काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन दिएको छ ।
मंगलबार बसेको समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन निर्देशन दिएको हो ।
समितिकी सभापति जयपुरी घर्तीले अन्य परीक्षाहरु भइरहेको भन्दै कक्षा १२ को परीक्षा गराउन निर्देशन दिएकी हुन् । बैठकमा उपस्थित समितिका सदस्यहरुले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयबीचको समन्वयमा तत्काल परीक्षा गराउनुपर्नेमा जोड दिएका छन् ।
कोरोना संक्रमण जोखिमका कारण साउन ३१ देखि हुन लागेको परीक्षा स्थगित भएको थियो । काेभिड संक्रमणकाे जाेखिम रहेकाे भन्दै स्थगित भएकाे कक्षा १२ काे परीक्षा भाैतिक उपस्थितमै लिने तयारी भएकाे शिक्षा मन्त्रालयले बताएको छ ।
शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दशैँअघि भाैतिक उपस्थितिमै परीक्षा लिने तयारी भइरहेकाे जानकारी दिए । ३ लाख ९६ हजार विद्यार्थी १८ वर्षमाथि रहेकाेले उनीहरूका लागि काेभिड दिन सकिने बताउँदै बिद्यार्थीलाई खाेप दिन स्वास्थ्य मन्त्रालयसँग कुरा गर्ने उनले बताए । सचिव थपलियाले अहिले भाैतिक रूपमै परीक्षा लिने वातावरण बनेकाे बताउँदै स्वास्थ्य मन्त्रालयकाे सल्लाहका आधारमा परीक्षा संचालन गर्ने बताए ।