नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले समय माग गरेकाले प्रधानमन्त्री देउवाले बोलाएको बताए । उनले भने, ‘अस्ति उहाँहरु कता कता व्यस्त हुनुभएकाले हामीले ज्ञापनपत्र बुझाउन पनि पाएका थिएनौं, अरु कुराहरु पनि गर्नु थियो भनेपछि बोलाउनुभएको हो ।’
बार महासचिव लीलामणि पौड्यालका अनुसार, प्रधानमन्त्रीसँगको भेटमा प्रधानन्यायाधीश जबराको बहिर्गमन र नेपाल बारले अघि सारेको न्यायालय शुद्धिकरणको अवधारणाका विषयमा छलफल हुनेछ ।
छलफलमा बार पदाधिकारीका साथै वरिष्ठ अधिवक्ता दमननाथ ढुंगाना, बद्रीबहादुर कार्की, शम्भु थापा, हरिहर दाहाल, रमण श्रेष्ठ, प्रेमबहादुर खड्का पनि सामेल हुने तय भएको छ । त्यसैगरी नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्षका साथै केही पदाधिकारी पनि जादैछन् ।
कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको बहिर्गमनमा सहयोग गरिदिन भन्दै विभिन्न दलको संसदीय दलको कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । तर कांग्रेसको संसदीय दलका नेता (प्रधानमन्त्री)का साथै दलको प्रमुख सचेतक र सचेतकसमेत बाहिर भएकाले शुक्रबारको मिति तय भएको बार महासचिव पौडेलले बताए ।
