Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवाको दोस्रो कार्यकाल : मत दिनेलाई मात्र मनोनयन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १८ २०७८
  • 2.8K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका रुपमा पहिलो कार्यकालमा शेरबहादुर देउवामाथि लागेको आरोप हो–सबैको होइन, गुटको सभापति भए । १४औं महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएको प्रमाणपत्र बुझ्दै देउवाले भनेका थिए, ‘मलाई भोट हाल्यो–हालेन मतलब छैन, सबैको सभापति हुँ ।’तर सभापतिका रुपमा गरेका सुरुवाती कामले देउवामाथि प्रश्न उठ्न थालेको छ ।

देउवाले आइतबार कल्याण गुरुङ, प्रदीप पौडेल र जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्यमा मनोनित गरे । सभापतिका उम्मेदवार गुरुङले दोस्रो चरणको मतदानमा देउवालाई समर्थन गरेका थिए भने पौडेल र शाही देउवाकै प्यानलबाट क्रमशः महामन्त्री र सहमहामन्त्रीका उम्मेदवार थिए । उनीहरु दुबै पराजित भएका थिए ।यसअघि शनिबार १० जना केन्द्रीय सदस्य मनोनित गरेका थिए, उनीहरुमध्ये रामचन्द्र पौडेलले महाधिवेशन प्रक्रियामा भाग नै लिएका थिएनन् । तर आफू उम्मेदवार हुन नपाएपछि डा. शेखर कोइराला समूहमा नखुलेका कारण सभापतिका अर्का उम्मेदवारलाई सघाउ पुगेको नेताहरु बताउँछन् ।

कृष्ण सिटौलाले देउवालाई समर्थन गर्दै उम्मेदवारी नै दिएका थिएनन् भने सभापतिका उम्मेदवार प्रकाशमान सिंह र विमलेन्द्र निधि, उपसभापतिका उम्मेदवार सुजाता कोइरालाले दोस्रो चरणमा देउवालाई समर्थन गरेका थिए ।विजयकुमार गच्छदार र डा. प्रकाशशरण महत उनकै समूहबाट क्रमशः उपसभापति र महामन्त्रीका उम्मेदवार थिए । नेताहरु नारायण खड्का, उमा रेग्मी र मीनबहादुर विश्वकर्माले कुनै पदमा उम्मेदवारी दिएका थिएनन्, तर सबै देउवाको पक्षमा थिए ।

एक पदाधिकारीका अनुसार केन्द्रीय कार्यसमितिको पहिलो बैठकअघि भएको छलफलमा पदाधिकारीहरुले चासो राख्दा सभापतिभन्दा अघि सरेर उपसभापति पूर्णबहादुर खड्काले ‘तपाईंहरु छोड्नुस् न, सभापतिले गरिहाल्नुहुन्छ नि’ भनेर पन्छाउन खोजेका थिए । तर फेरि प्रश्न गरेपछि देउवाले सभापतिका उम्मेदवारहरु र रामचन्द्र पौडेललाई मनोनित गर्ने संकेत गरेका थिए ।

देउवाले उनीहरुबाहेक आफ्नो समूहबाट उपसभापति र महामन्त्रीका उम्मेदवार भएका क्रमशः गच्छदार र डा. महत तथा आफूलाई मत दिने उमा रेग्मी, नारायण खड्का, मीनबहादुर विश्वकर्मालाई पनि मनोनित गरे । आइतबार तीन जना मनोनित गरे, त्यसमा पनि देउवालाई मत दिनेहरु मात्र गरेका छन् ।कांग्रेसको विधानले सभापतिलाई ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार दिएको छ । तर दुई पटक गरी १३ जना केन्द्रीय सदस्य मनोनित गर्दा देउवाले आफूलाई भोट दिनुलाई नै मनोनयनको मापदण्ड बनाएको त होइन भन्ने प्रश्न उठेको छ ।

किनकी उपसभापतिमा ७ उम्मेदवार थिए, जसमध्ये पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भए । विजयकुमार गच्छदार र चन्द्र भण्डारीले खड्का र गुरुङ हाराहारी मत ल्याएका थिए । सुजाता कोइराला र महेश आचार्यको मतान्तर पनि धेरै छैन । तर देउवाले केन्द्रीय सदस्य मनोनित गर्दा गच्छदार र कोइराला मात्र रोजे, जसले उनलाई सभापति बनाउन मत दिएका थिए ।महामन्त्रीमा पराजित प्रकाशशरण महत र प्रदीप पौडेललाई मनोनित गर्दा मिनेन्द्र रिजाल परेनन् । मनोनित दुबै देउवा प्यानलका उम्मेदवार हुन् भने रिजाल, शेखर कोइरालाकाे टिमबाट महामन्त्री लडेका थिए । अर्थात मनोनित दुबै देउवालाई भोट दिनेहरु हुन् ।

‘कसलाई मनोनित गर्ने भन्ने उनको अधिकार हो, हामीसँग परामर्श गर्नुपर्दैन,’ कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘तर आफूलाई भोट दिनेहरुलाई मात्र मनोनित गर्नुले उहाँको विवेकको निर्णयमा प्रश्न उठेको छ । अहिले पनि उहाँ गुटकै सभापति हुन खोजेको संकेत देखिएको छ ।’

