Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिला भलिबल कप्तान शाही भन्छिन् : खेलाडीको संरक्षण हुनुपर्‍यो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १९ २०७८
  • 4.1K
    SHARES

सेन्ट्रल जोन महिला भलिबलका विजेता गण्डकीका ४ खेलाडी सम्मानित

पोखरा । बंगलादेशमा भएको एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल खेल्न जानुअघि कप्तान अरुणा शाही जसरी पनि उपाधि जित्नुपर्ने कारणले दबावमा थिइन् । एक त डिफेन्डिङ च्याम्पियन र अर्को आफूहरुले गरेको मिहिनेत ।

बंगलादेश राजधानी ढाका पुगिसकेपछि कप्तान शाहीले प्रतिद्वन्द्वी टिमहरुका खेल हेरिन् र त्यहीअनुसार रणनीति बनाइन् । प्रतिद्वन्द्वी कमजोर नभए पनि नेपाली राष्ट्रिय महिला टिमले सोचेजस्तै भयो । डिफेन्डिङ च्याम्पियन नेपालले दोस्रो पटक एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि चुम्यो ।

‘जित्नकै लागि हामीले प्रतिस्पर्धीका खेल हेर्‍यौं । अघिल्लो पटकको च्याम्पियन भएकाले त्यसलाई कायम राख्नु पनि थियो,’ शाहीले सुनाइन्, ‘तर, खेलमा श्रीलंका र उज्जेकिस्तानसँगको खेल एकदम ‘टफ’ थियो । तैपनि जित्छौं भन्ने आत्मविश्वासचाहिँ थियो ।’

ढाकामा १३ गते सकिएको महिला भलिबलको फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै दोस्रो पटक उपाधि जितेको थियो । उक्त खेलमा गण्डकीका मात्रै ४ जना खेलाडी सहभागी थिए । राष्ट्रिय टिमको कप्तान भूमिका निभाइरहेकी म्याग्दीकी शाहीसँगै तनहुँकी उषा भण्डारी, बागलुङकी साफिया पुन र नवलपुरकी शान्तिकुमारी थारु उक्त टिममा थिए ।खेल जितेर गृह प्रदेश फर्किसकेपछि गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले उनीहरुसहित राष्ट्रिय भलिबल संघका कार्यवाहक अध्यक्ष तथा टिमका नेता यामबहादुर गुरुङलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँसहित सोमबार सम्मान गरेको छ ।

  • ‘खेलाडीलाई संरक्षण हुनुपर्‍यो’

सम्मानपश्चात राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाहीले नेपालमा खेलाडीको संरक्षण गर्ने परिपाटी नरहेको औंल्याइन् । राम्रा खेलाडीलाई समेत सरकारले संरक्षण गर्न नसक्दा पलायन हुनुपरेको उनको गुनासो थियो ।

‘हो, प्रदेश सरकारले आज हामीलाई सम्मान गर्‍यो । तर, यतिले मात्रै पुग्दैन । अब सम्मानभन्दा पनि खेलाडीको संरक्षणमा बढी ध्यान दिनुपर्छ,’ कुनैबेला समग्र पश्चिम क्षेत्रको भलिबलमा गण्डकीले नै एकछत्र राज गरेको इतिहास सुनाउँदै शाहीले प्रश्न गरिन्, ‘अहिले पनि प्रदेशमा खेलाडी उत्पादन नहुने होइनन्, हुन्छन् । तर, खै त संरक्षण ?’

शरीरमा बल हुँदासम्म खेलाडीले जिउज्यान लगाएर देशका लागि खेल्ने तर, बल घट्दै गएपछि भविष्य नै अन्योल हुने खेलकर्मीको अवस्था रहेको शाहीले सुनाइन् । ‘पावर छउञ्जेल त हामी पनि खेल्छौं । तर, त्यसपछि के गर्ने ? यसमा सम्बन्धित स्थानीय तहले पनि अपनत्व लिनुपर्छ,’ उनले भनिन् ।

नयाँ खेलाडी उत्पादन गर्न स्कुल तहबाटै सरकारले लगानी बढाउनुपर्ने कप्तान शाहीको सुझाव छ । ‘विभिन्न क्लबहरुले आफ्नै लगानीमा खेलाडी उत्पादन गरिरहेका छन् । तर, बाध्यतावश फल दिनेबेला कि विभागीय टिममा लाग्नुपर्छ कि पलायन,’ उनले भनिन्, ‘म पनि प्रदेशमा महिला भलिबल टिम नभएर बाहिरकै क्बलबाट खेल्नु परिरहेको छ ।’

शाहीले जति धेरै प्रतियोगिता भए त्यतिधेरै खेलाडीमा निखारता आउने सुनाइन् । ‘टुर्नामेन्टहरु धेरै भयो भने भएका खेलाडीको प्राक्टिसमात्रै हुँदैन । नयाँ खेलाडी उत्पादन गर्न पनि फाइदा पुग्छ,’ उनले भनिन्, ‘पहिलेपहिले भर्खर भलिबल खेल्न सुरु गर्दा वर्षमा मुश्किलले २ वटा खेल हुन्थ्यो । त्यतिबेला खेलाडी उत्पादन पनि कम हुन्थ्यो ।’

  • खेलमा बजेट छैन : मन्त्री मनाङे

सम्मान कार्यक्रममा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले आफूहरुले खेलकुदमा उल्लेख्य काम गर्न खोजे पनि बजेट पर्याप्त नभएको बताए । उनले गठबन्धन सरकारसँग धेरै कुरा मिलाउनुपर्दा गाह्रो भइरहेको सुनाए । उनले भने, ‘आज हामी सरकारमा छौं । तर, पहिलाको जस्तो सरकार होइन यो । ५ वटा दलसँगै धेरै कुरा मिलाउन पनि गाह्रो छ ।’

गण्डकी प्रदेश भलिबलका लागि राम्रो भए पनि सरकारले नै उपेक्षा गरिरहेको मन्त्री गुरुङको भनाइ थियो । ‘कमसेकम मुख्यमन्त्रीलाई खेल भनेको के हो भन्ने थाहा हुनुपर्छ । उहाँलाई यसमा ‘नलेज’ छैन हेर्नुस्,’ उनले भने, ‘खेलकुद विकास गर्न एउटा जिल्लालाई १ लाख आउँछ । त्यो पैसा जिल्लामा पठायो भने पनि केही हुने हैन, मैले गाली खाने हो । नपठाम् पनि मैले नै खायो भनिमाग्ने हो ।’

मन्त्री गुरुङले आफूहरुले खेलाडीहरु पलायन नहुनका लागि स्वरोजगार कार्यक्रमको योजना ल्याइरहेको सुनाए । ‘आजका खेलाडी प्रशिक्षक पनि हुन् । स्कुल खोलेर उनीहरु प्रशिक्षण दिन्छन्, त्यसमा प्रदेश सरकारले सहयोग गर्छ । स्वरोजगार भन्दैमा आलु रोप्न जानुपर्दैन,’ उनले भने । उनले स्वरोजगार कार्यक्रमका लागि २ करोड ५० लाख रुपैयाँ माग गरेको जानकारी दिए ।

गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले सम्मानित ४ खेलाडीले प्रदेशको मात्रै नभएर देशकै नाम चिनाएको बताए । ‘नेपाल देश सानो भए पनि क्षमतावान युवाहरु छन् भन्ने देखाएको छ,’ उनले भने । उनले अन्य प्रदेशले पनि खेलाडीको सम्मान गरोस् भन्ने ध्येयले गण्डकीबाट सुरुआत गरिएको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४