Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओली निकट नेताहरूमै दुई धार


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर ७ २०७८
  • 3.2K
    SHARES

काठमाडौं । चितवनमा शुक्रबार शुरु हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन दुई दिन बाँकी रहँदा अध्यक्ष केपी शर्मा ओली निकट नेताहरू दुई धारमा देखिएका छन् ।

कतिपय नेताहरुले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने दावी गर्दै आएपनि निर्वाचनको सम्भावना बढेसँगै ओली निकट नेताहरू पनि विभाजित हुन पुगेका हुन् । अध्यक्ष पद छोडेर बाँकीमा प्रतिस्पर्धा गर्ने गरी दुई धार बन्न पुगेको एक नेता बताउँछन् ।

सुवास नेम्वाङ र महेश बस्नेतले उम्मेदवारी घोषणा गरेरै त्यो संकेत दिइसके,’ ती नेता भन्छन्, हामी पत्रकार सम्मेलन गरेर होइन, चितवनमा उचित समयमा उम्मेदवारी दिने हो ।’

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मतदानको माध्यमबाट पदाधिकारी टुंग्याउने अवस्थामा आफूले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । कार्यकर्ताको चाहना र राष्ट्रिय आवश्यकतामा आफ्नो उम्मेदवारी भर पर्ने बताउँदै आएका नेम्वाङले सोमबार वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका हुन् । लगत्तै ओली निकट अर्का नेता महेश बस्नेतले पनि पत्रकार सम्मेलन गरी सचिव पदको उम्मेदवार बन्ने घोषणा गरेका छन् । स्रोतका अनुसार, नेम्वाङ र बस्नेतले योजना बनाएरै मुख खोलेका हुन् ।

आइतबार उपाध्यक्ष भीम रावलले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेपछि विकसित घटनाक्रमसँगै ओली पक्षभित्र दुई धार रहेको सार्वजनिक भएपनि नेताहरूबीच बेमेल भने निकै पहिलेबाटै देखिन थालेको थियो ।

बस्नेतले यसअघि नै आफ्नो आकांक्षा सार्वजनिक गर्दै आएपनि नेम्वाङको अभिव्यक्ति अर्थपूर्ण छ । अझ वरिष्ठ उपाध्यक्ष पदमै दावी सार्वजनिक गरेकाले यसलाई चासोका साथ हेरिएको छ । गएको १५–१७ असोजमा सम्पन्न प्रथम विधान महाधिवेशनबाट एमालेमा वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिएको थियो ।

आठौं महाधिवेशनदेखि बहुपदीय प्रणालीको अभ्यास गर्दै आएको एमालेमा ईश्वर पोखरेलकै निम्ति यो पद सिर्जना गरिएको आँकलन थियो । अध्यक्ष पदमा दावी नगर्ने घोषणा गरेकाले पनि पोखरेल निर्विरोध वरिष्ठ उपाध्यक्ष भन्ने प्रचार गरिएको थियो । तर नेम्वाङले पनि दावी गरेकाले अब पोखरेलले मतदानको सामना गर्नुपर्ने परिस्थिति देखिन्छ । ‘यो व्यक्तिगत आकांक्षाको संयोग मात्रै होइन । पार्टीभित्र विकसित दुई धारको संकेत हो’, अर्का नेता भन्छन् ।

ती नेताका अनुसार, पोखरेल र नेम्वाङको नेतृत्व रहने गरी नेताहरू दुई धारमा उभिन पुगेका छन् ।

  • पोखरेल भर्सेज नेम्वाङ

आइतबार उपाध्यक्ष भीम रावलले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेपछि विकसित घटनाक्रमसँगै ओली पक्षभित्र दुई धार रहेको सार्वजनिक भएपनि नेताहरूबीच बेमेल भने निकै पहिलेबाटै देखिन थालेको थियो । केपी ओली प्रधानमन्त्री हुँदा भएका कतिपय निर्णय र त्यसको असरलाई लिएर एउटै मत बन्न सकेको थिएन । अहिले त्यो फरक धारका रुपमा विकसित हुन पुगेको छ’, नेम्वाङ धारमा उभिएका एक नेता भन्छन् ।

उनका अनुसार, पूर्वमाओवादी र १० बुँदे सहमति गरेर एमालेमै रहेका नेताहरूले समेत सहयोग गर्ने बताएका छन् । रामबहादुर थापा, लेखराज भट्ट, विष्णुप्रसाद पौडेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, महेश बस्नेत, प्रभु साह लगायत नेताहरू यो धारमा रहेको दावी गरिएको छ । तर पोखरेल निकट नेता भने नेम्वाङलाई नभएर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्ने नेताहरुको पंक्ति ठूलो भएको बताउँछन् । पोखरेलको पक्षमा विष्णु रिमाल, राजन भट्टराई, रघुवीर महासेठ, भानुभक्त ढकाल, कर्ण थापा, गोकुल बाँस्कोटा, राजेन्द्र गौतमलगायत रहेको उनको दावी छ ।

‘ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष भनेर देशभर भनिसकेका छौं । जित्ने पनि उहाँले नै हो’, नेता कर्ण थापा भन्छन् । यो धारमा लागेका नेताहरूमा विष्णुप्रसाद पौडेल र शंकर पोखरेलमध्ये एक जना  आफ्नोतिर आउनेमा आशा गरेको देखिन्छ । पौडेल र पोखरेल दुवैले महासचिव बन्ने आकांक्षा राखेका छन् ।

  • ओलीलाई अप्ठ्यारो

आफूलाई लगातार साथ दिइरहेका नेताहरू दुई धारमा विभाजित भएकाले सर्वसम्मत रुपमा पदाधिकारी टुंग्याउन प्रयत्न नगर्ने निश्कर्षमा अध्यक्ष ओली समेत देखिएका छन् । सोमबार सम्पादकहरुसँगको अन्तर्क्रियामा पनि ओलीले महाधिवेशनपछि मात्रै आफ्नो उम्मेदवार तय हुने बताए । ‘सहमतिमार्फत् वा चुनाव जितेर आउने नेता नै मेरो उम्मेदवार हो’, वरिष्ठ उपाध्यक्षको उम्मेदवार को हो भन्ने प्रश्नमा ओलीले भनेका थिए ।

‘सहमतिका लागि आग्रह गर्दिनँ, नेताहरूको व्यवस्थापन भने चुनाव लडेर भोट ल्याउनुपर्छ’, ओलीको भनाइ थियो । आग्रह गर्दा पनि दबाव हुन जाने भएकाले कसैलाई केही नभन्ने ओलीले बताए । जबकी ओलीले चाहेमा सहमतिमै पदाधिकारी टुंगिने अनुमान गरिएको थियो । महाधिवेशन नजिक आइसक्दा पनि नेताहरुमा देखिएको मौनतालाई पनि ओलीको संकेतको पर्खाइका रुपमा लिइएको थियो । तर त्यस विपरीत ओलीले ‘सहमति होस् भन्ने व्यक्तिगत चाहना भएको, तर लोकतान्त्रिक अभ्यास नरोक्ने’ बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४