Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मोरङको उखुबारी हत्याकाण्डमा जोडिएका थप २ जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ २२ २०७८
  • 6.6K
    SHARES

विराटनगर । मोरङ र ललितपुरमा तीन जनाको हत्या प्रकरणमा जोडिएका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

राजेन्द्रकुमार श्रेष्ठ, मोहन लिम्बु र सम्भुकुमार चौधरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार मोरङ रङ्गेली-३ आमतोलाका २२ वर्षीय मोहमद सुभाम र सुनसरी देवानगन्ज गाउँपालिका–६ जिरोगौवाका १८ वर्षीय मोहमद हकिम पक्राउ परेका हुन् ।

धनपालथान गाउँपालिका वडा नं-७ स्थित उखुबारीमा हत्या गरेर खाल्डो खनी गाडिएको अवस्थामा यही माघ १२ गते सप्तरीको शम्भुनाथ नगरपालिका-४ का शम्भुकुमार चौधरी र माघ १३ गते धरान-३ स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने राजेन्द्रकुमार श्रेष्ठको शव भेटिएको थियो । बिहीबार ललितपुरमा मोहन श्रेष्ठको शव फेला परेको थियो । कमिसनको चक्करमा तीन जनाको हत्यामा संलग्न  भएको आरोपमा प्रहरीले मुख्ययोजनाकार अनिल मण्डलसहित तीन जनालाई शुक्रबार सार्वजनिक गरेको थियो ।

पत्रकार सम्मेलन गरी सिरहा नगरपालिका-२१ स्थायी घर भई काठमाडौंको बल्खु बस्ने ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका-४ सिस्वनी घर भएका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका-७ कमलपुरका ६२ वर्षीय नासिर आलमलाई सार्वजनिक गरेको थियो । यीमध्ये मण्डल मुख्य आरोपी हुन् । अन्य उनका सहयोगीहरु हुन् ।

कारोबारको रकम एकलौटी बनाउने उद्देश्यले उनका साझेदारहरु राजेन्द्र कुमार श्रेष्ठ, शम्भु कुमार चौधरी र मोहन लिम्बुको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

मोरङको उखुबारी घटना पछ्याउँदा थेंचोमा भेटियो तेस्रो शव

काठमाडौं । ललितपुरको थेंचोमा खाल्डो खनेर गाडिएको अवस्थामा एक जनाको शव भेटिएको छ ।

गोदावरी नगरपालिका–१२, थेंचोस्थित एउटा घरको पछाडिपट्टि गाडिएको अवस्थामा तेह्रथुमका मोहन लिम्बुको शव भेटिएको हो । करिव ५ फिट गहिरो खाल्डोमा गाडिएको शव गलाउन २५/३० प्याकेट नुन समेत हालेको भेटिएको छ ।

 मोरङको धनपालथान गाउँपालिका–२ को उखुबारीमा गत माघ १३ र १४ गते दुई जनाको शव गाडिएको अवस्थामा भेटिएको थियो । सो घटनाको अनुसन्धानका क्रममा अपराध अनुसन्धान महाशाखाले अनिल मण्डललाई पक्राउ गरेको थियो ।

गोदावरी नगरपालिका–१२ कि वडासदस्य शोभा कार्कीका अनुसार यो घरमा लामो समय प्रि–प्राइमरी स्कुल थियो ।

तर लकडाउनपछि स्कुलले छाडेको यो घर अनिल मण्डलसहितको समूहले करिव ३ महिनाअघि भाडामा लिएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा खुलेअनुसार मोरङको धनपालथान गाउँपालिका–२ को उखुबारीमा गाडिएको अवस्थामा शव भेटिएका राजेन्द्रकुमार श्रेष्ठ र शम्भु चौधरीका साथै थेचोमा शव भेटिएका लिम्बुले अनिलसँग मिलेर जग्गा कारोबार गर्दै आएका थिए ।

लेनदेनकै विवादका क्रममा तीन जनाको हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ । प्रहरीका अनुसार अनिल मण्डल २८ मंसिरसम्म थेंचोमा देखिएका छन् । यहाँ लिम्बुको हत्या गरेर मोरङमा गएको र श्रेष्ठ र चौधरीको हत्या गरेको हुनसक्ने अनुसन्धान अधिकृतहरुको आशंका छ ।

