Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसमा फरक दृश्य : नवलपुरमा देउवा–कोइरालाको गठबन्धन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर ७ २०७८
  • 2.1K
    SHARES

पोखरा । नेपाली कांग्रेसको पालिका र क्षेत्रीय अधिवेशनमा सभापति शेरबहादुर देउवा र इतर सूमहबीच प्यानलै बनाएर प्रतिस्पर्धा भइरहेको छ । तर महामन्त्री शशांक कोइरालाको जिल्ला नवलपुरमा भने फरक दृश्य देखिएको छ । नवलपुरमा संस्थापन इतर समूहभित्र पनि शशांक पक्ष हाबी छ । त्यहाँ शशांक पक्षले देउवा पक्षसँग मिलेर एउटै प्यानल बनाएको छ भने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको अर्को प्यानल छ । देउवा–कोइराला र पौडेल समूहबीच प्यानलै बनाएर क्षेत्रीय सभापतिका लागि चुनाव भएको छ ।

‘कांग्रेसको यो आन्तरिक चुनाव हो तर, देशका अन्य ठाउँभन्दा यहाँको दृश्य थोरै फरक छ,’ नवलपुर क्षेत्र नम्बर २ (क) का सांसद तथा महाधिवेशन प्रतिनिधिका उम्मेदवार विष्णु लामिछाने भन्छन्, ‘देउवा–कोइराला र पौडेल समूहबीच प्रतिस्पर्धा भइरहेको छ । यहाँको परिणाम भोलि बिहानसम्म आइपुग्ला ।’ नवलपुर क्षेत्र नम्बर १ को सभापतिका लागि देउवा–कोइराला प्यानलबाट कमलप्रसाद पराजुली र पौडेल पक्षबाट अमृत भट्टचन सभापतिको उम्मेदवार बनेका छन् । यस्तै क्षेत्र नम्बर २ को सभापतिका लागि देउवा–कोइराला प्यानलका जगतबहादुर कार्की र पौडेल प्यानलका सूर्य गुरूङबीच प्रतिस्पर्धा चलिरहेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल पनि नवलपुर क्षेत्र नम्बर १ को (क) बाट प्रदेशसभा सदस्य चुनाव जितेका हुन् । मुख्यमन्त्री पोखरेल देउवा–कोइरालाको प्यानलबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका छन् । क्षेत्र नम्बर २ का ११६७ र ७९९ क्षेत्रीय प्रतिनिधि छन् । दुबै क्षेत्रबाट सबै क्लस्टरमा गरी २४ जना महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी परेको छ । सांसद तथा महाधिवेशन प्रतिनिधि उम्मेदवार ओमकला गौतम भन्छिन्, ‘भूूगोल र परिस्थिति अनुसार पनि राजनीतिलाई प्रभाव पार्ने रहेछ । नवलपुरमा अन्य ठाउँको राजनीतिक दृश्यभन्दा फरक छ । भूगोल र राजनीतिक पृष्ठभूमिले पनि यस्तो प्यानल बन्ने गर्दोरहेछ । यसलाई त्यसरी नै बुझौं, सबै ठाउँमा एकै हुँदैन ।’ क्षेत्रीय महाधिवेशन मात्रै होइन, जिल्लाको पदाधिकारीमा पनि यही प्यानल बन्ने नेताहरुले बताएका छन् । मदनभक्त अधिकारीले देउवा–कोइराला समूहबाट सभापतिको दाबी गरिरहेका छन् भने महेन्द्रध्वज जिसी पौडेल समूहबाट उम्मेदवारको दाबी गरिरहेका छन् ।

  • कास्कीमा पूर्व सांसद र सभापतिको उम्मेदवार नै पराजित

कास्कीमा पूर्व सांसद तथा राष्ट्रिय सभा सदस्य वृन्दा राना र जिल्ला सभापतिमा दाबी गरिरहेका कृष्ण कार्की महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । अघिल्लो कांग्रेस महाधिवेशन कोषाध्यक्ष लडेका कार्की यसपटक कास्की जिल्ला सभापति उठ्ने घोषणा गर्दै क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका थिए । खुलाबाट १० जना प्रतिनिधि छानिनेमा कार्की ११ औं स्थानमा आएका हुन् ।

पूर्व सांसद राना कास्की क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेकी थिइन् । कास्की क्षेत्र नम्बर १ का राजेन्द्रमणि लामिछाने, क्षेत्र नम्बर २ मा केशरप्रसाद निर्दोषी र क्षेत्र नम्बर ३ मा मनोज गुरुङ सभापति बनेका छन् । क्षेत्र नम्बर ३ का निर्वाचित गुरुङ देउवा समूहका हुन् भने लामिछाने र निर्दोषी पौडेल समूहका हुन् ।

  • स्याङ्जामा जिल्ला सभापति र सांसद पराजित

स्याङ्जामा जिल्ला सभापति तथा संघीय सांसद नै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । खुलातर्फबाट उम्मेदवार बनेका कांग्रेस स्याङ्जा कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) महाधिवेशन प्रतिनिधिमा हारेका हुन् । रानाले जिल्ला सभापतिका लागि दाबी गरिरहेका थिए । स्याङ्जा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका राना १२ औं स्थानमा परेका थिए । उनी सभापति शेरबहादुर समूहका हुन् । संघीय सांसद मोहनप्रसाद पाण्डे पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । रामचन्द्र पौडेल समूहका सांसद पाण्डे पनि खुलबाट प्रतिस्पर्धामा थिए ।

स्याङ्जा कांग्रेस पूर्वसभापति खगेन्द्र रेग्मी पनि महाधिवेशन प्रतिनिधिमा पराजित भए । वालिङ नगरपालिकाका पूर्व मेयर भोजराज अर्याल पनि महाधिवेशन प्रतिनिधि बन्न सकेनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४