त्यसअघि मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ संकायको डिन पदमा रहेका घिमिरेले अध्ययन विदा लिएर ऊर्जा मन्त्रालय मातहतको विद्युत उत्पादन कम्पनी लिमिटेडको प्रवन्ध निर्देशक पदमा नियुक्ति लिएका थिए । दोहोरो सुविधा लिएको सार्वजनिक भएपछि सञ्चालक समितिले घिमिरेलाई कामकाज गर्न रोक लगाएको थियो । त्यसपछि मध्यपश्चिम विश्वविद्यालयबाट राजीनामा दिन उनी बाध्य भएका थिए । त्यसपछि विद्युत उत्पादन कम्पनी लिमिटेड पनि छाडेर उनी लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका थिए ।

घिमिरेले आफूलाई ‘बाँच्न मन छ र परिवारको माया छ भने दाङमा स्थायी राजधानीको काम तुरुन्त रोक्नू नत्र बुटवल आएपछि दाङ फर्कन पाउँदैनस् है’ भन्दै धम्की दिइएको बताएका छन् । बिहीबार राति ८ बजेर १० मिनेटमा म्यासेन्जरमा धम्कीपूर्ण म्यासेज आएको घिमिरेले बताए ।
प्रमुख घिमिरेले आफूलाई धम्की आएको विषयमा तीनवटै सुरक्षा निकायलाई जानकारी गराएको र आफ्नो ज्यानको सुरक्षा तथा अनुसन्धान गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय दाङमा लिखित निवेदन दिएको बताए । ‘निकै तल्लोस्तरमा गालीगलोज सहित दिइएको धम्कीले असुरक्षाको महसुस भएको छ,’ प्रमुख घिमिरेले जन न्युज नेपाल खबरसँग भने, ‘कुन नियतले कसरी यस्तो धम्की दिइयो गहिराइमा गएर अनुसन्धान होस् ।’
अर्थ मन्त्रालयले बजेट रोकिदिएको विषयसमेत उल्लेख गरेर आफूलाई धम्की दिइएकाले आफूलाई धम्की दिने व्यक्ति सर्वसाधारण नभएको अनुमान उनले लगाए । स्थायी राजधानी दाङ बनाउने निर्णयबाट असन्तुष्ट स्वार्थ समूहले आफूलाई धम्की दिएको हुनसक्ने घिमिरेको अनुमान छ । आफू सरकारको निर्णय कार्यान्वयन गर्ने दायित्व बोकेको व्यक्ति मात्र भएकाले राजधानीसँग आफूलाई जोडेर धम्की दिनु गलत भएको घिमिरेको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरशप्रसाद काफ्लेले घिमिरेलाई दिइएको धम्कीबारे अनुसन्धान शुरु भएको र छिट्टै दोषीलाई अनुसन्धानको दायरामा ल्याउने बताए ।
