Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पौडेल र कोइरालाको सन्देश : साझा उम्मेदवार बनाऔं, त्याग गर्न तयार छौं


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १८ २०७८
  • 2.5K
    SHARES

पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेश सभापतिमा रामचन्द्र पौडेल समूहमा पाँच जना आकांक्षी थिए । उनीहरुमध्ये शुक्रराज शर्मालाई साझा उम्मेदवार घोषणा गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्य दाबेदारलाई आग्रह गरेका थिए, ‘तपाईंहरुले मुटुमा गाँठो पारेर यो निर्णय मानिदिनुपर्‍यो ।’

शुक्रराज नेतृत्वको आफ्नो प्यानलका उम्मेदवारलाई शनिबार मत हाल्दा पनि वरिष्ठ नेता पौडेलमा भने चिन्ताको गाँठो झनै कसिँदै गइरहेको थियो । मतदान गरेर काठमाडौं फर्किँदै गर्दा पोखरा विमानस्थलमा भेटिएका पौडेल दुई कुराले चिन्तित देखिए ।

पहिलो, आफ्नो पक्षको बलियो प्रदेशमै संस्थापन इतरका साझा उम्मेदवार शुक्रराज शर्माले जीत हासिल गर्न सकेनन् भने प्यानललाई मात्रै होइन, स्वयं आफूलाई पनि ठूलो धक्का लाग्ने छ ।

दोस्रो चिन्ताको विषय थियो, गण्डकी प्रदेशमा त जसोतसो एक जना मात्रै उम्मेदवारमा सहमति जुट्यो, केन्द्रमै सभापतिका उम्मेदवार मिलाउन ‘महाभारत’ छ ।

गण्डकीमा आफ्नो शाख जोगाउन वरिष्ठ नेता पौडेलसँगै महामन्त्री शशांक कोइराला चार दिन पोखरामै बसेर मतदानपछि शनिबारसँगै काठमाडौं फर्किएका छन् ।

गण्डकीमा साझा उम्मेदवार तय गर्न सक्नु ठूलै उपलब्धी मानेर काठमाडौं फर्किंएका पौडेल र कोइराला केन्द्रीय महाधिवेशनमा भने दुबै सभापतिका आकांक्षी हुन् । वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालासँगै पूर्व महामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला पनि सभापतिका आकांक्षी छन् ।

तेस्रो धार भनिरहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई समेटेर लैजानुपर्ने उनीहरुकै धारणा छ । तर महाधिवेशन आउन एक साता मात्र बाँकी हुँदा पनि कुनै समति जुटेको छैन । यस्तो रस्साकस्सीमा सभापतिको साझा उम्मेदवार कहिले र कसरी तय हुन्छ त ? वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाको जवाफ छ, ‘सबै काठमाडौं फर्केलगत्तै छलफल गर्छौं । २१/२२ गतेभित्रै उम्मेदवार टुंग्याउँछौं । साझा उम्मेदवार बनाउन आवश्यक परे त्याग गर्न तयार छौं ।’

पोखरा विमानस्थलमा अनलाइनखबरसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले उम्मेदवारको आकांक्षी धेरै हुँदा मिलाउन चुनौतिपूर्ण रहेको मात्र बताएनन्, झै–झगडाको बीचमा आफू सभापतिमा नउठौंजस्तो लागेको समेत सुनाए ।

वरिष्ठ नेता पौडेलले संस्थापन पक्ष तथा अहिलेका सभापति शेरबहादुर देउवाले सत्ता, शक्ति र पैसको प्रयोग गर्दै धाँदली गरिरहेकाले पनि नेतृत्व परिवर्तन आवश्यक रहेको बताए । त्यसका लागि सभापति को बन्ने भन्दा पनि कसले नेतृत्व गर्न सक्छ भन्ने विवेक पुर्‍याउनुपर्ने पौडेलको भनाइ थियो ।

  • पौडेलको प्रतिक्रिया उनकै शब्दमा

साथीहरु सबै काठमाडौं फफर्किपछि २१ वा २२ गतेभित्रै सभापतिको उम्मेदवारबारे छिनोफानो गर्छौं । वास्तविक ग्राउण्ड रियालिटी हेरेर, अहिलेको आवश्यकता के हो बुझेर, कसलाई अगाडि सर्दा उपयुक्त विकल्प दिन सकिन्छ र कसलाई उठाउँदा सबै अटाउन सकिन्छ सबै कुरा हेरेर निकास दिन्छौं ।

सामूहिक निर्णय र सोचबाटै उम्मेदवारी तय गरौं । आफूले एक्लै नभनौं, एक्लै म उम्मेदवार हो किन भन्ने ? सामूहिक उम्मेदवार हुँदा विचार समूहको एकताको भाव देखिन्छ । मैले पनि फ्याट्ट उम्मेदवार मै हो भनेको छैन ।

एउटै विचार समूहबाट धेरै जना आकांक्षी हुँदा प्रतिस्पर्धामा असर गर्छ । हामीले पहिले नै एउटा उम्मेदवार भनेर जान सकेको भए अहिलेभन्दा धेरै राम्रो परिणाम हाम्रो पक्षमा आइसकेको हुन्थ्यो । हामीलाई धरमर कतै पनि राख्नु पर्ने स्थिति रहँदैनथ्यो । देशैभरि साथीहरु उत्साही भएर महाअभियानमा लागिसकेका हुन्थे । तर हाम्रो उम्मेदवार भनेर छर्लंग नहुँदा सुस्सता आएको छ । आकांक्षी धेरै भए पनि हाम्रो विचार समूहबाट एक जनामात्र उम्मेदवार बनाउँछौं । यदि यसो गर्न सकेनौं भने पार्टीको भविष्य अन्धकारमा जान्छ ।

