काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले फेरि कांग्रेसको सभापति बन्ने इच्छा व्यक्त गर्नु भएको छ ।
सोमबार बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले आफ्नो इच्छा व्यक्त गर्नु भएको होे ।
सभापतिले देउवाले १४ औं महाधिवेशनमा पनि आफैँ सभापति लड्न लागेको जानकारी दिदै सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह समेत गर्नुभयो ।
उहाँले अर्को पटक सभापति भएर राम्रो काम गरेर देखाउने पनि बताउनुभयो । सभापति देउवाले भन्नुभयो ‘मेरो अन्तिमपटक हो, त्यसैले तपाईहरुबाट सहयोगको पनि अपेक्षा गरेको छु ।’
सभापति देउवाले महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने पनि बताउनुभयो । अर्को प्रसंगमा सभापति देउवाले सत्ता गठबन्धन निर्वाचनसम्मै जाने जानकारी दिनुभयो ।
प्रधानमन्त्री देउवाले वर्तमान पाँच दलीय गठबन्धन सरकार राष्ट्रियसभा चुनावसम्मका लागि भएको बताउनुभयो । राष्ट्रियसभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा सत्ता साझेदार दलहरुबीच छलफल नभएको उल्लेख गर्नुभयो ।
राष्ट्रिय सभामा २० सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदैछ । निर्वाचन आयोगले माघ १२ गते राष्ट्रिय सभा चुनाव गर्ने तयारी गरेको छ । राष्ट्रिय सभाका २० सदस्यमध्ये १ जना राष्ट्रपतिबाट मनोनित हुन् भने १९ पदका लागि निर्वाचन हुन लागेको हो ।