Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हारपछिका कमल थापा : ‘पाको नेता’को काँचो व्यवहार


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १९ २०७८
  • 5K
    SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा मतदान चलिरहँदा अध्यक्षका उम्मेदवार कमल थापा उत्साहित थिए । आफूले जित्नेमा ढुक्क देखिएका उनले अर्का उम्मेदवार राजेन्द्र लिङ्देनलाई सहमतिमा ल्याउन प्रयास समेत गरेनन् । लिङ्देन लगायतका उम्मेदवारहरु प्रतिनिधिसँग भोट मागिरहँदा अध्यक्ष थापा, लिङ्देन समूहका महामन्त्रीकी उम्मेदवार रेखा थापासँग सामाजिक सञ्जालमा दोहोरी खेलिरहेका थिए ।

मतदान प्रक्रिया शुरु भएपछि केही दबावमा देखिएका उनले अर्का अध्यक्ष पशुपतिशम्शेर जबरालाई आफ्नो पक्षमा खुल्न लगाए । हस्तलिखित वक्तव्यमा जबराले आफूले लिङ्देनलाई समर्थन गरेको भनेर कुप्रचार भएको मात्र भनेका छैनन्, आफू ‘काँचो नेतृत्व’को पक्षमा नभएको उल्लेख गरेका छन् । प्रष्ट शब्दमा नभनेपछि आफूलाई समर्थन गरेको भाव बुझिने राणाको वक्तव्य सामाजिक सञ्जाल ट्वीटरमा शेयर गर्दै थापाले लेखे, ‘राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले पार्टी एकताको पक्षमा गर्नुभएको त्यागलाई निहीत स्वार्थका निम्ति दुरुपयोग निन्दनीय छ । ‘काँचो नेतृत्व’ बाट सचेत रहौं ।

तर आइतबार बिहानै थापालाई नराम्रो झड्का लाग्यो । पदाधिकारीमा महामन्त्री धवलशम्शेर राणा बाहेक सबै आफ्नो प्यानलका उम्मेदवार विजयी हुँदा उनी भने पराजित भए । आफ्ना पूर्वअध्यक्ष थापालाई २०० मतान्तरले हराउँदै झापाका लिङ्देन राप्रपाको अध्यक्षमा निर्वाचित हुन सफल भएका छन् ।

  • कमलको काँचो कार्यशैली

निर्वाचन परिणाम घोषणापछि अवस्था फेरिएको छ । आफूलाई ‘पाको नेतृत्व’मा प्रस्तुत गरेका थापाले त्यसलाई धुलिसात हुने व्यवहार देखाइरहेका छन् भने काँचो नेतृत्व’को आरोप खेपेका लिङदेन परिपक्व नेता बन्ने प्रयासमा छन् ।

समाजिक सञ्जालमार्फत अध्यक्षमा निर्वाचित लिङ्देनलाई बधाइ दिने औपचारिक पुरा गरेका थापा पूर्व निर्धारित कार्यक्रम नयाँ कमिटीको सपथ ग्रहणमा समेत गएनन् । निवर्तमान अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी कार्यक्रममा पुगे । थापाले पनि आफू पार्टी अध्यक्ष भएको बेला भएको महाधिवेशनमा आएका प्रतिनिधिहरुले गरेको निर्णयलाई स्वीकार गरेर राजनीतिक संस्कार देखाउन सक्थे । तर उनले त्यसो गर्न चाहेनन् ।

बरु हारको आरोप निर्मल निवास तिर पोख्न व्यस्त रहे । आफ्नो पार्टीको निर्वाचनमा निर्मल निवासको नाङ्गो हस्तक्षेप गरेको भन्दै भर्त्सना गरेका उनले लिङ्देनको जितमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई बधाई दिँदै कटाक्ष समेत गरेका छन् ।

उनले अर्को ट्वीट छ, सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाएयो । सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’

पूर्वयुवराज्ञी हिमानी (?) को ट्वीटमा पनि प्रतिवाद गर्दै उनले लेखेका छन्, ‘अब चाँडै राजसंस्था पुनर्स्थापना हुने भएको हुँदा हार्दिक बधाई तथा शुभकामना ।’

