Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश १ का सांसद् भन्छन् – माधव नेपालको साथ छाड्न मन्त्रीको अफर आयो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र १२ २०७८
  • 4.7K
    SHARES

नेकपा (एकीकृत समाजवादी) रोजेको पत्र दिने १० सांसदको सामूहिक निर्णय

नेकपा एमाले पार्टी विभाजनपछि प्रदेश १ मा सांसदहरूको तानातान सुरु भएको छ । शुक्रबार मात्र  शेरधन राईले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएर प्रदेशको दोस्रो मुख्यमन्त्रीमा एमालेकै भीम आचार्य नियुक्त भएका थिए । सो लगतै प्रदेश सरकारको नेतृत्व गरिरहेका आचार्यको सरकारले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आवश्यक बहुमत सङ्ख्या पु–याएर सरकार जोगाउनका लागि सांसदहरू तानातान सुरु भएको हो । मुख्यमन्त्री आचार्यसहित सत्तापक्षका नेताहरू विभाजनपछि नयाँ पार्टीमा जाने सांसदलाई रोक्न मन्त्रीको अफर समेत गर्न थालेका छन् ।

संविधानले मुख्यमन्त्री बनेको ३० दिन भित्र प्रदेश सभाबाट विश्वासको मत लिने पर्ने अवस्था संवैधानिक व्यवस्था छ । एमाले भित्रकै सांसदलाई नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा जानबाट रोक्न नसकेको खण्डमा उनको नेतृत्वको सरकार ढल्ने अवस्था छ । पद जोगाउने प्रयासमा मुख्यमन्त्री आचार्यले माधव नेपालको अध्यक्षतामा गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरूलाई आफ्नो पक्षमा ल्याउने कोसिस गरिरहेका छन् । मुख्यमन्त्री आचार्यले एमाले छोडेर समाजवादीमा जान तयारीमा रहेको सांसदलाई मन्त्री पदको प्रलोभन देखाएको सांसदहरूले बताएका छन् ।
प्रदेश संसद् सरिता थापाले एमाले पार्टीमा नै रहिरहेको खण्डमा आफूलाई मन्त्री पद दिने आश्वासन आएको बताइन् । ‘मलाई मन्त्रीको अफर आएको छ,’ उनले भनिन्, ‘पार्टीको विचार सिद्धान्तभन्दा म बाहिर जान्नँ । अरू माननीयज्यूहरू पनि जानुहुन्न भन्ने लाग्छ।’ उनले यस्तो अवस्थामा मन्त्री पदको अफर आउनुलाई आफूले सामान्य रूपमा लिएको पनि बताइन्।  अर्का सांसद सावित्रीकुमारी रेग्मीले पनि एमालेकै रहेको खण्डमा आफूलाई मन्त्री पदको अफर आएको बताइन् । उनले अनौपचारिक रूपमा एमालेबाट मन्त्रीका लागि अफर आए पनि औपचारिक रूपमा भने अहिलेसम्म नआएको प्रस्ट पारिन् । प्रदेश सांसदहरू नै मन्त्री बन्ने भएकाले अफर आउनु कुनै ठूलो विषय नभएको उनको पनि बुझाइ छ ।
प्रदेशका मुख्यमन्त्री भीम आचार्यले शुक्रबार बिस्तार गरेको मन्त्री मण्डलमा विगतमा माधवकुमार नेपाल समूहमै रहेर एमालेमा रहने निर्णय गरेका ताप्लेजुङका बलबहादुर साम्सोहाङलाई सामाजिक विकास मन्त्री र तेह्रथुमका लछुमन तिवारी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्री आचार्यले एकीकृत समाजवादीबाट दुई जना प्रदेश सांसद तानेर ४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्न गरेको प्रयास अन्तिम समयमा असफल भएपछि दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए । प्रदेशसभामा बहुमत कायम गर्न एकीकृत समाजवादीमा खुलेका प्रदेश सांसद खिनु लङ्बा लिम्बू र सावित्रीकुमारी रेग्मीलाई एमालेमा ल्याएर ४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने मुख्यमन्त्री आचार्यको योजना थियो ।

एकीकृत समाजवादी नेता राजेन्द्रकुमार राईले  मुख्यमन्त्री भीम आचार्यले समाजवादीमा जान लागेका सांसदलाई रोक्न पटकपटक  मन्त्रीको अफर दिइरहेको सूचना आएको बताए । तर मुख्यमन्त्री आचार्यले कुनै पनि हालतमा बहुमत सङ्ख्या पु¥याएर सरकार टिकाउने अवस्था नरहेकोले एक महिनापछि आचार्यको नेतृत्वको सरकारको बहिर्गमन निश्चित रहेको दाबी गरे।

