Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाटनमा ढल खन्दा भेटिएको अभिलेख : ‘इतिहासकै नयाँ प्राप्ति’


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २१ २०७८
  • 3.5K
    SHARES

काठमाडौं । ५ पुस २०७८ मा ललितपुरको पाटन दरबार क्षेत्रमा पर्ने भीमसेन मन्दिरअघि ढल खन्ने क्रममा भेटिएको एउटा लिच्छविकालीन शिलालेख ‘इतिहासमा नयाँ प्राप्ति भएको’ सो अभिलेख पढ्ने विशेषज्ञको भनाइ छ । त्यसमा पहिलोपटक वृषदेवले बनाएको कुनै संरचनाको प्रमाण भेटिएको लिपि विशेषज्ञ श्यामसुन्दर राजवंशीको दाबी छ ।

पुष पहिलो साता ललितपुरको पाटन दरबार क्षेत्रमा पर्ने भीमसेन मन्दिरअघि ढल खन्ने क्रममा एउटा लिच्छविकालीन शिलालेख भेटिएको थियो । करिब ६ फिट अग्लो शिलालेखमा लिच्छवि लिपि र प्रौढ संस्कृत भाषामा लेखिएका १५ पंक्तिहरू छन् ।

 अभिलेखको शिरमा दायाँबायाँ श्रावक मृग र धर्मचक्र राखिएको छ । पुस ५ गते प्रारम्भिक अभिलेख अध्ययन गर्दै लिपि विशेषज्ञ राजवंशीले सो क्षेत्रमा विहार हुन सक्ने बताएका थिए । किनभने विहारमा राखिएका अभिलेखमा मात्रै श्रावक मृग र धर्मचक्र राख्ने चलन रहेको पाइन्छ ।

सिमेन्ट लागेको अभिलेखलाई सफा गरेर अध्ययन गर्न बाँकी रहेकोले पूर्ण जानकारी आइसकेको थिएन । तर सो शिलालेखको लिप्यान्तरण एवं भाषान्तरणको काम सकिँदा यसले नेपालको इतिहासलाई नै नयाँ मोड दिने केही प्रमाण बोकेको भेटिएको छ । पाटनमा भेटिएको पछिल्लो अभिलेखले भने मुख्यतया ४ वटा नयाँ विषय बोलेको छ । जसमध्ये पहिलो हो, वृषदेवले बनाएको संरचनाको प्रमाण ।

जस्तो नेपालको इतिहासमा मानदेवको चाँगु नारायणको अभिलेखलाई राजाको नाम र संवत् स्पष्ट लेखिएको अभिलेख मानिन्छ । त्यसो त दुई दशक अघि संवत् १०७ को जयवर्माको मूर्ति सहितको अभिलेख मालीगाउँमा भेटिएको थियो । त्यसपछि संवत् ३८१ को राजाको नाम पढ्न नसकिने अवस्थामा रहेको एउटा अभिलेख पशुपतिको प्रांगणमा भेटिएको थियो ।

पशुपतिको संवत् ३८१ को अभिलेखमा वृषदेवको नाम उल्लेख छ । मानदेवले आफ्नो अभिलेखमा पनि जिजुबाजेको रुपमा वृषदेवलाई चिनाएका छन् । उनी पनि राजा रहेको र सम्भवतः भारतका समुद्रगुप्तकालीन शासक हुन सक्ने इतिहासकारहरूको मत छ ।

तर वृषदेव मानदेवको जिजुबाजे भएपनि उनको समयमा बनेका कुनैपनि संरचना र राज्य प्रशासनको अभिलेखीय प्रमाण भेटिँदैन । अहिले पाटनमा भेटिएको अभिलेखमा ‘वृषदेव कारितक’ भन्ने वाक्यांश उल्लेख छ । अर्थात् अभिलेखले स्पष्टसँग वृषदेवले सो अभिलेख रहेको ठाउँमा धातु चैत्यरथ अर्थात् धातुबाटै चैत्य बनाएको भन्ने कुरा बोल्छ ।

पाटनमा भेटिएको सो अभिलेखले आफूहरूले गर्दै आएको तिथि गणना पद्धति र आफ्ना दाबीहरूलाई पुष्टि गरेको लिपि विशेषज्ञ श्यामसुन्दर राजवंशी बताउँछन् ।

पाटनको सो अभिलेख राखेकै वर्ष संवत् ५३६ मा गोकर्ण बालुवा गाउँमा राखिएको अभिलेखमा अंशुवर्माले ‘स्वकारितक राजविहार’ भन्ने उल्लेख गरेका छन् । लिपि विशेषज्ञ राजवंशी पहिलोपटक वृषदेवले बनाएको कुनै संरचनाको प्रमाण भेटिएकोले यो इतिहासमा हालसम्मको नयाँ प्राप्ति रहेको बताउँछन् ।

