© नमुना दहाल कार्की
काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागरेमा एक महिलाको शव फेला परेको छ । तरकारी खेती हुँदै आएको जग्गामा बनाइएको टिनको कच्ची टहराभित्र परालले छोपेको अवस्थामा अन्दाजी ३५/४० वर्षीया महिलाको शव फेला परेको हो ।
घाँटी अगाडि भागमा गहिरो चोट लागेको अर्धनग्न अवस्थामा महिलाको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी एवम् सूचना अधिकारी राजु पाण्डेले जन प्रहारलाई जानकारी दिए । ती महिलाको नाम ठेगाना भने अझै सम्म खुलेको छैन ।
टहरोमा शव रहेको जानकारी गएराति ९ः५० बजे पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक (एसपी) शिव कुमार श्रेष्ठको कमाण्डमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली घटनास्थलमा गएको थियो ।
सो प्रहरीको टोलीले घटनास्थल प्रकृति तथा लास जाँच मुचुल्का गरी पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोटमा पठाएको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जन प्रहारलाई बताएको छ ।