उनले अहिले नै नयाँ पार्टी एकीकृत समाजवादीमा १० जना सांसद  कायम रहेको र यो सङ्ख्या थपिने क्रममा रहेको बताए । नेता राईका अनुसार एकीकृत समाजवादीमा अहिलेसम्ममा प्रदेश सांसदहरूमा उनीसहित खिनु लङ्बा, सावित्रीकुमारी,कृष्णकुमारी राई, राजन राई,गणेशकुमार काम्बाङ, सुनिताकुमारी चौधरी, सरिता थापा, उपेन्द्र घिमिरे, पदमकुमारी गुरुङ खुलेका छन् ।

पार्टी विभाजनपछि यो सङ्ख्या कायम एकीकृत समाजवादी कायम रहेको खण्डमा आचार्यको नेतृत्वको सरकारले प्रदेश सभाबाट विश्वासको मत गुमाउने छ । जसका कारण उनको सरकार ढल्ने निश्चित प्राय छ ।आचार्यले आफ्नो नेतृत्वको सरकारलाई निरन्तरता दिनका लागि विश्वासको मत प्राप्त गर्न ४७ बहुमत सांसद आवश्यक पर्छ । अहिलेकै अवस्थामा त्यो सङ्ख्या पुग्न सक्ने  देखिँदैन ।

एकीकृत समाजवादीमा १० जना प्रदेश सांसद खुलेर सङ्गठित भएकाले मुख्यमन्त्री आचार्यलाई प्रदेशसभामा बहुमत पुर्‍याउने यात्रा कठिन भएको छ । 

यता नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले दल विभाजनको अवस्थामा अर्को पार्टीमा जाने साथीहरूलाई रोक्न मन्त्री अफर हुनु स्वाभाविक रहेको प्रतिक्रिया दिए । उनले बहुसङ्ख्यक साथीहरूलाई एमालेमै रोक्ने प्रयासमा सबै प्रकारका प्रलोभन देखाउने परिपाटी संसदीय अभ्यासमा नौलो नभएको पनि बताए । तर उनले कुनै पनि हालतमा पार्टी विभाजनपछि प्रदेशको मुख्यमन्त्री बनेका आचार्यो नेतृत्वको सरकार नढल्ने र अवश्य बहुमत पु¥याएर सरकार सञ्चालनले निरन्तरता पाउने दाबी प्रमुख सचेतक भण्डारीले गरे ।

९२ सदस्यीय प्रदेशसभामा एमालेमा ५१, काँग्रेसमा २१, माओवादी केन्द्रमा १५, जनता समाजवादीमा ३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपामा १/१ जना छन् ।

समाजवादी दल रोजेको पत्र दिने १० सांसदको सामूहिक निर्णय 

दल विभाजनपछि एमाले त्यागी समाजवादीका लागेको १० प्रदेश सांसदहरू आगामी मंगलबार आफूहरूले समाजवादी दल रोजेको पत्र दिने तयारी गरेका छन् । एमाले त्यागी समाजवादीमा लागेको १० सांसदले  विराटनगरको एक होटेलमा बैठक सम्पन्न गरी सामूहिक निर्णय गरेका हुन् ।

 समाजवादीका नेता राजेन्द्रकुमार राईले सोमबार बिदा भएकाले मंगलबार निर्वाचन आयोगमा सनाखत गर्ने तयारी थालेको बताए । एकीकृत समाजवादीमा न्यूनतम १४ जना प्रदेश सांसद पुर्‍याउने उनको दाबी छ । निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि नियमावली बनाएर नपठाएकाले सनाखत गर्न ढिलाइ भएको उनको भनाई छ । सोही बैठकमा सहभागी एक सांसदले दिएको जानकारी अनुसार भीम आचार्य नेतृत्वको सरकार ढल्ने र गठबन्धनको सरकार एक महिनाभित्र बन्ने निष्कर्ष निकालेका छन् ।

‘यो सरकार एक महिनाभित्र ढल्छ र अर्को सरकार बनाउने निर्णय भयो,’ ती सांसदले भने, ‘अहिले बनेको सरकार संविधान विपरीत छ, दल विभाजन भएर अर्को दल बनिसकेको सांसदहरूको अवस्था क्लियर हुनै बाँकी रहेको अवस्थामा अर्को पक्षका सांसदको समेत टाउको गनेर हतारमा बनाएको सरकार हामी विस्थापित गर्छौँ।’

सो बैठकमा समाजवादी पार्टीका केन्द्रीय सदस्य घनेन्द्र बस्नेत प्रमुख अतिथि थिए।बैठकमा सबै सांसदहरूले आ–आफ्नो तर्फबाट रिपोर्टिङ गरेका थिए ।

#प्रदेश १

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४