उनीहरुले अवकाश पाएपछि हालका सिनियर सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याल, नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतममध्ये एक जनाले सशस्त्र प्रहरी बलको कमाण्ड सम्हाल्ने अवसर पाउनेछन् । र, तीन मध्ये जसले एआईजी बढुवामा बाजी मार्नेछन्, उनकै नेतृत्वमा सशस्त्र प्रहरी आसन्न चुनावमा खटिनेछ ।
प्रहरीमा विश्वराज र सहकुललाई चुनौती
नेपाल प्रहरीमा अहिलेका आईजीपीका ब्याचले अवकाश पाउँदा एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापा मात्र बाँकी रहन्छन् । प्रहरी नियमावली, २०७१ को नियम ४१ मा एआईजीमध्येबाट ‘सरकारले उपयुक्त देखेका उम्मेवारलाई प्रहरी महानिरीक्षक’मा बढुवा गर्न सक्ने भनिएको छ ।
तर, पोखरेल र थापा दुवैलाई पूर्ववर्ती ओली सरकारले ‘अस्वभाविक’रुपमा दरबन्दी थप गरेर बढुवा गरिदिएको थियो । पोखरेललाई भावी आईजीपीकोरुपमा सुरक्षित गराउन उनका नातेदार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलले २७ कात्तिकमा २०७७ मा एआईजीको दरबन्दी थप गराएका थिए । तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई समेत थाहै नदिइ एआईजीको दरबन्दी थप भएपछि संसदको राज्य व्यवस्था तथा सुशासन समिति पनि उजुरी परेको थियो ।
ओली सरकार अफ्ठ्यारोमा परेका बेला ओली निकट केही नेताहरुले विश्वराजको विकल्प बनाउने गरी थापालाई पनि दरबन्दी थप गरेर बढुवा गरिदिएका थिए । अहिले कांग्रेस नेतृत्वको सरकार बनेपछि पोखरेल र थापालाई चुनौति दिने गरी एआईजीको दरबन्दी थप गरिएको छ ।
सरकारले फागुन पहिलो साता एआईजीको तीन वटा दरबन्दी थप गरेर आईजीपीको प्रतिष्पर्धीकारुपमा पोखरेल र थापाको ब्याचका थप अधिकृतलाई पनि अघि बढाउन खोजेको प्रहरी प्रधान कार्यालय, नक्सालका एक उच्च अधिकृत बताउँछन् ।
ती अधिकृतका अनुसार थपिएको दरबन्दीमा वसन्तराज पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदीबीच प्रतिष्पर्धा छ । पन्त र कार्की हालका आईजीपी क्षेत्रीकै ब्याची हुन् । त्यसैले उनीहरुबाहेक जो एआईजीमा बढुवा भएपनि प्रहरीमा भावी आईजीपीका लागि दाबेदार बन्नेछन् ।
तर यसरी बढुवा हुनेका लागि पनि एक वर्ष पहिल्यै एमालेले एआईजी बनाएका दुई अधिकृत चुनौति बन्नेछन् । किनकि, प्रहरी नियमावलीमा ‘ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान नर्ग सक्ने कुशलता’ लगायतलाई आधार बनाएर आईजीपी बढुवाको निर्णय लिनुपर्ने भनिएको छ ।
पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी भन्छन्, ‘सरकारले जोसुकैलाई बढुवा गर्नसक्ने भए पनि पहिले बढुवा भएका अधिकृतको एआईजीका रुपमा अनुभव एक वर्षले बढी हुँदा कार्यदक्षता मूल्यांकनमा पनि चुनौति हुन्छ ।
चुनावका लागि सत्ता अनुकूल प्रहरी प्रमुखको खोजी
सशस्त्रमा एआईजी बढुवामा चासो
यदी केपी शर्मा ओली नेतृत्वको सरकारले २०७८ वैशाखमा एआईजीको एक वर्ष पदावधि थप नगरिदिएको भए, सशस्त्र प्रहरीका एआईजी पुष्पराम केसी र पौडेलले यतिबेला अवकाश पाइसकेको हुने थिए । र, हालका सिनियर डीआईजीमध्ये जो एआईजी हुन्थे, उनीहरु नै हालका आईजीपी शैलेन्द्र खनालको उत्तराधिकारी हुने थिएन ।
तर पूर्ववर्ती सरकारसँग निकट सम्बन्ध भएका कारण उनीहरुको पदावधि थप भएको थियो । केसी र पौडेल दुवै १९ वैशाख २०४९ मा नेपाल प्रहरीको निरीक्षकबाट सुरक्षा फौजमा भर्ना भएका अधिकृत हुन् ।
माओवादी द्वन्द्व चर्किँदै जाँदा तत्कालीन दरबारले सेना परिचालनमा सहयोग नगरेपछि सेना र प्रहरीबाट केही जनशक्ति ल्याएर २०५७ सालमा सशस्त्र प्रहरी बल गठन हुँदा उनीहरुले नेपाल प्रहरी छाडेका थिए ।
हाल केसी सशस्त्र प्रहरी बलको कार्य तथा सीमा विभागको प्रमुखको रुपमा कार्यरत छन् भने पौडेल मानवस्रोत तथा प्रशासन विभागमा प्रमुखका रुपमा कार्यरत छन् ।
उनीहरुमध्ये जो आईजीपी भए पनि २१ दिन मात्र संगठनको नेतृत्व गर्नेछन् । त्यसैले उनीहरुपछि सशस्त्र प्रहरीको नेतृत्वमा को आउलान् भन्ने चासो अझ बढी छ ।
केसी र पौडेलमध्ये एक जना सशस्त्र प्रहरीको महानिरीक्षकमा नियुक्त भएसँगै सशस्त्र प्रहरी बलमा एक जना एआईजीको दरबन्दी रिक्त हुनेछ । त्यतिबेला डीआईजी राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतममध्ये एक जना एआईजीमा बढुवा हुनेछन् ।
उनीहरुमध्ये जो एआईजी बन्नेछन्, उनैले सशस्त्र प्रहरी बलको नेतृत्व गर्ने अवसर पाउनेछन् । त्यही कारण छोटो अवधिका लागि बन्न लागेको महानिरीक्षकभन्दा त्यसपछि को एआईजी बन्ने चासो सशस्त्र प्रहरी बलको मुख्यालयमा बढी छ ।
अर्याल र पौडेलले १८ चैत २०५४ मा नेपाल प्रहरीमा निरीक्षकका रुपमा सेवा थालेका थिए । उनीहरुमध्ये जो आईजीपी बने पनि चार वर्षसम्म संगठनको नेतृत्व गर्नेछन् । तर नेपाली सेनाको क्याप्टेनबाट ३ वैशाख २०५२ मा सेवा प्रवेश गरेका गौतम आईजीपी भए पनि पूरा कार्यकाल संगठन हाँक्न पाउने छैनन् ।
यदी अर्याल आईजीपी भए पनि ३० वर्षे अवधिका कारण पौडेल अझै संगठनमा रहनेछन् । र, उनले त्यसपछि पनि थप दुई वर्ष सशस्त्र प्रहरीको नेतृत्व गर्ने अवसर पाउन सक्नेछन् ।