लेनदेन मिलाउन हिंडेका थिए, उखुबारीमा शव भेटियो’

उनको बयानका आधारमा प्रहरीले थेंचोमा प्रमिश थापा मगरको घर पछाडि खोजी गर्दा गाडिएको अवस्थामा लिम्बुको शव फेला परेको एसएसपी बसन्तबहादुर कुँवरले जन न्युज नेपाल खबरलाई बताए । लिम्बुको घाँटीमा नाइलनको डोरी कसेर हत्या गरेको पाइएको छ ।

विराटनगर । मोरङको रंगेली–विराटनगर सडकखण्डको रामचोकबाट करिब चार किलोमिटर दक्षिणतर्फ लागेपछि पुगिन्छ कमलपुर गाउँ । यही गाउँको उत्तरतर्फ रहेको हनुमान चोकको मध्य भागतिर उखुबारी छ ।

धनपालथान गाउँपालिका-७ मा पर्ने यही ठाउँमा प्रहरीले उत्खनन गरेर दुई जना पुरुषको शव फेला पारेको छ ।

बुधबार दिउँसो उखु काट्न गएका किसानले भर्खरै खनिएको जस्तो लाग्ने खाल्डो र त्यसमा लतपतिएको रगत देखेपछि उखुधनी दिलिपप्रसाद सिंहलाई खबर गरेका थिए । उनले प्रहरी कन्ट्रोलको १०० मा फोन गरेर त्यसबारे जानकारी गराएका थिए ।

खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय, मोरङबाट पुगेको टोलीले खाल्डो उत्खनन गर्दा बुधबार राति अन्दाजी ३०/३५ वर्षको पुरुषको शव फेला पार्‍यो । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख एसपी जनार्दन जिसीका अनुसार बुधबार रात परिसकेकाले अर्को खाल्डो बिहीबार खन्ने गरी सुरक्षित राखियो ।

‘आज (बिहीबार) ३० मिटरको दूरीमा रहेको अर्को खाल्डो उत्खनन गर्दा अर्को शव भेटियो, त्यहाँ त कपडा र कपाल बाहिरैबाट देखिएको थियो’ जिसीले अनलाइनखबरसँग भने, ‘अर्को खाल्डोमा अन्दाजी ४५/५० वर्षको पुरुषको शव थियो ।’

अनुसन्धानका क्रममा शव धरान उपमहानगरपालिका– ३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको रहेको खुलेको एसपी जिसी बताउँछन् । उनका अनुसार निकालिएको शवको साथमा रहेको कागजात अनुसन्धान गर्दा श्रेष्ठको सनाखत भएको हो । उनको घरमा पनि फोटो पठाएर सनाखत गरिएको छ ।

बुधबार एउटा शव उठाएको प्रहरीले बिहीबार चाहिँ तालिम प्राप्त कुकुर पनि घटनास्थलमा ल्याएको थियो । शवसँगै भेटिएको प्रमाण सुँघाएर छाडिएको तालिम प्राप्त कुकुर करिब सात सय मिटर दक्षिणसम्म हिँडेको थियो ।

स्रोतका अनुसार शव गाडिएको स्थान हुँदै निस्किएको कुकुर नहरको डिलैडिल दक्षिणतर्फ गएको थियो । कमलपुर वस्ती नजिकै रहेको कल्भर्टमा पुगेपछि चाहिँ कुकुरले ट्र्याक छाडेको थियो । ‘कुकुरले महत्वपूर्ण क्लू दिएको छ, अनुसन्धानका लागि यो एउटा महत्वपूर्ण माध्यम हो’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन् ।

नुन हालेर शव गलाउने प्रयास

बिहीबार भेटिएको शवको पहिचान खुलेपनि बुधबार राति खाल्डोबाट निकालिएको शवको पहिचान खुलेको छैन । शवसँगै नुन पनि हालेका कारण अनुहार नचिनिने अवस्थामा छ । खनाखत नभई अनुसन्धानमा प्रहरीलाई जटिलता छ । एक अनुसन्धान अधिकृत भन्छन्, ‘तर दुवै शवको सनाखत नभएको भए समस्या हुन्थ्यो, एक जनाको सनाखत हुनुले पनि अनुसन्धानलाई गति दिइसकेको छ ।’

