Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘केही गरौंला भन्ने थियो, टेबल ठटाएरै कार्यकाल सकियो’


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ६ २०७८
  • 3.3K
    SHARES

काठमाडौं । ३० वर्ष लामो पञ्चायती व्यवस्था हटेर मुलुक बहुदलीय शासन व्यवस्थामा जाँदा खुसी नहुने नेपाली नागरिक सायदै थिए । राजनीतिक आन्दोलनमै सक्रिय ललितपुर, नख्खीपोटकी मैना अछामीको परिवार पनि खुसी थियो । घरभित्रको राजनीतिक रापतापले मैनाकी छोरी संगीतालाई पनि आकर्षित गर्न थाल्यो, घरको यही वातावरणले राजनीति मन पर्न थाल्यो ।

‘आमाले कार्यक्रममा लैजानु हुन्थ्यो, मेरो राजनीतिक जीवनको सुरुआत त्यहींबाटै भएको होला,’ संगीता राजनीतिक जीवनको सुरुवाती दिन सम्झिन्छिन् । राज्यले दलितमाथि गरेको विभेदको कथा र त्यसविरुद्ध गर्नुपर्ने विद्रोहको योजना सुन्दै हुर्किएकी संगीता अछामी जनप्रतिनिधि भइन्, र अहिले पाँच वर्षे आफ्नो कार्यकालको अन्त्यतिर आइपुगेकी छिन्, समीक्षा गर्ने चरणमा छिन् ।

२०७४ को सुरुआतमै मुलुकमा पहिलोपटक स्थानीय तहको निर्वाचन हुँदै थियो । गाँउघरमै सिंहदरबार आउने भयो भनेर नागरिकमा उत्साह छाएको थियो । नेकपा एमालेले संगीता अछामीलाई ललितपुर महानगरपालिका वडानम्बर १४ मा दलित महिला सदस्यका लागि टिकट दियो । उनी विजयी पनि भइन् । ‘हिजोसम्म पार्टीको काम गरिन्थ्यो, आज नागरिकको काम गरिन्छ’ अछामीले भनिन्, ‘हरेक कुरा बोल्दा र लेख्दा जनप्रतिनिधि हुनुको जिम्मेवारी बोध हुन्छ ।’

संविधानले नै राज्यका हरेक संरचना र पार्टी संरचना समावेशी व्यवस्था अपनाउन बाध्य पारेकाले आफूहरू जनताको काम गर्ने ठाउँमा पुगेको अछामीले बताइन् ।

संगीता कार्यपालिका सदस्य पनि हुन् । त्यसैले महानगरपालिका र वडा कार्यलयमा उनको समय बित्छ । घरपरिवारको जिम्मेवारीसँगै सामाजिक जिम्मेवारी वहन गर्न कठिन त छ, तर रमाइलो पनि लाग्छ । ‘स्थानीय शासनको अभ्यास पहिलो भएकाले यसलाई अवसरसँगै चुनौतीको रुपमा लिएकी छु,’ उनले भनिन् ।

विकास निमार्णदेखि बजेट संशोधनसम्मका काम कसरी गर्न सकिन्छ ? प्रक्रिया के-के छहुन्छ ? लगायतको कुरामा बुझ्न, अनि बुझाउन पाएको उनको अनुभव छ ।

जनप्रतिनिधि चुनिएपछि संगीताले सबभन्दा धेरै सामना गरेको प्रश्नचाहिँ दलित महिला पनि ‘यति राम्रा र बुझेका हुन्छन् र ?’ भन्ने हो । महिला अनि दलित भएकै कारण उनले आफ्नै सहकर्मीबाट धेरैपटक प्रत्यक्ष अप्रत्यक्ष विभेद भोगेकी छिन्

स्थानीय सरकारका २२ वटा अधिकार हुन्छन् । संगीता आर्थिक समिति, राजस्व संकलन समितिकी सदस्य पनि हुन् । त्यसैले उनले महानगरमा कसरी काम गरिन्छ भन्ने नजिकबाट नियाल्न पाएकी छिन्, राजनीतिमा अघि बढ्न र नेतृत्व क्षमता बढाउन मद्दत पुगेको छ । संगीताकाअनुसार चार वर्षमा उनले ३० लाखको बजेट लक्षित वर्गलाई छुट्याउन सफल भइन् । स्यानेटेरी प्याड बनाउने, बेकरी तालीम, ढाका बुन्ने तालीम, तीन महिने अनौपाचारिक शिक्षा कार्यक्रमलाई उनी आफ्ना उपलब्धि हुन् भन्न रुचाउँछिन् ।

