको प्रतिनिधिसभा सदस्य विमल श्रीवास्तवलाई पनि पार्टी प्रवेश गराउने प्रयास भइरहेको छ । त्यसो भएमा व्यक्तिगत भोट भएका तीन नेताको बलमा वीरगञ्जको चुनावी परिणाम आफ्नो पक्षमा पार्न सकिने नेताहरु बताउँछन् ।

ब्यापारिक घरानामा जन्मिएका विजयी सरावगी मेयर निर्वाचित हुनु अघिसम्म वीरगञ्जमा सफल उद्योगी ब्यवसायी थिए । उनी उद्योग वाणिज्य संघको अध्यक्ष समेत बनेका थिए ।

२०६३ को लोकतान्त्रिक आन्दोलनको बेला वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष थिए । पछि नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि बने । २०७४ सालको स्थानीय निर्वाचन हुनुभन्दा ६ महिनाअघि तत्कालिन संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४