काठमाडौं, । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूचना निकालेर अध्यादेश फिर्ता नहुने जिकिर गर्नुभएको छ ।काठमाडौंमा मंगलबार सम्पादकहरुसँगको अन्र्तरक्रियामा प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहनुभएका ओलीले एकपटक जारी भएको अध्यादेश सूचना निकालेको भरमा फिर्ता नहुने भन्दै अध्यादेश संसदबाट टुङ्गो लगाउनुपर्ने जिकिर गर्नुभयो ।
उहाँले एउटा अध्यादेश रद्द गर्न अर्को अध्यादेश वा कानुन चाहिने भन्दै संसद चलिरहेको बेला संसदबाटै कानून बनाईनुपर्ने धारणा राख्नुभयो । अध्यक्ष ओलीले कांग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको गठबन्धन सरकार संविधान,लोकतन्त्र र संसदीय परिपाटी भत्काएर स्वच्छाचारी बन्दै गएको आरोप लगाउनुभयो ।
अध्यक्ष ओलीले सञ्चारमाध्यमको भूमिकालाई लिएर असन्तुष्टि व्यक्त गर्दै सरकारले संविधान मिच्दापनि सञ्चारमाध्यमहरु चुप लागेको आरोप लगाउनुभयो । मिडियाले गलत कामको आलोचना नगर्दा सरकारले एकपछि अर्को गल्ती गरिरहेको भन्दै उहाँले सरकारलाई खबरदारी गर्न नसकेको टिप्पणी गर्नुभयो ।आफु प्रधानमन्त्री भएको बेला ताजा जनादेशको लागि निर्वाचन घोषणा गर्दा प्रतिगमन भयो भनेर शब्दको दुरुपयोग गरेको उहाँको टिप्पणी थियो । अध्यक्ष ओलीले कुनै पार्टीलाई लक्षित गरेर अध्यादेश ल्याउनु अग्रगमन हो ? भन्दै प्रश्न गर्नुभयो ।
सरकारले भदौ २ गते संसदीय दल वा पार्टीको केन्द्रीय समितिको २० प्रतिशत संख्या भएमा पार्टी विभाजन गर्नसक्ने गरी राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशकै आधारमा नेकपा एमाले र जनता समाजवादी पार्टी फुटेको थियो ।उक्त अध्यादेशलाई सरकारले सोमबार फिर्ता लिएको छ । यसअघि राजनीतिक दलसम्बन्धि व्यवस्थामा पार्टी विभाजनको लागि संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत संख्या हुनैपर्ने थियो ।