रमेश कार्की उदयपुर प्रतिनिधि :-
उदयपुर / कटारी नगरपालिकाको १४ वडामै काङ्ग्रेस वडा अधिवेशन सम्पन्न भएको जानकारी वडा ५ का नेपाली काङ्ग्रेसका निर्वाचित सहसचिव मनोज रिजाले दिनुभयो । क्रियाशील सदस्यताको नामावली पुुगेका ५६ जिल्लामा नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन आजबाट सुरु भएको छ । मंसिर ९ देखि १३ गतेसम्म हुने महाधिवेशन कार्यतालिका अनुसार शुक्रबार ५६ जिल्लामा वडा अधिवेशन आरम्भ भएको हो ।
२१ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक नभएकाले वडा अधिवेशनको टुंगो अन्योलमा छ । बाँकी जिल्ला अधिकांश जिल्लामा आज अधिवेशन भइरहेको काँग्रेस निर्वाचन समितिका सदस्य सचिव जगनाथ श्रेष्ठले जानकारी दिए ।
वडा अधिवेशन सुरु भएका केही जिल्लामा आज निर्वाचन भने भएको छैन । भक्तपुरमा आज उम्मेदवारी दर्ता, उम्मेदवारको प्रथम नामावली प्रकाशन, मनोनयन पत्रको दावी विरोध, मनोनयपत्र फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने क्रममा छ । यस्तै निर्वाचन भने २१ गते हुने छ ।
आज अधिवेशन सुरु भएका जिल्लामा ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, दोलखा, सिन्धुली, मकवानपुर, भक्तपुर र गोरखा रहेका छन् ।