खोप लगाएका व्यक्तिहरु कम जोखिमपूर्ण हुने मान्यता अनुसार खोप कार्डलाई आधारको रुपमा लिइएको पनि उनले बताए । कोभिड-१९ विरुद्धको खोप कार्डलाई अनिवार्य गरिने उनले उल्लेख गरे । उनले भने, ‘अब ७ गते पछाडी खोप कार्ड लिएका व्यक्तिहरुले सार्वजनिक सेवा लिन जाँदा त्यसलाई देखाउने कुरा भयो । र खोप कार्डको आधारमा सेवा प्राप्त गर्ने विषयलाई जोडिएको छ र त्यसलाई सम्बन्धित सेवा प्रदायक निकायहरुले नै आफ्नो सेवा दिने स्थानमै त्यसलाई उहाँहरुले हेरेर आवश्यक समन्वय गर्नुहुन्छ ।
खोपकार्डलाई सबैले अनिवार्य राख्नलाई हामीले भनेका छौँ । खोपकार्ड नभएकालाई खोप लिनलाई भनेका छौँ । बिस्तारै हामीले यसलाई व्यवहारिक रुपमा परिणत गरेर यसको कार्यान्वयन गर्नमा त्यही ढंगले हामीले आफूलाई परिचालित गरेका छौँ । यो अनिवार्य जस्तै हुन्छ । कोभिड-१९ महामारी नियन्त्रणका लागि सार्वजनिक स्थलमा खोप कार्डको अनिवार्यताले महत्वपूर्ण भुमिका खेल्ने उनले बताए । नेपाल सरकारले गरेको निर्णय र जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशको पालना नगरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुने पनि उनले बताए ।
उनले भने, ‘नेपाल सरकारले गरेको निर्णय र जिल्ला प्रशासन कार्यालयबाट जारी भएको आदेश संक्रामक रोग नियन्त्रण तर्फ जारी भएको आदेश छ । त्यो आदेशको कार्यान्वयनमा बाधा पुर्याउने अथवा आदेशको पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार नै कारबाही हुन्छ ।पेलेर जाने भन्ने अर्थमा होइन कि यसलाई अभिप्रेरित गरेको रुपमा हामीले बुझ्नुपर्छ । कम्तिमा पनि सार्वजनिक सेवा प्रवाहमा यो एउटा महत्वपूर्ण पार्ट हो है भन्ने ढंगले हामीले बुझ्नुपर्छ भन्ने मलाई लाग्छ ।
उनले भीडभाडजन्य गतिविधि नगर्न र नगराउन पनि सबैलाई आग्रह गरे । अत्यावश्यक काममा जानु परेमा जनस्वास्थ्यको मापदण्डलाई पूर्ण रुपमा पालना गरेर मात्रै गर्नुपर्ने उनले बताए ।