लोकतान्त्रिक मूल्य मान्यतालाई पछ्याउने हरेक नेताले आफू अल्पमतमा परेपछि बहुमत पक्षलाई स्वीकार गर्नुपर्छ । तर चुनावी परिणाम घोषणा भएपछि थापाको अभिव्यक्तिहरु हेर्दा लाग्छ, उनले त्यसलाई स्वीकार गर्न सकिरहेका छैनन् ।

  • थापा पराजयको जग

राप्रपाजस्तो सम्वर्द्धनवादी धारमा दुई दशकदेखि सत्ता र शक्तिको रजगज गरिरहेको नेतृत्वलाई चुनौती दिनु नै चानचुने होइन । त्यो नेतृत्वलाई विस्थापित गर्नु त अझ कठिन थियो । तर राप्रपा अध्यक्षमा कमल थापाको पराजय आकस्मिक नतिजा पनि होइन । यो त उनकै लामो कर्मद्वारा सञ्चित नतिजा हो ।

राप्रपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले कुनै बेला आरोप लगाएजस्तै उनले राजनीतिक जीवनमा पटकपटक मुसा प्रवृत्ति देखाए । राजसंस्था पुनर्स्थापना र हिन्दूराज्य स्थापनाको एजेण्डा लिएको राप्रपाका अध्यक्ष थापा गणतान्त्रिक सरकारको उपप्रधानमन्त्रीसम्म बने, तर राजतन्त्र फर्काउने नारा लगाउन पनि छाडेनन् । नेपाली कांग्रेससँग गठबन्धन गर्दै २०७४ को आम चुनावमा ५ सिटमा मात्र उम्मेदवार उठाउने निर्णय गरे, जसलाई उनी स्वंयमले ठूलो गल्ती स्वीकार गरेका छन् । एमाले अध्यक्ष केपी ओलीसँगको निकटताले पनि थापा, पार्टीमा आलोचित थिए ।

उनको कार्यशैलीमाथि पनि प्रशस्तै प्रश्न उठेको थियो । पार्टीमा एकलौटी गरेका उनले आफू अनुकल नभएका पदाधिकारी हटाउने र अनुकुललाई मनोनित गर्ने श्रृँखला चलाए । आफूलाई चुनौती दिन खोजेको कारबाही स्वरुप धबलशम्शेर राणा र राजेन्द्र लिङ्देन दुवैलाई महामन्त्रीबाट हटाएका थिए ।

अन्ततः उनीहरु दुवै मिलेर पार्टीभित्र भुसको आगोजस्तै फैलिरहेको नेतृत्व हस्तान्तरणको मुद्दा उठाए । ‘स्थानीय निर्वाचनमा राप्रपा नराम्रोसँग पराजित भएकै बेला दोस्रो र तेस्रो पुस्ताका नेताको निष्कर्ष थियो, यही नेतृत्व र यही कार्यशैलीबाट अब राप्रपाले पुनर्जीवन पाउन सक्दैन, अब नेतृत्व पुस्तान्तरणको मुद्दा अगाडि बढाउनुपर्छ,’ राप्रपाका नेता सुरेश आचार्यका भन्छन्, ‘नेतृत्व हस्तान्तरणको त्यो मुद्दाले अहिले सार्थकता पाएको मात्रै हो ।’

अर्को फ्याक्टर निर्मल निवास पनि हो । किनकी पछिल्लो समय ‘राजा आऊ, देश बचाऊ’ भनेर भएका आन्दोलनहरु राप्रपाको नेतृत्वमा भएको थिएन । यसले निर्मल निवास उनीसँग चिढिएको हुनसक्छ । तर निर्मल निवासले नै आफूलाई हराएको भन्ने थापाको तर्कमा अहसमत भएका राप्रपा नेता भन्छन्, ‘निर्मल निवासलाई आफ्नो पक्षमा पार्न नसक्नु पनि एकप्रकारले कमजोरी नै हो । राजतन्त्रको नारा लगाउने नेतालाई स्वयं पूर्वराजा ज्ञानेन्द्रले मन पराउँदैनन् भने राप्रपा पंक्तिले मन पराउनुपर्छ भन्ने के छ र ?’

