काठमाडौं, । नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।
संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको जानकारी दिनुभयो ।सचेतक भुसालले बिहीबारको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल नै निर्णायक बन्न सक्ने भएकाले सांसदलाई अनिवार्य उपस्थित हुन भनिएको बताउनुभयो ।
हाल प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका ६३ जना सांसद छन् । तीमध्ये दुईजना निलम्बित छन् । सांसद प्रदीप गिरी उपचारका क्रममा भारतमा हुनुहुन्छ । सत्तारुढ प्रमुख दल कांग्रेस संसदमा दोस्रो ठूलो शक्तिको रुपमा रहेको छ ।
संसदमा सबैभन्दा धेरै एमालेका ९७ जना सांसद छन् । एमालेले एमसीसीको सम्बन्धमा संसदमा पक्ष वा विपक्षमा उभिनेबारे स्पष्ट धारणा सार्वजनिक गरेको छैन । एमालेले आफ्नो माग सम्बोधन गरेमात्रै एमसीसीको विषयमा निर्णय गर्ने अडान राखेको छ ।