त्यस्तै, अर्काे प्रमाण हो धातुको चैत्य बनाउने चलन । अहिले पाटनमा भेटिएको अभिलेखले वृषदेवको पालामा धातुबाटै चैत्य बनाउने चलनको विकास भएको प्रमाण दिन्छ । अहिलेसम्म भेटिएका चैत्यहरू बढीजसो ढुंगाबाट बनेका छन् । यही अभिलेखले बोलेको अर्काे प्रमाण भनेको विहारलाई मन्दिरको स्वरुपमा ढाल्ने चलन पनि अंशुवर्माको समयमा नै भएको थियो भन्ने कुरा हो ।

विशेषज्ञ राजवंशी भन्छन् ‘यो अभिलेखमा धातुचैत्यलाई मन्दिरको स्वरुपमा ढालेको उल्लेख छ । यसले पनि अंशुवर्माकालीन समयमा मन्दिरको स्वरुपमा बौद्ध धार्मिक स्थलहरू समेत निर्माण गर्ने चलनको सुरुवात भएको अर्काे प्रमाण दिन्छ ।’ उनले जन न्युज नेपाल खबरसँग भने ‘तर यसमा विहार शब्द नलेखिए पनि धातु चैत्यरथको उल्लेख छ, जुन विहारकै एक भाग हो ।’

अहिले पाटनमा हरेक जेठ शुक्ल पूणिर्माको दिन श्रीनिवास मल्लको सिंहासन र उनकै पालाको कृष्णलीलाको पौभा चित्र कृष्णमन्दिरको पेटीमा ल्याएर राख्नुपर्ने चलन छ । अंशुवर्माकालीन यो अभिलेख पनि जेठ शुक्ल पूणिर्माकै दिन राखेको उल्लेख छ । त्यतिबेला विशेष पर्व वा विशेष दिनमा अभिलेख राख्ने चलन थियो । यसले पाटन दरबार क्षेत्रमा लिच्छविकालदेखि नै जेठ पूणिर्मा विशेष रहेको पुष्टि हुन्छ ।

त्यसो त अर्काे अभिलेखसँगको तुलनात्मक अध्ययनले सो अभिलेख विहारमा राखेको अनुमान गर्नसक्ने आधार देखाएको छ । हाल भीमसेन मन्दिरको आसपासमै भेटिएको अर्काे अभिलेख अहिले राष्ट्रिय संग्रहालयमा राखिएको छ । जसमा मिति लेखिएको भागलाई स्पष्ट पढ्न सकिएको छैन । त्यो अभिलेखलाई पनि श्यामसुन्दर राजवंशी मानदेवभन्दा अघिको सम्भवतः वृषदेवकालीन हुन सक्ने दाबी गर्छन् ।

सो अभिलेखमा पनि अहिले भेटिएको अभिलेखमा जस्तै एकापटि्ट मृगशीरा र अर्काेपटि्ट धर्मचक्र छ । तर धर्मचक्र स्पष्ट नरहेकोले कतिपयले यसलाई बुद्धको प्रतिमा पनि भन्ने गरेका छन् । त्यसमा लेखिएको अभिलेख अंशुवर्माको समय र मानदेवको समयभन्दा भिन्न रहेकोले त्यो मानदेवभन्दा पहिलेको हुन सक्ने दाबी राजवंशीले गरे । सो अभिलेखमा भने विहार, भिक्षुसंघ र कुप (कुवा) उल्लेख गरिएको छ । त्यो लिपिलाई धनबज्र बज्राचार्य, डिल्लीरमण रेग्मी र हरेराम जोशीले अंशुवर्माकालीन मानेका छन् ।

त्यसो त पाटनमा भेटिएको सो अभिलेखले आफूहरूले गर्दै आएको तिथि गणना पद्धति र आफ्ना दाबीहरूलाई पुष्टि गरेको राजवंशी बताउँछन् । लिच्छविकालमा एउटैमात्र संवत् चलेको थियो, अहिले कतिपय विद्वानहरूले मानेको शकसंवत् लिच्छवि संवत् नै हो र लिच्छवि संवत्को सुरुआतबाटै लिच्छविकालको सुरुवात भएको हो भन्ने दाबी राजवंशीले गर्दै आएका छन् । तर उनको यो मतमा सबै विद्वानहरूले सहमती जनाउन सकेका छैनन् । तर बालुवा खानीमा भेटिएको अभिलेख र पाटनमा अहिले भेटिएको अभिलेखले आफ्नो मतलाई पुष्टि गरेको राजवंशीको दाबी छ ।

लिपि विशेषज्ञ राजवंशीका अनुसार अहिले भेटिएको सो अभिलेख २०३५ सालमै भेटिए पनि नपढी पुरिएको थियो । त्यतिबेला भण्डारी विल्डर्स भन्ने कम्पनीले ढलको पाइप राख्नको लागि सो क्षेत्र खनेको थियो । त्यो बेला राखिएको पाइप र पछि गारो लगाउने बेलामा थुपारिएको सिमेन्टले अभिलेखलाई असर गरेको उनी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४