जिसीका अनुसार दुवै शव गाडिएको खाल्डोको प्रकृति र शव राख्ने तरिका एउटै छ । दुवै शवको घाँटीमा डोरीले बाँधेको जस्तो डाम देखिन्छ । बुधबार भेटिएको शवको हात बाँधिएको थियो । दुवै शव गाडिएको खाल्डोमा नुन पनि भेटिएको उनले बताए ।

‘शव छिटो सडोस् भन्नका लागि नुन हालेको देखिन्छ,’ प्रहरी अधिकृत भन्छन्, ‘बुधबार निकालिएको शव, १०/१५ दिन पुरानो जस्तो देखिन्छ, आज निकालिएको शव २०–२५ दिन पुरानो जस्तो देखिन्छ ।

प्रहरी स्रोतका अनुसार बिहीबार निकालिएको शवको खाल्डोको माटो दबेको थियो । खाल्डोभित्र शव घुडा टेकाएर राखेको अवस्थामा थियो । प्लास्टिकमा बेरिएको शवको बाहिरबाट कपडा देखिन्थ्यो । बुधबार भेटिएको शवलाई भने अनुहार तल पर्ने गरी राखिएको अवस्थाबाट निकालिएको प्रहरी अधिकृतहरु बताउँछन् ।

‘खाल्डो मिलाएर खनिएको छ, सामान्य मान्छेले यस्तो खाल्डो खन्न सक्दैनन्,’ प्रहरी स्रोत भन्छ, ‘बिजुलीको पोल राख्नका लागि खनेजस्तो गहिरो खाल्डो खनेर शव गाडिएको छ ।’ शव गाडिएको स्थान नजिकै बाँसको भाटा पनि भेटिएको थियो ।

स्थानीय उखु कृषक दिलिपप्रसाद सिंहका अनुसार बुधबार खेतमा उखु काटानका लागि मजदूर खटाइएको थियो । ‘जनले (मजदुर) उखुबारी भित्र खाल्डो देखेपछि मलाई खबर गरे,’ उनले भने, ‘मलाई पनि शंका लागेपछि प्रहरीलाई खबर गरेँ ।’

लेनदेन विवाद कारण हुनसक्ने अनुमान

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार श्रेष्ठले कुनै समय धरानमा सुन पसल सञ्चालन गर्दै आएका थिए । पछिल्लो समय जग्गा र प्लटिङ व्यवसाय गरे ।

‘उहाँ परिवारसँग झापातिर लेनदेन मिलाउन भन्दै मंसिर पहिलो साता हिँड्नु भएको रहेछ’ स्रोत भन्छ, ‘घटनाबारे थाहा पाएर परिवार विक्षिप्त अवस्थामा रहेकाले विस्तृत बयान लिन पाएको छैन ।’

लामो समयसम्म श्रेष्ठ गायब हुँदा पनि कुनै प्रहरी इकाइमा उनी हराएको उजुरी परेको छैन । प्रारम्भिक तथ्यहरु हेर्दा अपहरणमा परेको हुनसक्ने देखिए पनि लामो समयसम्म परिवारले पनि खोजी नगर्नुको कारण पनि प्रहरीले खोतलिरहेको छ । अनुसन्धानमा संलग्न एक अधिकृत चाहिँ लेनदेनको विषयमा कुरा नमिल्दा उनको अपहरणपछि हत्या भएको हुनसक्ने दाबी गर्छन् । ‘यद्यपि यो प्रारम्भिक अनुमान हो, विस्तृत अनुसन्धानपछि मात्रै सबै कुरा खुल्छ’ उनी भन्छन् ।

स्रोतका अनुसार अहिले प्रहरीले श्रेष्ठको मोबाइलको प्राविधिक अनुसन्धान थालेको छ । प्रहरीले उनको कल डिटेल रेकर्ड (सीडीआर) मगाएको छ भने बीटीएस टावरका आधारमा घटनास्थल वरपर सक्रिय मोबाइलहरुको विवरण पनि मगाएको छ ।

‘प्राविधिक पक्षको विश्लेषणबाट पनि महत्वपूर्ण सुराक आउने अपेक्षा छ’ अनुसन्धान अधिकृतहरु भन्छन्, ‘मृत्युको विस्तृत कारण चाहिँ पोष्टमार्टमको प्रतिवेदनबाट खुल्ला ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४