अध्यक्ष नेपालले अघि भने, ‘यो मन्त्रीहरु रक्सी खाएर मात्तिए, बेलुका बेलुका फाइभस्टार होटलमा गएर रक्सी खाइरहेका छन् र आफ्नो क्लाइन्टहरु सँग बसेर यिनै कुरा गरिरहेका छन् भन्नेकुरा सुन्नु नपरोस् । सिधा कुरा, रक्सी खाने बानी छ भने बानी त्याग्नुस् । अरु आचरण, महिलासँग जोडिएका त्यस्ता कुनै कुराहरु सुन्नु नपरोस् ।’
पीए र सल्लाहकार नियुक्त गर्दा पार्टीको परामर्शमा नियुक्त गर्न पनि अध्यक्ष नेपालले निर्देशन दिए ।
उनले राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिए । निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिबाट मुक्त हुन पनि मन्त्रीहरुलाई सचेत गराए ।
‘तपाईंहरुले इमान्दारिताका साथ, कर्तव्यनिष्ठताका साथ आफ्नो काम सम्पादन गर्नुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौं’ उनले भने, ‘…जुन संस्थाको जिम्मेवारी तपाईंहरुले सम्हालिरहनुभएकाो छ, त्यो संस्थाको हितलाई केन्द्रबिन्दूमा राखेर, अनि जनताको हितलाई केन्द्रविन्दुमा राखेर तपाईंंहरुले काम गर्नु हुनेछ ।’
अध्यक्ष नेपालले अघि भने, ‘काम गर्दाखेरि निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरुबाट तपाईंहरु मुक्त हुनुपर्छ । त्योबाट टाढा रहनुपर्छ । आफ्नो योग्यता र क्षमता, कार्यसम्पादनमा उत्कृष्टताको आधारमा नै कुनैपनि व्यक्तिको छनौट गर्ने र जिम्मेवारी दिने कुरामा तपाईंहरु लाग्नुहुनेछ ।’