पार्टीलाई जसरी पनि कब्जा गर्नुपर्छ भनेर अहिलेको संस्थापन पक्ष,सभापतिजीले धाँदलीका सम्पूर्ण हत्कण्डा अपनाएका छन् । देशैभरि ठूलो र अभूतपूर्व मात्रामा क्रियाशील सदस्यतादेखि नै सूनियोजित धाँदली भएको छ । चुनावहरुमा पनि धाँदली भएको छ । प्रशासन, पुलिस, शक्ति र सम्पत्तिको धेरै ठूलो प्रयोग भइरहेको छ । त्यो लोकतन्त्रका लागि अत्यन्त दूर्भाग्यपूर्ण हो । लोकतन्त्रको विकासका निम्ति ज्यादै अप्रिय अवस्था मैले मानेको छु ।

राष्ट्रलाई लोकतन्त्रको बाटोमा डोर्‍याउने, समाजलाई लोकतान्त्रिक बनाउने हाम्रो दायित्व हो । समाजलाई लोकतान्त्रिक बनाउनु पर्ने दायित्व लिएको पार्टीमा अनेक हत्कण्डा अपनाएर नेतृत्व चयनमा खेल भइरहेको छ । यसले लोकतन्त्रको आन्दोलनलाई क्षति पुर्‍याएको छ । क्षतिलाई न्यूनिकरण गर्न र पार्टीलाई जोगाउन विवेकपूर्ण निर्णय लिनुपर्ने छ । कांग्रेस पार्टीलाई सफल बनाउन भोलि कस्तो नीति, चरित्र चाहिन्छ भनेर साथीहरुले निर्णय गर्नुहुन्छ भनेर विश्वास छ ।

म सधैं पार्टीका लागि त्याग गरेकै मान्छे हुँ । संस्थापनविरुद्ध एकताको लागि त्याग गर्न तयार छु । मबाहेक अरु कोही हुँदैन भनेर मैले कहिल्यै भनेको छैन । तर कांग्रेसको सभापति भनेको सरकारको नेतृत्व गर्ने, राष्ट्रले स्वीकार्ने, पत्याउने व्यक्ति चाहिन्छ । त्यसैले अहिलेको अवस्थामा कस्तो विकल्प प्रस्तुत गर्दा जुन कुरा भनिरहेका छौं, त्यो पूरा हुन्छ हेरौं भनेर साथीहरुलाई भनेको छु ।

धेरै जना आकांक्षी गण्डकी प्रदेशमै पनि थिए । ५ जना साथीहरु मै हुनुपर्छ भनेर तयारीमा लाग्नुभएको थियो । तर पनि गण्डकीमा एकमात्र उम्मेदवार भेटायौं नि ! यसलाई मैले ठूलो उपलब्धि सम्झिएको छु । केन्द्रमा पनि हामीले यस्तै गर्न सक्छौं । कांग्रेस चिरा पर्न थाल्यो भने त्यसको ठूलो क्षति व्यहोर्नुपर्ने छ । को सभापति बन्ने भन्दा पनि को सभापति हुँदा कांग्रेसले चुनाव जित्ने सन्देश जनताले पाउँछन् भन्ने हो । चुनाव जित्न कस्तो अनुहार जनताले देख्न चाहेका छन्, यो कांग्रेसजनले अवश्य पनि सोच्नुपर्छ । अहिलेको जमानामा जनताले आँखा चिम्लिएर भोट हाल्दैनन्, सबै कुरा हेरेर भोट हाल्छन् । नेतृत्वको छाँटकाँटलाई अवश्य हेर्छन्, निष्ठा र नैतिकतालाई पनि हेर्छन् ।

त्यसैले पार्टीलाई नयाँ रुपान्तरणमा लैजान नेतृत्व परिवर्तन जरुरी भइसक्यो । पार्टीलाई सुधार गरेर जनताको बीचमा लोकप्रिय पार्टी बनाउन पनि नेतृत्व परिवर्तन आवश्यक छ । जनताले भरोसा र आस्था राख्ने पार्टी बनाउन पनि विशेष गुण चाहिन्छ । यो विषयमा सबै साथीले गम्भीर भएर विवेचना गर्न जरुरी छ ।

  • शेखर दालाई छोडेको होइन : शशांक

महामन्त्री शशांकले सर्लाहीमा पुगेर कांग्रेस सभापतिमा दाइ शेखर कोइरालालाई समर्थन गर्ने संकेत गरेका थिए । त्यसमाथि उनले दाजु शेखरलाई समर्थन गरेको र पत्रकार सम्मेलन गर्ने तयारी भइरहँदा भाँडिएको खबरले कांग्रेस, त्यसमा पनि रामचन्द्र पौडेल समूह निकै तरंगित भएको थियो ।

पार्टीभित्रको झै झगडाका कारण आफूलाई सभापतिमा नउठौं कि भन्ने लागेको बताएका शशांकले दाजु शेखरलाई छोड्छु नभनेको प्रतिक्रिया दिएका छन् । ‘मैले छोड्ने भन्याथिनँ,’ उनले भने, ‘शेखर दा तपाईँ सक्नुहुन्न, म पनि क्यान्डिडेट हुँ भनेको छु ।’ काठमाडौं फर्किएलगत्तै सबै नेता बसेर छिटै टुंगो लगाउने कोइरालाको भनाइ थियो । ‘जसको जित्ने सम्भावना बढी छ, उसैलाई दिनुपर्छ । आकांक्षी धेरै हुँदा समस्या छ तर हामी टुंगो लाउँछौं,’ कोइरालाले भने, ‘यति झैझगडा छ कि म नउठौंजस्तो लाग्या छ, अहिले चाहिँ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४