काठमाडौं । नेपालबाट यात्रु उडाएवापत अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल सरकारलाई तिर्नुपर्ने कर नबुझाएको पाइएको छ । आर्थिक वर्ष २०७५/७६ मा नेपालबाट विभिन्न सात विदेशी शहरमा यात्रु उडाएका कम्पनीले कर नबुझाएको पाइएको हो ।
यस्तो रकम ५१ करोड ९८ लाख रुपैयाँ रहेको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार नेपालबाट प्रस्थान हुने यात्रु ओसार पसार गर्दा आयकर ऐन अनुसार ५ प्रतिशत र नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरि प्रस्थान नहुने हवाई यातायातमा २ प्रतिशतका दरले कर लाग्ने प्रावधान रहेको छ ।
नेपालबाट उडान भएकोमा कनेक्टिङ फ्लाइटबाट दोस्रो गन्तब्यको भाडा रकम समेत थप हुनुपर्नेमा त्यसो नभएको भन्दै महालेखाले छानविन गर्न भनेको छ । यी वायुसेवा कम्पनीले कुल १ लाख ४६ हजार ५१ जना यात्रु बोकेका थिए । यस्तो करलाई सरकारले हवाई सेवा करमा संकलन गर्छ ।