  • पुस्तान्तरणको सन्देश

राजनीतिक विश्लेषक विष्णु दाहालको बुझाइमा राप्रपा अध्यक्षमा लिङदेनको विजयले राजनीतिमा नयाँ पुस्ता अगाडि आउँदैछ भन्ने सन्देश दिएको छ । ‘जो एकहदसम्म राजनीतिक उचाइ प्राप्त गरेर पनि लामो समयदेखि नेतृत्वमा घुमिरहेका छन्, उनीहरुभन्दा नयाँ टेस्ट खोजिरहेका छन्,’ विश्लेषक दाहाल भन्छन्, ‘अब कमल थापाहरुको भाषण युवाले रुचाउँदैनन् । नयाँ पुस्ता, भावी योजना र नेतृत्वको परीक्षण नयाँनयाँ गर्न चाहन्छ ।’

लिङ्देनको जीतमा एमाले, माओवादी र कांगेसका पनि धेरै कार्यकर्ता खुसी भएका र आफ्नो पार्टीमा पनि यस्तै क्रमभंग होस् भन्ने चाहेका दाहालको बुझाई छ ।

कांग्रेस उपसभापति विमलेन्द्र निधि, जो सभापतिका आकांक्षी पनि हुन्, ले लिङ्देनलाई बधाई दिँदै भनेका छन्, ‘राप्रपाको यो महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रक्रिया प्रारम्भ भएको सन्देश दिएको छ ।

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेको बुझाइ पनि पुस्तान्तरणको शुरुवात राप्रपाबाट भएको मान्छन् । ‘प्रमुख राजनीतिक एजेन्डामा हामी १८० डिग्री फरक छौं, तर पनि आजको राजनीतिको अर्को महत्वपूर्ण आवश्यकता भनेको नेतृत्व परिवर्तन हो,’ पाण्डे भन्छन्, ‘त्यो पुस्तालाई परिवर्तन नगरी राजनीति संग्लिँदैन । त्यो काम राप्रपाबाट शुरु भएको छ ।’

  • लिङ्देनको परिपक्व प्रस्तुति

राप्रपाको तीन दशक लामो इतिहास हेर्दा पार्टी अध्यक्ष हुनका लागि पार्टी फुटाउने परम्परा थियो । तर राजेन्द्र लिङ्देनले लोकतान्त्रिक प्रक्रियाबाट पुस्तान्तरणको सुरुवात गर्दै राप्रपाबारे समाजमा स्थापित भाष्यलाई बदल्ने प्रयास गरेका छन् ।

उनमा जितको उन्माद देखिएको छैन भने प्रारम्भीक अभिव्यक्ति र व्यवहार परिपक्व र संयमित देखिएको छ । यसबाट लिङ्देनले आफ्ना अग्रज नेताले देखाएको उत्ताउलो प्रस्तुति र ‘काँचो नेता’को आरोपलाई व्यवहारबाटै गलत सावित गरिदिएका छन् । उलले पार्टीको आन्तरिक प्रतिस्पर्धा भएकाले आफ्नो विजयमा जुलुस ननिकाल्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् भने अध्यक्षत्रयको अभिभावकीय भूमिकासँगै सक्रियता पार्टीलाई अझै चाहिने बताएका छन् ।

‘नेतृत्व परिर्वतनको कुरा गरेको तपाईंहरुलाई राप्रपाबाट बाहिर राखौं भनेको होइन । ड्राइभर परिवर्तन गरौं मात्र भनेको हौं,’ उनले पूर्व अध्यक्षहरुलाई भनेका छन्, ‘तपाईंहरुको मान सम्मानमा कुनै पनि कमी हुन दिने छैन, यो प्रतिवद्धता हो ।’

पार्टीले बोकेको विचारलाई जिवन्त राख्न थापाले देखाएको सक्रियतालाई कहिल्यै अवमूल्यान गर्न नसक्ने उनले बताए । अहिले पनि पार्टीमा थापाको उत्तिकै खाँचो रहेको भन्दै अध्यक्ष लिङ्देनले भने, ‘आज यहाँ हुनु भएको भए सुनमा सुगन्ध हुन्थ्यो । म फेरि पनि विश्वास गर्छु, आगामी दिनमा हामी सँगै हुन्छौं ।’

यद्यपि आफ्ना पूर्वअध्यक्ष थापालाई समेटेर अघि बढ्न लिङ्देनलाई सजिलो भने देखिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४