Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

त्रिविका अध्यापकमाथि आक्रमण गर्ने नेविसंघका नेताविरुद्धको मुद्दा फिर्ता लिने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २८ २०७८
  • 6.7K
    SHARES

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका अध्यापकमाथि आक्रमण गर्ने नेपाल विद्यार्थी संघका कार्यकर्ताविरुद्धको मुद्दा सरकारले फिर्ता लिने तयारी गरेको छ ।

समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने नेविसंघको त्रिवि क्याम्पस ईकाईका सभापति हरिप्रसाद आचार्य र सचिव योगेन्द्र रावलसहितका नेता कार्यकर्ताविरुद्धको ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता लिने तयारी भएको हो ।

मुद्दा फिर्ताको कानूनी प्रक्रिया पु¥याउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रारम्भिक प्रतिवेदन तयार गरी गृह मन्त्रालयमा पेश गरेको छ । २० असोज २०७७ मा उपप्राध्यापक चलाउनेमाथि त्रिभुवन विश्वविद्यालय परिसरमै आक्रमण भएको थियो । आक्रमणबाट उपप्राध्यापक चलाउनेको टाउको, छाती, घाँटी, तिघ्रामा चोट लागेको थियो । एक महिनाभन्दा लामो अस्पताल बसाइपछि उनी घर फर्किएका थिए ।

घटनामा आचार्य र रावल, दीपकराज ओझा, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगरविरुद्ध ज्यान मार्ने उद्योग गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालत काठमाडौंले आरोपितहरुलाई धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटीमा छाड्ने आदेश बदरको माग गर्दै अध्यापक चलाउनेले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

उच्च अदालत पाटनले उनीहरुलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो । अनि पीडितलाई एक लाख रुपैयाँका दरले तत्काल राहत दिनसमेत आदेश दिएको थियो । ज्यान मार्ने उद्योगको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन रहेको अवस्थामा गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पत्र पठाई मुद्दा फिर्ताको प्रतिवेदन तयार पार्न लगाएको थियो ।

त्यसपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको नेतृत्वमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका निमित्त प्रमुख लक्ष्मण घिमिरे र महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख सुदीप गिरी सदस्य रहेको समितिले मुद्दा फिर्ताको प्रतिवेदन तयार पारेको हो ।

सो मुद्दा फिर्ता लिन नेपाली कांग्रेस जिल्ला काठमाडौं जिल्ला समिति र नेविसंघको केन्द्रीय समितिले ५ माघ २०७८ मा गृह मन्त्रालयमा मुद्दा फिर्ताको निवेदन दिएको थियो ।

गृह मन्त्रालय स्रोतबाट प्राप्त १२ माघ २०७८ मा तयार पारिएको प्रतिवेदनमा घटना हुुनुमा अध्यापक चलाउनेकै दोष देखाइएको छ । सिफारिसको व्यहोरामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा लगाएको ताल्चा पीडित प्रेमबहादुर चलाउनेले तोडेको विषयमा विवाद भई वारदात घटाएको अवस्था छ ।’ समाजशास्त्र विभागको प्रमुखको विषयमा विवाद हुँदा नेविसंघले तालाबन्दी गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा ११६ कोे व्यवस्था अनुसार मुद्दा फिर्ताको तयारी गरेको हो । तीन वर्षअघि सरकारले फौजदारी मुद्दा फिर्ता लिनेसम्बन्धी निर्देशिका जारी गरेको थियो । निर्देशिकाको बुँदा (३) मा ‘सार्वजनिक हित, शान्ति एवं व्यवस्थामा गम्भीर असर पर्न नदिन फिर्ता लिन उपयुक्त देखिएमा मुद्दा फिर्ता लिन सक्ने’ व्यवस्था छ ।

जिल्ला प्रशासन कार्यालयले गठन गरेको समितिले त्रिभुवन विश्वविद्यालयमा शिक्षा हासिल गर्ने र शान्ति सुरक्षामा गम्भीर असर परेको भन्दै मुद्दा फिर्ता लिएमा शान्ति सुरक्षा र अमनचयन कायम हुने उल्लेख गरेको छ । मुद्दा फिर्ता लिएमा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र आम नागरिकमा सकारात्मक प्रभाव पर्ने पनि सिफारिसपत्रमा उल्लेख छ ।

‘उक्त क्षेत्रको शान्ति र अमनचयन कायम गर्न सार्वजनिक हित, शान्ति एवं व्यवस्थामा गम्भीर असर पर्न नदिन त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, डिन एवं विभागीय प्रमुख व्यक्तिहरुको जिउ ज्यानको सुरक्षा भई’ सिफारिसको व्यहोरामा भनिएको छ, ‘पीडितलाई प्रचलित कानून बमोजिम क्षतिपूर्ति र राहत रकमसमेत उपलब्ध गराई मुद्दा फिर्ता लिने प्रयोजनार्थ राय साथ निर्णयका लागि श्री गृह मन्त्रालय सिंहदरबार पठाउने निर्णय गरियो ।’

गृह मन्त्रालयमा पुगेको प्रतिवेदन अघि बढाउन चाहेमा सरकारले मुद्दा फिर्ताको विषयमा महान्यायाधिवक्तासँग राय लिनुपर्छ । महान्यायाधिवक्ता कार्यालयबाट राय लिएपछि मन्त्रिपरिषदको निर्णयबाट मुद्दा फिर्ताको प्रक्रिया सुरु हुन्छ ।

महान्यायाधिवक्ता वा उनले तोकेको सरकारले वकिलको कार्यालयले प्रतिवेदनसहित मुद्दा फिर्ताका लागि जिल्ला अदालत काठमाडौंमा निवेदन दिनुपर्छ । अनि अदालतले आदेश दिएमा मात्रै मुद्दा फिर्ताको निर्णय हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४