Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली भूभाग डुब्ने गरी भारतले सुस्तामा बनाउँदैछ सडक”जीटुजी वार्ता गरेर समाधान खोज्नुपर्छ : सीडीओ मिश्र”


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १४ २०७८
  • 3.2K
    SHARES

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतले फेरि नेपाली भूभाग डुबानमा पर्ने गरी सडक निर्माण थालेको छ । सुस्ता क्षेत्रका सुस्ता, प्रतापपुर, सरावल र पाल्हीनन्दन गरी चारवटा गाउँपालिकाको दक्षिणी भूभाग डुबान हुने गरी भारतले करिब २७ किलोमिटर लामो सडक बनाउन थालेको हो ।

भारतले दशगजादेखि २५ मिटरको दूरीभित्रै आफ्नै भूमिमा सडक बनाउन थालेको छ । तर यो सडकको ठाउँ ठाउँमा कल्भर्ट वा ह्युमपाइप नराख्दा पानीको प्राकृतिक बहाव थुनिने र वर्षायाममा नेपाली भूभाग डुबानमा पर्ने डरले सुस्ता क्षेत्रका बासिन्दा चिन्तित बनेका छन् ।

भारतीय पक्षले ६ फिट अग्लो र ३० मिटर चौडा सडक बनाउन अहिले माटो फिलिङ गरिरहेको छ । पानीको बहावको निकास नराखी सडक बनाउन थालेपछि सुस्ता क्षेत्रका चार वटै गाउँपालिकाले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

‘पानीको निकास हुने ठाउँ नै नराखी धमाधम सडक बन्न थालेपछि सुस्तावासी डुबानको चिन्तामा छन्’ अध्यक्ष पाण्डेले भने, ‘यो समस्याबारे चारवटै गाउँपालिकाको तर्फबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका छौं ।’

निर्माणाधीन सडकमा प्रत्येक दुई सयदेखि पाँचसय मिटरको दूरीमा पानीको निकासका लागि ठूला कल्भर्ट वा ह्युमपाइप नराख्ने हो भने वर्षयाममा चारै गाउँपालिकाको दक्षिणी क्षेत्रको वस्ती डुवानमा पर्ने पाण्डेले बताए ।

विगतको भारतीय व्यवहार हेर्दा उच्च राजनीतिक तहबाट प्रभावकारी पहल नगर्ने हो भने भारतीय पक्षले पानीको निकासका लागि कल्भर्ट वा ह्युमपाइप राख्ने वा पुल बनाउने स्थिति नरहेको पाण्डे बताउँछन् ।

जीटुजी वार्ता गरेर समाधान खोज्नुपर्छ : सीडीओ मिश्र

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले पनि भारतीय पक्षले बनाइरहेको सडकका कारण नेपाली भूभाग डुबानमा पर्ने अवस्था देखिएको स्वीकार गरे ।

सडक बनाउनुअघि नै पानीको प्राकृतिक बहाव नरोकिने गरी आवश्यक ठाउँमा कल्भर्ट वा ठूला हयूमपाइपहरु राख्नुपर्ने हो तर त्यो राखेको देखिएन’, प्रजिअ मिश्रले भने, ‘जनस्तरबाट पनि गुनासो आएपछि भारतीय समकक्षी डीएमसंग सम्पर्क गरें, उहाँले एउटा टिम पठाउनुभएको थियो, मैले स्पष्टसंग कुरा राखेको छु ।’

कुराकानीमा भारतीय पक्षले प्रत्येक पाँच सय मिटरमा कल्भर्ट/हयूमपाइप वा पुल जे आवश्यक पर्छ त्यो राख्ने गरी डिजाइन भएको र सडक ग्राभेलअघि राख्ने जानकारी गराएको प्रजिअ मिश्रले बताए ।

सीमा क्षेत्रमा भारतीय सडकले हुने डुबान समस्या एउटा जिल्लाको मात्र नभएको र समग्र तराईका जिल्लाको साझा समस्या भएकाले संघीय सरकारले भारत सरकारसंग कुटनीतिक पहल गरेर समाधान गर्नुपर्ने प्रजिअ मिश्र बताउँछन् ।

‘यो समस्या एउटा जिल्लाको मात्र हैन, जीटुजी वार्ता गरेर कुटनीतिक माध्यमबाट समस्या समाधानको पहल गर्नुपर्छ’ उनले भने । आफूले यसबारे गृह मन्त्रालयमा पनि जानकारी गराइसकेको प्रजिअ मिश्रले बताए ।

विरोध प्रदर्शन

भारतीय पक्षले अन्तर्राष्ट्रिय कानून विपरीत सडक बनाएको तर पानीको निकास नराखेको भन्दै राष्ट्रिय युवा संघ नेपालले सुस्ता– ५ मा विरोध प्रदर्शन गरेको छ ।

राष्ट्रिय युवा संघ नेपाल सुस्ता गाउँ कमिटीले भारतीय पक्षको ध्यानाकर्षणका लागि कालो झण्डासहित शान्तिपूर्ण विरोध प्रर्दशन गरेको संघका उपाध्यक्ष सुवर्ण न्यौपानेले बताए ।

भारतीय पक्षले सुस्तामा १४ हजार हेक्टर जमिन अतिक्रमण गरेको सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङ बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४