सबैको सभापति बन्छु भन्ने सभापति देउवाको अभिव्यक्तिलाई व्यवहारमा कार्यान्वयन गरेर देखाउने बेला आएको बताउँछन्, महामन्त्री गगनकुमार थापा । ‘पार्टी सभापति आफैंले भन्नुभएको कुरा हो, म सबैको सभापति बन्छु । उहाँले भन्नुभएको त्यो कुरा व्यवहारमा लागू होस् र त्यो सार्थक बनोस् भन्ने हामी सबैको चाहना हो,’ उनले जन न्युज नेपाल खबरसँग भने, ‘वरियता र मनोनयनका सम्बन्धमा धेरै टिप्पणी गर्ने कुरा केही छैन, तर सभापतिज्यूको निर्णयमा उहाँले भनेको कुरा आमकार्यकर्ताले महसुस गर्न पाउनुपर्छ । के बोलेँ भनेर होइन, मैले गरेँ भन्ने कुरातर्फ सभापतिको ध्यान जानैपर्छ ।

संस्थापन समूहबाट निर्वाचित सहमहामन्त्री महेन्द्र यादव भने सभापतिले एकपक्षीय रुपमा मनोनयन गरेको भन्ने आरोप पूर्वाग्रही भएको टिप्पणी गर्छन् । महाधिवेशन प्रक्रियाबाट बाहिर रहेका नेता रामचन्द्र पौडेललाई केन्द्रीय सदस्यमा मनोनित गर्नु सभापति देउवाको उदारता भएको भन्दै उनले भने, ‘अहिले नै सभापतिले एकलौटी गर्नुभयो भनेर भन्नु पूर्वाग्रही हो । अझै २० जना मनोनित गर्न बाँकी छ । सभापतिले सबैलाई समेटेरै लैजानुहुन्छ ।’देउवाले अब २० जना मनोनित गर्न पाउँछन्, तर केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न १४ जना महिला मनोनित गर्नैपर्ने वाध्यता छ ।

  • वरियतामा पनि अनुदार

कांग्रेस सभापति देउवामाथि नेताहरुको मर्यादाक्रम निर्धारणलाई लिएर पनि प्रश्न उठेको छ । खासगरी सभापतिमा आफूसँग पराजित भएका डा. शेखर कोइरालालाई २०औं वरियातामा राखेपछि नेताहरुले देउवामाथि अनुदार बनेको आरोप लगाएका छन् ।

महाधिवेशनले चुनेको केन्द्रीय समितिको पहिलो बैठकबाटै केन्द्रीय सदस्यहरुको वरियता तोक्ने परम्परा छ । तर विधानमा यससम्बन्धी कुनै व्यवस्था छैन, पार्टी सभापतिले आफ्नो विवेकले पदाधिकारी र केन्द्रीय सदस्यहरुको वरियता तोक्ने प्रचलन छ ।

कांग्रेस नेताहरुका अनुसार यसमा सभापति उदार र अनुदार दुबै भएको रेकर्ड छ । गिरिजाप्रसाद कोइरालासँग पराजित भएका चिरञ्जीवी वाग्ले र नरहरि आचार्य दुबैलाई केन्द्रीय सदस्य मनोनित त गरिएको थियो, तर दोस्रो वरियतामा राखिएको थिएन ।

१२औं महाधिवेशनमा पराजित भएका देउवालाई सभापति सुशीलको कोइरालाले दोस्रो वरियतामा राखेका थिए । देउवा स्वयंले पनि १३औं महाधिवेशनमा आफूसँग पराजित रामचन्द्र पौडेललाई दोस्रो वरियता दिएका थिए ।तर यो पटक उनले आफूसँग पराजित डा. शेखरलाई दोस्रो वरियता दिएनन्, पदाधिकारी र पूर्वपदाधिकारीभन्दा पछाडि राख्दा २०औं नम्बरमा परे । पूर्वपदाधिकारी भइसकेकाहरु नेताहरु केन्द्रीय सदस्य मनोनित हुँदा शेखर २६औं नम्बरमा धकेलिएका छन् ।

४० प्रतिशत मत पाएका शेखरलाई नेताका रुपमा स्वीकार गर्न आनाकानी गरेको उनी निकट नेताहरु बताउँछन् । ‘पार्टीमा वीपीकै पालादेखि वरियता सम्बन्धमा एउटा प्रचलन रहिआएको छ, त्यसको अवमूल्यन गर्ने काम सभापतिबाट भयो,’ कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, ‘यसरी पार्टी पंक्ति निर्धारणको परम्परा र ऐतिहासिक तथ्य वा हालैको परम्परा तोड्नु अनुपयुक्त हो ।’ वरियता निर्धारणबारे मापदण्ड बनाउनुपर्नेमा उनले जोड दिए ।सभापति निकट नेताहरु भने वरियतामा अनावश्यक बखेडा झिक्न खोजिएको बताउँछन् । देउवानिकट एक पदाधिकारीले भने, ‘शेखरजी सभापतिको उम्मेदवार त हो, तर उहाँभन्दा लामो राजनीतिक योगदान भएका धेरै नेताहरु कांग्रेस केन्द्रीय कार्यसमितिमा छन् । उहाँलाई अगाडि राख्दा विवाद निकाल्नु उचित छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४