ललितपुर जिल्ला पूर्ण साक्षर जिल्ला घोषणा गरिए पनि कति दिदीबहिनीलाई अंग्रजीको सामान्य शब्द पनि नजान्दा पीडा भएको उनले वडाको भेलामा सुनिन् । ‘वैदेशिक रोजगारी तथा अध्ययनका लागि घरका सदस्य बाहिर हुन्छन्, उनीहरूसँग सामाजिक सञ्जालबाट कुरा गर्नुपर्ने हुन्छ’ उनले भनिन्, ‘मोबाइलका अक्षर अंग्रेजीमा हुँदा समस्या परेको थियो, तीन महीने शिक्षाले सकारात्मक नतिजा ल्यायो ।’

तर चार वर्षमा प्राप्त उपलब्धि सुनाउँदा संगीताको मुहारमा जुन खुशी देखिन्छ, त्यसभित्र लुकेको पीडाको दर पनि त्यति नै छ । भन्छिन्, ‘निर्वाचित हुँदा धेरै प्रतिबद्धता गरेकी थिएँ, त्यो सबै पूरा गर्न नसकेकोमा मन खिन्न हुन्छ ।’

अरुको समस्या सुन्नुपर्नेहरु आफैं समस्या

उनलाई थाहा थियो, राजनीति गर्न सजिलो छैन । तर जनप्रतिनिधि भएपछि बुझिन, सरकारमा बसेर भूमिका निर्वाह गर्न झन गाह्रो रहेछ, बाहिबाटे देखिए जस्तो रहेनछ ।

आफू नागरिकको समस्या समाधान गर्ने ठाउँमा हुँदा र आफ्नै समस्या सुनिदिने कोही नहुँदाको विरोधाभाषले अरु महिला जनप्रतिनिधिजस्तै संगीता पनि पिरोलिन्छिन् । ‘३९ जना कार्यपालिाका सदस्य छौं । प्रमुख र उपप्रमुख नै मुख्य हुन्छन्, बोले पनि सुनेको नसुने जस्तो व्यवहार गरिन्छ’ उनी भन्छिन्, ‘आफ्नो वडाको दलित बस्तीमा बजेट लैजान खोज्दा जानेको बुझेको कोही हुँदैन, आफैँ-आफैँ लड्छन् भनेर तयार पारेको बजेट नै रोकिदिए ।’

जनप्रतिनिधि चुनिएपछि उनले सबभन्दा धेरै सामना गरेको प्रश्नचाहिँ दलित महिला पनि ‘यति राम्रा र बुझेका हुन्छन् र ?’ भन्ने हो । महिला अनि दलित भएकै कारण उनले आफ्नै सहकर्मीबाट धेरैपटक प्रत्यक्ष अप्रत्यक्ष विभेद भोगेकी छिन् । ‘अधिकार बराबर भए पनि महिला, दलित महिलामाथि भेदभाव गरिन्छ’ अछामीले भनिन्, ‘बैठकको माइन्युट होस् या बोर्ड जता पनि विभेद हुन्छ ।’

दलितले पनि गर्न सक्छन् र कोटाले गर्दा पाएका हुन्, क्षमताले होइन भनेको सुन्दा उनलाई रिस नउठ्ने होइन तर काम गरेर नै देखाउनु छ भन्ने लाग्छ । ‘दलितको मात्र भोटले जितेको होइन, गैरदलितको भोट पनि हो अनि कसरी गर्न सकिँदैन ?’ उनी भन्छिन्, ‘अलिकति बुझेको र जानेको मान्छेले त कति विभेद भोगेकी छु भने दुर्गमका दिदीबहिनीको अवस्था कस्तो होला ? ताली बजाउने र टेबुल ठटाउने गरेरै यो कार्यकाल सकियो ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४