काठमाडौं। ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायसहितको टोलीले आज कोभिड मापदण्डको पालना र अत्यावश्यक सिटामोल औषधि आपूर्तिको अवस्थाबारे जिल्लामा अनुगमन गरेको छ ।
अनुगमनको क्रममा मास्क नलगाएका व्यक्तिलाई जनही एक सय रुपैयाँको दरले जरिवाना गर्नुका औषधि व्यवसायीहरुलाई सिटामोलको अभाव नहुने गरी बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले जन न्युज नेपाल खबरलाई जानकारी दिए ।
अनुगमन टोलीले पाटन, सुमेरु, अल्का लगायतका अस्पताल र मंगलबजारका फार्मेसीहरुमा सिटामोलको उपलब्धताबारे अनुगमन गरेको थियो । अनुगमनको क्रममा सिटामोलको स्टक कम भए पनि सिटामोल नै नभएको अवस्था भने नपाइएको उनले बताए । ‘सिटामोलको आपूर्तिमा केही समस्या रहेछ । स्टक कम छ तर सिटामोल नै नभएको अवस्था छैन,’ उनले भने ।
त्यसको कारणबारे खुलाउँदै प्रजिअ उपाध्यायले भने, ‘सिटामोलको उत्पादन र आपूर्तिमै कम भएको भन्ने स्वास्थ्य व्यवसायीहरुको भनाइ छ ।’ कुनै ग्राहकलाई सिटामोल धेरै दिने, कुनैले पाउँदै नपाउने अवस्था नआउने गरी बिक्री वितरणको व्यवस्था मिलाउन औषधि व्यवसायीहरुलाई निर्देशन दिइएको उनले बताए ।
- अरु अवस्था सामान्य
यसैगरी सवारी साधनहरुको बढी चहलपहल हुने मुख्य क्षेत्र लगनखेल, सातदोबाटो, जावलाखेल लगायतका क्षेत्रमा पनि कोभिड मापदण्डको पालनाबारे पनि अनुगमन गरिएको थियो । अनुगमनपछि प्रजिअ उपाध्यायले जन न्युज नेपाल खबरसँग भने, ‘मास्क र सेनिटाइजर प्रयोग कस्तो छ, खोपकार्डको प्रयोग भएको छ कि छैन भनेर अनुगमन गर्दा अवस्था सामान्य पाइयो ।
अनुगमनको क्रममा नेपाल प्रहरीको टोलीले हिजो र आज दुई दिनको अवधिमा मास्क नलगाउने २३४ जनालाई जनही एक सय रुपैयाँको दरले जरिवाना पनि गरेको प्रजिअ उपाध्यायले जानकारी दिए ।
अनुगमन टोलीमा प्रजिअ उपाध्याय, एसपी सिद्धीविक्रम शाह, राष्ट्रिय अनुसन्धान विभागका कार्यालय प्रमुख इन्द्रसिंह लामा, स्वास्थ्य कार्यालय प्रमुख सतिश विष्ट लगायत सहभागी थिए ।
- तस्वीरहरु: जन न्युज नेपाल खबर प्रतिनिधि





